घेरा तोड्नुको विकल्प छैन

Baral NPऋषिराज बराल
एक समय थियो जतिबेर हामीहरू बडो उत्साहका साथ विश्वमा भएका साम्राज्यवादी हस्तक्षेपहरूका विरुद्ध आवाज उठाउँथ्यौँ । हामी तिनका विरुद्ध आआफ्नो तह र तप्काबाट आआफ्नो शक्ति र सामार्थ्यका साथ प्रतिवाद र प्रतिरोधमा अगाडि आउँथ्यौँ र उत्पीडितहरूले चलाएको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँथ्यौँ । यसमा नेपालको बौद्धिक क्षेत्र निकै अगाडि थियो । उदाहरणका लागि भियतनाममाथि अमेरिकी आक्रमण र सुस्ता र महेशपुरमाथि भारतीय आक्रमणविरुद्ध काठमाडौँ र मोफसलका सडकहरूमा शिक्षक र विद्यार्थीहरूको जुलुस र प्रतिरोधको इतिहासलाई मात्र पनि लिन सकिन्छ ।
यताका दिनमा भने हामी यो परिदृश्य दे्खिरहेका छैनौँ । बौद्धिक क्षेत्र र आजको यो इतिहास त्यति सुखद छैन । हिजोका दिनमा प्रकाशित प्रगतिशील पत्रपत्रिकाहरूका पन्ना पल्टाएर हेर्ने हो भने इजराएली आक्रमणा र प्यालेस्टाइन जनताको वीरता र प्रतिरोधका कथा सन्दर्भहरूले तिनका पन्ना भरिएका हुन्थे । कतिपय पत्रिकाहरूले प्यालेस्टाइन सन्दर्भलगायतका प्रतिरोधी सन्दर्भहरूलाई लिएर विशेषाङ्क नै प्रकाशित गरेका हुन्थे । वैचारिक दृढता र आस्था र निष्ठाको एउटा दरिलो उपस्थिति हुन्थ्यो त्यहाँ । हामी यसमा गर्व गथ्र्यौँ । मुत्युदण्ड भोग्दै तीन दशक भन्दा बढी अमेरिकी जेलमा रहेका पत्रकार तथा लेखक मुमिया अबु जमालका बारेमा हामीले लेख र टिप्पणीहरू लेख्यौँ र मुमियाको फोटोलाई पत्रिकाको आवरण बनाएर उनको विचार र सङ्घर्षप्रति ऐक्यबद्धता जनायौँ । जतिबेर जनयुद्ध लडिरहेको पेरू कम्युनिस्ट पार्टीका नेता अविमाइल गुजमान अर्थात् गोन्जालो पक्राउ परे, त्यतिबेर उनी प्राध्यापक थिएनन्, उनको विगत मात्र प्राध्यापन पेशासित जोडिएको थियो । एक कालखण्डमा प्राध्यापन पेशासित जोडिएकाले र पेनोचेको फासिवादका विरुद्ध लडिरहेकाले हामीले प्राध्यापन क्षेत्रबाट उनको रिहाइको आवाज उठायौँ । प्रगतिशील प्राध्यापकहरूले मात्र नभएर प्राध्यापकहरूको पेशागत साझा सङ्गठ ‘नेपाल प्रध्यापक सङ्घ’ बाटसमेत हामीले गोन्जालोको रिहाइको प्रस्ताव पारित गर्यौं । त्यहाँ बौद्धिक इमानदारीले काम गरेको थियो ।
आजको स्थिति त्यसको ठीक विपरीत भएको छ । हामी असाध्यै निस्पृह, संवेदनहीन र स्वार्थी बनेका छौँ । हामी नराम्रो गरी उपभोक्तावादमा फसेका छौँ । सूचना र सञ्चारका दृष्टिले हामी हिजोभन्दा समृद्ध छौँ । हाम्रो हातहातमा छ सूचना । तर हामी स्वार्थी र खण्डित छौँ । चिमोट्ता हामीलाई दुख्दैन, मरेको छ छाला । हाम्रो छाती पाषाण बनेको छ ढुङ्गाजस्तो । सुस्ताको पीडाले छुँदैन हामीलाई । हाम्रो चिन्ता र चिन्तनको केन्द्र व्यक्तिगत लाभहानी र नाफानोक्सानको संसारमा खुम्चिएको छ । ‘हामी’ मरेको छ र चारैतिर ‘म’ मात्र छ । त्यसैमा रमाएका छौँ हामी । जिन्दगीभरि जनताको मुक्तिका लागि वैचारिक र भौतिक रूपबाट लडेको जेल र नेल खेपेको नाम चलेको एउटा कलाकार बुर्जुवा व्यवस्थाको समानुपातिक सभासद अर्थात् नेताको निगाहको पात्र बन्न सकेकोमा गर्वका साथ भन्छ—“बल्ल मेरो सही मूल्याङ्कन भयो” । गजबको विडम्बनाका बीचमा छौँ हामी । मूल्यको विघटनको यो भन्दा अब्बल उदाहरण अरू हुन सक्तैन ।
