क्रान्तिका पक्षमा : मोहन वैद्य ‘किरण’

Against the counter– revolution

(The central committee meeting of UNCP (Maoist)  is running. Two different documents are presented in this meeting.  Vice–chairman  Comrade Mohan Baidhya disagreed the document of Prachand, which denies the official  line of People’s revolt and he presented his separate document. This is the document presented by comrade Mohan Baidhya’ Kiran’ in the ongoing central committee meeting of UNCP (Maoist). It condemns Prachanda’s political trend of revisionism and national surrender. According to Baidhya’s document : Prachand has deviated from the line and spirit of the Palungtar plenum. A serious ideological deviation has bedeviled the chairman. It is a grave betrayal against the proletariat and their dream of revolution. In Baidhya’s opinion, the document presented by Prachnda is the solid evidence of ideological deviation. Baidya  has mentioned in his document that instead of MLM he is in practice of revisionism, eclecticism, reformism and dishonesty. Prachanda’s document is full of sophistry.  Baidhya has strongly opposed the document of Pracnda and has called  to the cadres to raise the flag of revolution.)

(एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को अहिले चलिरहेको केन्द्रीय समितिको बैठकमा पार्टीका अध्यक्ष कमरेड प्रचण्डद्वारा प्रस्तुत दस्ताबेजले क्रान्तिविरोधी र राष्ट्रिय आत्मसमर्पणवादको पुर्पक्ष गरेको विश्लेषण गर्दै सो पार्टीका वरिष्ठ उपाध्यक्ष कमरेड मोहन वैद्य ‘किरण’ ले प्रस्तुत गर्नुभएको फरक मतको दस्तावेज)

राजनीतिक प्रस्ताव

कमरेड अध्यक्षद्वारा यही २०६८ साल बैसाख ७ गते राखिएको पोलिटब्यूरोको बैठक र हाल सम्पन्न हुनगइरहेको केन्द्रीय समितिको बैठकमा प्रस्तुत तात्कालिक राजनीतिक प्रस्ताव पालुङ्गटार बैठकपछि पारित केन्द्रीय समितिको प्रस्तावको मूल मर्मविपरीत रहेको छ र त्यसप्रति असहमति जाहेर गर्दै म यो बैठकमा भिन्न राजनीतिक प्रस्ताव प्रस्तुत गर्न चाहन्छु ।

१.आजका दुई प्रमुख समस्या

अहिले देश गम्भीर राजनीतिक सङ्कटका बीचमा उभिएको छ । यो बेला हाम्रा सामु दुई प्रमुख समस्या खडा भएका छन्, ती हुन्– वर्गसङ्घर्ष तथा राष्ट्रिय सङ्घर्षको समस्या र दुई लाईन सङ्घर्षको समस्या । वर्गसङ्घर्ष तथा राष्ट्रिय सङ्घर्षको समस्या भनेको वर्गदुस्मनलाई बुझेर त्यसका विरुद्ध सही ढङ्गले सङ्घर्ष सञ्चालन गर्ने समस्या हो । आज प्रतिक्रियावादीहरुले हाम्रो पार्टी एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लाई एकातिर संसदवादको महाजालमा फसाउँदै सुधारवादी तथा यथास्थितिवादी पार्टीमा बदल्ने र अर्कोतिर त्यो संभव नभए दमनको प्रक्रिया अगाडि बढाउने नीति अबलम्बन गरिरहेका छन् । हामीले यो सत्यलाई राम्रोसँग बुझ्न जरुरी छ । त्यस्तै आज पार्टीमा दुई लाइन सङ्घर्ष जटिल बन्दै आएको छ र यो पनि वर्गसङ्घर्षकै अभिव्यक्ति हो । दुईलाइन सङ्घर्षलाई ठीकसँग बुझ्ने र त्यसलाई मैत्रीपूर्ण ढङ्गले सञ्चालन गर्नेबारे पनि हामी गम्भीर बन्नुपर्दछ ।

आज सहिद परिवारजन, बेपत्ता योद्धाका परिवार, घाइते  तथा अपाङ्ग योद्धाहरू मुक्तिका आशा, आकाङ्क्षा र सपना लिएर हाम्रै पार्टीको प्रतीक्षा गरिरहेका छन् । आज मजदुर, किसान, महिला, दलित, जनजाति, मुस्लिम, पिछडिएको क्षेत्र लगायत आमनेपाली जनता र विश्वसर्वहारा वर्गले पनि हाम्रो पार्टीलाई आफ्नो भविष्यको आशाको केन्द्रका रूपमा हेरिरहेका छन् । यी सबै कुरामाथि हामीले विशेष ध्यान दिनु जरुरी छ ।