अब आएर भुटानी शरणार्थीका कुरा पुराना भए । गोन्जालोहरू चर्चाका विषय बन्न छाडे । मुमिया कहिलेकाहीँ खासखास वेबसाइटमा देखापर्छन् । आरसिपी, अमेरिकाका नेताकार्यकर्ताहरूलाई बव अभाकियनको नयाँ बाइबल ‘उत्तर–माओवादी’ प्रचारग्रन्थ “न्यु सिन्थेसिस” को प्रचार गर्दैमा फुर्सत छैन । अहिले जसरी इजराइलद्वारा प्यालेस्टिन जनतामाथि आक्रमण भइरहेको छ, जेजस्ता परिदृश्यहरू टिभी र पत्रिकामा हामी देखिरहेका छौँ, पढिरहेका छौँ, आङ् नै सिरिङ हुने खालका जेजस्ता क्लिप र फुटेजहरू हामी देख्छौँ, यसले हाम्रो हृदय नै कम्पित हुन्छ । आजको २१ औँ शताब्दीमा पनि प्यालेस्टाइन जनतामाथि जुन किसिमको बर्बरता प्रस्तुत गरिएको छ, यो साँच्चिकै निन्दनीय छ ।
यस किसिमको अमानवीयताका विरुद्ध बौद्धिक–सांस्कृतिक क्षेत्र जसरी उठ्नपर्दथ्यो, त्यो हुन सकेन । पार्टी नै पिच्छे बुद्धिजीवी र प्राध्यापक सङ्गठनहरू छन्, तर तिनको कतै अत्तोपत्तो देखिएन । डलर र युरो नआउने भएपछि मानवअधिकारवादी भनिनेहरूको पनि चासो हुने कुरा भएन । ती निर्देशनका पछाडि छन् । ती आफ्नो विवेक र चेतनाले काम गर्देनन् भन्ने कुरा सबैलाई थाहा छ । बरु केही लेखककलाकारहरूले यसमा सक्रियता देखाए र आफ्नो गच्छेअनुसार प्रतिरोधको आवाज उठाए । यसमा प्रतिबद्ध भनिएको सांस्कृतिक र बौद्धिक क्षेत्र सबैभन्दा दब्बु देखियो । म्याद नाघिसकेको औषधी जस्ता नेताहरूको वरिपरि घुमेर आफ्नो अस्तित्वको बोध गर्ने, सङ्घर्षमा भन्दा नेताहरूलाई खुसी पार्नमा गौरव गर्ने र त्यसलाई नै बौद्धिक–सांस्कृतिक प्राप्ति ठान्ने कथित बुद्धिजीवीहरू र लेखकसाहित्यकारहरूबाट धेरै आशा गर्नै ठाउँ थिएन र छैन । पार्टीका बौद्धिक र सांस्कृतिक मोर्चाहरू सिङ्गो पार्टीभन्दा खास नेताहरूका कोटरीमा सीमित भएपछि यसले भोग्ने नियति भनेको यस्तै नै हो ।
बौद्धिक सक्रियता र वैचारिक आन्दोलनभन्दा पद, पैसा र राजनीतिक नियुक्तिको चिन्ता र चिन्तन प्रधान बनेपछि आस्था, निष्ठा, आत्मसङ्घर्ष र वैचारिक सङ्घर्षका साथै प्रतिरोधात्मक ऊर्जा पनि समाप्त हुनेरहेछ । अरूको त कुरै छाडौँ आफ्लाई क्रान्तिकारी भन्नेहरूको समेत अहिले यही हालत छ । हिजो हामी प्राध्यापन पेशा छाडेर माओवादी राजनीतिका नेता बनेका गोन्जालोको पक्षमा समेत प्राध्यापकीय क्षेत्रबाट उठेका थियौँ । तर अहिले हामी प्राध्यापकमाथि भएको सत्तादमनका विरुद्ध पनि बोल्न नसक्ने स्थितिमा पुगेका छौँ—निर्देशन चाहिएको छ हामीलाई बोल्न पनि । दिल्ली युनिभर्सिटीका अङ्ग्रेजी विषयका प्राध्यापक जि.