एउटा सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी र त्यसका नेताहरूले उक्त समस्याहरूको वैज्ञानिक समाधान खोज्नैपर्ने हुन्छ । अन्यथा, त्यस प्रकारको नेतृत्वको औचित्य पनि स्वतः समाप्त भएर जान्छ । यसबारे हामी गम्भीर बन्न जरुरी छ ।

२.कमरेड अध्यक्षद्वारा प्रस्तुत प्रस्तावबारे

कमरेड अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव पालुङ्गटारमा सम्पन्न केन्द्रीय समितिको छैटौं  विस्तारित बैठक र त्यसैको निरन्तरतामा सम्पन्न केन्द्रीय समितिको बैठकमा पारित राजनीतिक प्रस्ताव मा आधारित कार्यदिशा र नीतिको मूल मर्म तथा भावनाविपरीत रहेको छ । यस सन्दर्भमा निम्न विषयहरूमाथि ध्यान दिन आवश्यक छ :

पहिलो : कमरेड अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रस्तावमा पालुङ्गटार बैठकको निर्देशनअनुसार बसेको केन्द्रीय समितिको बैठकमा पारित कार्यदिशालाई “कार्यदिशामा रहेको अस्पष्टतालाई स्पष्ट पार्ने तथा विकसित नयाँ घटनाक्रम र समयको चापलाई विचार गरी कार्ययोजनालाई परिमार्जन” गर्ने भनेर खारेज गरिएको छ । ठीक  यहीँनेर कमरेड अध्यक्षले सो प्रस्तावमा एकातिर पालुङ्गटार बैठक यताको समीक्षा गर्नुपर्ने विषयलाई पन्छाउनु भएको छ भने अर्कोतिर त्यहाँ आफ्ना विचारलाई पूरै घुसाउने काम गर्नुभएको छ । यहाँ भौतिकवादी द्वन्द्ववादका विरुद्ध वितण्डावादको प्रयोग गरिएको छ ।

दोस्रो : अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिस्थितिको विश्लेषणपश्चात् पार्टी कार्यदिशावारे स्पष्ट पार्दै पालुङ्गटारको जनादेशअनुरूप केन्द्रीय समितिमा पारित दस्तावेजमा भनिएको थियो–“पार्टीले तात्कालिक ठोस कार्यनीतिका रूपमा जनताको सङ्घीय गणतन्त्र स्थापनालाई बनाएको छ । जनताको सङ्घीय गणतन्त्र अर्थात् जनगणतन्त्र स्थापनाका लागि शान्ति, संविधान र सरकारको मोर्चाको सङ्घर्षका साथै सडकको सङ्घर्षलाई प्राथमिकता दिँदै चार तयारी र चार आधार निर्माण गरी जनविद्रोह सङ्गठित गर्नुपर्दछ भन्ने नीति स्पष्ट गरेको छ । यसका लागि राष्ट्रिय स्वाधीनता र जनताको सर्वोच्चताका साथै जनजीविकासँग सम्बन्धित जनताका जल्दाबल्दा प्रश्नहरूलाई समेत लिई आन्दोलन सङ्गठित गर्दै आगाडि बढ्ने नीति पनि पार्टीले स्पष्ट गरेको छ । आज सिङ्गो पार्टी यही ठोस कार्यदिशाका आधारमा ठोस कार्ययोजना बनाई व्यवहारमा उत्रन आवश्यक छ ।”

परन्तु, अहिले प्रस्तुत गरिएको राजनीतिक प्रस्तावमा भनिएको छ : “चार तयारी र चार आधार निर्माणकै अभिन्न अङ्गका रूपमा सेनासमायोजन र पुर्नस्थापना प्रक्रियालाई अगाडि बढाउनु, तथा राज्य पुनःसंरचना, शासकीय स्वरूप र निर्वाचनप्रणाली लगायतका केही मूलभूत विषयमा असहमतिको बाबजुद एकीकृत मस्यौदा संविधान निर्माण गरेर जनताका बीचमा बहसका लागि पुर्याउन जोड दिनु पर्दछ ।” यहाँ स्पष्ट रूपमा कुन कुरा  छर्लङ्ग हुनआउँछ भने पालुङ्गटार बैठकको निर्देशनअनुसार बसेको केन्द्रीय समितिको उक्त मान्यतासित प्रस्तुत प्रस्तावको मान्यताले मेल खाँदैन र अहिलेको राजनीतिक प्रस्तावमा पालुङ्गटार बैठकपछिको केन्द्रीय समितिको बैठकमा पारित कार्यदिशालाई सारतः खारेज गरिएको छ । जनविद्रोहको कार्यदिशालाई परित्याग गरी आत्मसमर्पणवादी ढङ्गले सेनासमायोजन र मस्यौदा संविधान तयार गर्ने नीति र योजना बनाइएको छ ।

तेस्रो : अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रस्तावमा साम्राज्यवाद, विस्तारवाद र प्रतिक्रियावादी तत्त्वहरूद्वारा “शान्ति प्रक्रिया र संविधान सभा भङ्ग गर्ने;  कुनै न कुनै रूपमा नेपाली जनतामाथि निरङ्कुशता थोपर्ने तथा जनयुद्ध र जनआन्दोलनका उपलब्धिहरू खोस्ने षडयन्त्रलाई  तीव्रता” दिइएको कुरा उल्लेख गर्दै त्यसलाई रोक्नका लागि तत्काल सेनासमायोजन र एकीकृत मस्यौदा संविधान निर्माण गर्न आवश्यक भएको कुरा बताइएको छ । यो सोच प्रतिक्रियावादलाई अत्यन्तै बलियो ठान्ने र परिस्थितिको नकारात्मक पक्षलाई मात्र देखने निराशावादी र आत्मसमर्पणवादी चिन्तनमा आधारित  रहेको छ । यो सोच ठोस परिस्थितिको ठोस विश्लेषण गरी कार्यदिशा वा कार्यनीतिको निर्धारण गर्नुपर्छ भन्ने भौतिकवादी द्वन्द्ववाद विपरीत मनोगतवादमा आधारित रहनगएको छ ।

चौथो : क्रान्तिकारी कार्यदिशाको कार्यन्वयन किन हुन सकेन त भन्ने प्रश्नको सही तथा वैज्ञानिक जबाफ यो दस्तावेजमा दिइएको छैन । यसले विद्रोहका लागि चार आधार र चार तयारीमा केन्द्रित बन्न नसकेको मूल नेतृत्वको भूमिकालाई गौण स्थानमा राखी— “पार्टीभित्र बढ्दै गएको गुटबन्दी, अराजकता, भ्रम, आशङ्का एवम् कतिपय राज्य र मोर्चाहरूमा देखिएको शत्रुतापूर्ण र विभाजनकारी क्रियाकलाप” लगायतका गौण कारणहरूलाई प्राथमिक बनाएको छ । यो विश्लेषण पनि मनोगतवादी नै रहेको छ ।

पाँचौ : अध्यक्ष कमरेडले प्रस्तावका विभिन्न स्थानहरूमा पहिलेजस्तै गरी तीनओटा धार वा प्रवृत्तिको उल्लेख गर्नु भएको छ, परन्तु अहिले पार्टीमा मुख्यतः दुई प्रवृत्ति नै रहनगएका छन् । कमरेड अध्यक्षको प्रस्तावमा उल्लेखित संसदवाद र अकर्मण्यताका प्रवृत्तिहरू बेग्लाबेग्लै होइनन्, मूलतः एकै ठाउँमा मिल्नगएका छन् ।

३.केही सैद्धान्तिक प्रश्नहरू

कम्युनिस्ट पार्टीलाई नयाँ ढङ्गको कम्युनिस्ट पार्टीमा विकसित गर्न र क्रान्तिका कामहरूलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनका लागि यो बेला केही सैद्धान्तिक प्रश्नहरूमा विशेष ध्यानदिन जरुरी छ । ती सैद्धान्तिक प्रश्नहरू यी हुन् :