एन साइबाबामाथि भारतीय सरकारले जेजस्तो अमानवीय र क्रूर व्यवहार गरेको छ, त्यो निन्दनीय र भर्त्सनायोग्य छ । प्राध्यापक साइबाबा अपाङ्ग छन् । काममा जाँदा पनि ह्विलचेयरमा जानुपर्दछ । सामान्य रूपमा भित्रबाहिर गर्दा र दिशापिसाब गर्दासमेत सहयोग आवश्यक पर्ने उनलाई माओवादीसित सम्बन्ध रहेको आरोप लगाउँदै एकपल्ट होइन, दुईदुईपल्ट हिरासतमा लिइयो । प्राध्यापकहरू तथा सिङ्गो बौद्धिक जमातका दबाबका कारण विगतमा उनलाई छाडिएको भए पनि नरेन्द्र मोदीले चुनाव जित्नेबित्तिकै उनलाई पुनः युनिभर्सिटीको क्वार्टरबाटै समातियो र आतङ्ककारी भन्दै जेलमा राखियो । परिवारलाई क्वार्टरबाट निकालियो । परिवारका सदस्यसमेतलाई भेट्न दिइएन र जमानत पनि लिन मानिएन ।
यसले भारत मात्र होइन, युरोपको बौद्धिक क्षेत्रलाई समेत गम्भीर तुल्यायो । फ्रान्स, जर्मनी, बेलायतका प्राध्यापक सङ्गठनहरूलगायत भारतका बुद्धिजीवीहरू, प्राध्यापक तथा मानवअधिकारवादीहरू सबै क्षेत्रबाट उनको रिहाइको आवाज उठ्यो र उठिरहेको छ । स्विडेनका पत्रकार तथा ‘रेड सन् ओभर इन्डिया’ का लेखक जन मिर्डलाले त वकिलहरूको टोली भारत पठाउने कुराको आह्वानसमेत गरे । अरू त अरू ब्राजिलमा विश्व कप फुटबल चलिरहेको बेलामा समेत ‘फ्रि जी. एन. साइबाबा’ भनेर भित्ताहरूमा लेखिएका थिए र ठाउँठाउँमा ब्यानरहरू टाँगिएका थिए । यस सन्दर्भले नेपालका केही बेवसाइटहरूमा पनि ठाउँ पाएको थियो । विश्वव्यापी रूपमा यत्रो चर्चा र आन्दोलनको विषय बन्दा पनि नेपालका बुद्धिजीवीहरू त्यसमा पनि प्राध्यापकहरूका तर्फबाट एउटा वक्तव्यसमेत नआउनु आश्चर्य अनि पीडाको विषय हो । जनयुद्ध कालमा हामीले पनि यस्तै स्थिति भोगेका थियौँ । प्रतिक्रियावादी सत्ता सदैव बौद्धिक क्षेत्रप्रति असहिँष्णु बन्छ । अरू नबोले पनि आफूलाई क्रान्तिकारी विचार राख्ने बुद्धिजीवी र प्राध्यापक भन्नेहरूले त केही बोल्नुपर्ने थियो । सबै गँजेडीको जमातमा परिणत भएजस्ता भएका छन् । जब बौद्धिकताको ह्रास हुन्छ, बौद्धिक स्वाभिमानिता र इमानदारीको अभाव हुन्छ र बुद्धिजीवीहरू अमुकअमुक राजनीतिक नेताका कारिन्दामा परिणत हुन्छन्, त्यहाँ दासत्व प्रवृत्ति हाबी हुन्छ । बौद्धिक क्षेत्रको बाउन्नेपन देखेर साँच्चिकै टीठ लाग्छ ।
बौद्धिक क्षेत्र त्यसमा पनि सबैभन्दा टीठलाग्दो स्थिति प्राध्यापन क्षेत्रमा देखिन्छ । जि एन साइबाबा र नेपालका प्राध्यापकहरूको यसप्रतिको व्यवहारबाट यो कुरा सही साबित हुन्छ । च्याउझैं उम्रिएका विश्वविद्यालयमा पोलिटिकल नियुक्ति पाइन्छ कि भनेर कथित नेताहरूको पछि लाग्दै समय बिताएका, पदको र्याल काढ्दै विश्वविद्यालयका पदाधिकारीका अघिपछि कुद्दै गरेका र पत्ता नदिएपछि विश्वविद्यालयका पाधिकारीका कोठाका सिसा फोरेर ‘बौद्धिकता’ प्रदर्शन गरिरहेका प्राध्यापकहरूका सामु अस्तित्व प्रदर्शनको सङ्कट देखापर्नु अचम्मको विषय भएन । यस्तो बेला हात र खुट्टा दुवैमा हत्कडी लागेका र सेलमा राखिएका अपाङ्ग प्राध्यापक जि एन साइबाबा र बम र गोलीले क्षतविक्षत भएका प्यालेसिटाइन बृद्धा र बालबालिकाको छटपटीलाई नदेख्नु र नसुन्नु पनि आश्चर्यको विषय भएन । जब उपभोक्तावाद हाबी हुन्छ, जब ऊर्जाशीलताका ठाउँमा कारिन्दा प्रवृत्ति हाबी हुन्छ, त्यहाँ क्रान्तिकारिता ट्रेडमार्क र लोगोमा सीमित हुन्छ । अहिले नेपालको बौद्धिकजगत् यही रोगले आक्रान्त छ ।