पहिलो : एकको दुईमा विभाजन र दुईको एकमा संयोजनको प्रश्न

यो प्रश्न दर्शनको क्षेत्रमा द्वन्द्ववाद र सारसङ्ग्रहवाद तथा राजनीतिको क्षेत्रमा वर्गसङ्घर्ष र वर्गसमन्वयवादका बीचको भीषण सैद्धान्तिक सङ्घर्षको प्रश्न हो । एकको दुईमा विभाजन भौतिकवादी द्वन्द्ववाद तथा वर्गसङ्घर्षको पक्ष र दुईको एकमा संयोजन सारसङ्ग्रहवाद तथा वर्गसमन्वयको पक्षमा आधारित रहेका छन् । यो बेला हामीले आफूलाई सारसङ्ग्रहवादका विरुद्ध भौतिकवादी द्वन्द्ववाद र वर्गसमन्वयवादका विरुद्ध वर्गसघर्षको सिद्धान्तको पक्षमा दृढतापूर्वक उभ्याउन जरुरी छ ।

दोस्रो : साम्राज्यवाद र संशोधनवादको सम्बन्ध

एङ्गेल्सले पहिलो एकाधिकारवादी देश इङ्गल्याण्डमा पुँजीवादी मजदुरवर्ग वा अभिजात मजदुरवर्गको पार्टी बन्दैगएको कुरा बताउनु भएको थियो । त्यसपश्चात् लेनिनले पुँजीवादले स्पष्ट रूपमा साम्राज्यवादको रूप लिई विभिन्न देशहरूमा अभिजात मजदुरवर्गको संशोधनवादी पार्टी बन्दैगएको र ठीक त्यसैले कम्युनिस्ट आन्दोलनमा फुट पैदा हुँदै जानथालेको कुरामाथि विशेष प्रकाश पार्नु भएको थियो । अहिले पुँजीवादको सर्वोच्च रूपमा विकसित साम्राज्यवादले पनि आफूलाई नयाँ कलेबरमा प्रस्तुत गर्दै गइरहेको छ । यो स्थितिमा साम्राज्यवाद र संशोधनवादका बीचको गठबन्धन पनि नयाँ रूपमा विकसित हुँदैछ । कुनै पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीभित्र देखापर्ने गुटवाद, फुटवाद र अवसरवाद यसै गठबन्धनका अभिव्यक्ति हुन् । साम्राज्यवाद र संशोधनवादका बीचको यो गठबन्धनबारे सच्चा क्रान्तिकारी कम्युनिस्टहरू सतर्क रहन जरुरी छ ।

तेस्रो : संविधान सभाको कार्यनीतिलाई रणनीति बनाउने प्रश्न

पुँजीवादी जनवादी क्रान्तिको प्रक्रियामा सर्वहारावर्गले संविधान सभाको कार्यनीति प्रस्तुत गर्न सक्तछ र यो सही कुरा पनि हो । तर यसप्रकारको कार्यनीतिले रणनीतिको रूप लिन नपाओस् भन्ने कुरामा हामी सतर्क रहन जरुरी छ । किनभने त्यसप्रकारको संविधान सभालाई प्रतिक्रियावादीहरूले आफ्नो हितमा पनि प्रयोग गर्न सक्तछन् । यदि संविधान सभा सर्वहारावर्गको पकड भन्दाबाहिर गयो भने त्यसको कुनै अर्थ र औचित्य रहन सक्तैन । त्यो स्थितिमा संविधान सभाबाट जनताको संविधान पनि बन्न सक्तैन ।

चौथो : सिर्जनशीलता, मौलिकता तथा नयाँको नाममा क्रान्तिकारी मार्क्सवादको विरोध र संशोधनवादको पक्षपोषण

विश्वकम्युनिष्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासबाट समेत प्रमाणित एउटा अकाट्य तथ्य के हो भने तमामप्रकारका दक्षिणपन्थी संशोधनवादीहरूले सिर्जनशीलता, मौलिकता र नयाँको नाममा क्रान्तिकारी मार्क्सवाद तथा मार्क्सवादीहरूमाथि भीषण हमला बोल्दैआएका छन् । उनीहरूले क्रान्तिकारी मार्क्सवादलाई पुरानो मार्क्सवाद, जडसूत्रवाद  वा रुढिवादी मार्क्सवाद र क्रान्तिकारी मार्क्सवादीहरूलाई पुराना, रुढिवादी तथा जडसूत्रवादी बताउने गर्दछन् । बर्नस्टाइनदेखि अहिलेसम्मका दक्षिणपन्थी संशोधनवादीहरू र कथित नववामपन्थी तथा तमाम उत्तरआधुनिकतावादीहरूले ठीक यही गर्दैआएका छन् । यो हमलाबाट कयौं क्रान्तिकारीहरू पनि अत्तालिने गर्दछन् र यसबारे पनि स्पष्ट हुन जरुरी छ ।