यो समस्या निरपेक्ष छैन । यो राजनीतिबाट सल्केको रोग हो । यो क्षेत्र कति विषाक्तता र विकृतिले भरिएको छ भन्ने कुरा राजनीतिक क्षेत्रका पछिल्ला घटनाक्रमहरूले प्रस्ट पारेका छन् । यताका दिनमा सरकारमा बसेर र अन्य विविध किसिमले अधिकतम सुखुसविधा भोगेका एकथरीले आफूलाई “नेपालमा दुई नम्बरको नागरिक बनाइयो” भन्दै भारतीय मन्त्रीका सामु हारगुहार गरेको समाचारसँगै अर्काथरीले “सुषमा स्वराजले नभेटेकोमा आफूहरूलाई आश्चर्य लागेको’ भन्ने दुखेसो पोख्दै मोदी आउँदा भेट्ने पाउने आवेदन प्रस्तुत गरेको समाचार जसरी प्रकाशमा आयो, यसले नेपाली राजनीतिको एउटा गजबको परिदृश्य प्रस्तुत गर्छ । पीडा हुन्छ यस्तो समाचारले । सारमा यी एउटै सिक्काका दुइटा पाटा साबित भएका छन् । राजनीतिको यस्तो हाल भएपछि त्यसका कारिन्दा बनेर हिँडेका कथित बुद्धिजीवीहरूबाट सचेतकको भूमिकाको आशा गर्नुको कुनै अर्थ छैन ।
अब यो निस्पृहता, संवेदनहीनता र उपभोक्तावादको दलदलबाट निस्कनुको विकल्प छैन । राजनीतिक क्षेत्रमा देखिएको जमेको यो पानीलाई प्रवाहमा ल्याउनु र गतिहीनताबाट अगाडि बढ्नुको विकल्प छैन । यो भनेको घेरा तोड्नु हो । पहिले आफ्नै मनमष्तिस्कमा रहेका विकृति र विचलनका विरुद्ध घेरा तोड्नु हो् । यो भनेको गँजेडीपनका विरुद्ध उठ्नु हो । अनि मात्र हामी खुलेर प्यालेस्टिन जनताविरुद्ध भएका साम्राज्यवादी आक्रमणका विरुद्ध उभिन सक्छौँ, अनि मात्र हामी जि. एन साइबाबाका हत्कडी र नेल देख्न सक्छौँ । अनि मात्र हामी बौद्धिक क्षेत्रको भूमिकाप्रति सचेत हुनसक्छौँ । समय आएको छ घेरा तोड्ने । जो जो जहाँजहाँ छौँ, त्यहीँबाट आरम्भ गरौँ । ढसमस्स बसेका ‘साँढेहरू’ विरुद्ध देवकोटाले भनेझैँ हामीले पनि भन्नुपर्ने हुन्छ : “नलडी कोही हुन्न विजेता…।” साँच्चै हो, अब घेरा तोड्नुको विकल्प छैन ।
०००

You can leave a response, or trackback from your own site.

One Response to “घेरा तोड्नुको विकल्प छैन”

  1. ajay sapkota says:

    छलफलको लागि १ वर्ष पछी विशेष महाधिवेशन अरे
    हुन्छ हजुर अरे फेरी अर्को ले
    उही चे गुवेभाराले स्याउ आफै रुख बाट झर्दैन त्यसलाई झराल्नुपर्छ भन्नु भएको थियो |त्यसै स्याउ झर्ला र क्वाप्प खाउँला भन्न थालेर पनि हुन्छ भन्या सर ?

    अब त क्रान्तिकारी भन्नेहरु देखि पनि डर लाग्न थाल्यो |बोल्ने भाषण गर्ने गफमा सबै गर्ने तर व्यवहारमा केहि पनि छैन शुन्य !!!

    घेरा तोड्न ढिलो होला है बेलैमा तोड्न पर्छ घेरा !

Leave a Reply

See real websites hosted and built by iPage customers.