पाँचौं : विसर्जनवादलाई बुझ्ने प्रश्न

विसर्जनवादको विशेषता भनेको क्रान्तिकारी विचारधारा र त्यसैद्वारा पथप्रदर्शित कम्युनिस्ट पार्टी, क्रान्तिकारी कार्यदिशा तथा सङ्घर्षको परित्याग गर्नु र सबै क्षेत्रमा वैधानिकतावादमा जोड दिनु हो । हामी कतै विसर्जनवादमा फँस्तै आएका त छैनौं भन्ने कुरामा पनि सतर्क रहन जरुरी छ ।

४.पालुङ्गटार बैठकयताको सङ्क्षिप्त समीक्षा :

गोर्खाको पालुङ्गटारमा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकमा दुई लाइन सङ्घर्षले एउटा उत्कर्ष प्राप्त गरेको थियो । अन्ततः सो बैठक रूपान्तरण, एकता र जनविद्रोहको जनादेशसहित निष्कर्षमा पुगेको थियो । त्यसपश्चात् सम्पन्न केन्द्रीय समितिको बैठकमा एकातिर अध्यक्ष कमरेड प्रचण्ड र कमरेड किरणको प्रतिवेदनका सकारात्मक पक्षलाई मिलाई राजनीतिक प्रतिवेदन पारित गरिएको थियो भने अर्कोतिर  दुवै प्रस्तावका बाँकी विषयलाई फोरम चलाई आगामी सम्मेलन वा महाधिवेशनमा टुङ्गो लगाउने निर्णय लिइएको थियो । जनताको सङ्घीय गणतन्त्र, राष्ट्रिय स्वाधीनताको रक्षा, घरेलु प्रतिक्रियावाद र भारतीय विस्तारवादसंगको नेपाली जनताको प्रधान अन्तर्विरोध आदि निष्कर्षसहित जनविद्रोहका लागि चार आधार र चार तयारी आदि विषय निर्धारित गरिएको थियो भने दुई लाइन सङ्घर्षका क्षेत्रमा पाँच बुँदे विधि पनि निश्चित गरिएको थियो । यसप्रकारका निर्णयहरूबाट आमपार्टीपङ्क्ति र जनसमुदायमा समेत नयाँ रक्तसञ्चार भएको थियो । परन्तु त्यसयता कार्यदिशालाई मूर्त कार्ययोजनामा ढाल्ने र त्यसलाई व्यावहारिक रूप दिने काममा भने ठोस प्रगति हुन सकेन ।

यद्यपि बैठकपश्चात् अनेकौं जटिलताका बीचमा देशका सबै क्षेत्रमा केन्द्रीय र स्थानीय स्तरका प्रशिक्षणहरू पनि भए, परन्तु तदनुरूप ठोस योजना बनाएर अगाडि बढ्न सक्ने स्थिति देखापरेन । पार्टीको कार्यदिशामा असहमत हुने पक्षबाट मात्र होइन, सहमत हुने पक्षको एउटा ठूलो हिस्साबाट समेत कार्यदिशाको कार्यन्वयनमा अवरोध खडा गरियो । त्यति मात्र होइन, मूल नेतृत्वबाट एकातिर कार्यदिशाप्रति मौखिक रूपमा स्वीकृति र अर्कोतिर व्यावहारिक रूपमा अस्वीकृतिको दोहोरो चरित्र प्रस्तुत गरियो । कार्यदिशा मिल्ने पक्षका बीचमा नै तलसम्म फाटो पार्ने र त्यसलाई शत्रुतापूर्ण रूप दिने प्रयास गरियो । एक थरीसित जनविद्रोह ठीक भन्दै हिंड्ने र अर्को थरीसित त्यसको डटेर विरोध गर्ने, एकातिर संविधान बन्दैबन्दैन भन्ने र अर्कोतिर जेठ १४ गते राती १२ बजेसम्म संविधान बन्छबन्छ भन्ने, एक थरीसित जनस्वयम्सेवक अपरिहार्य छ भन्ने र अर्को थरीसित यो गलत हो भन्दै हिँड्ने, यतिमात्र होइन एकातिर ७ बुँदें सहमति गरेर सरकार बनाउने र अर्कोतिर पुनः १२ बुँदेतिर फर्केर सरकार ढाल्न खोज्ने– यी कमरेड अध्यक्षमा पाइने दोहोरो चरित्र अर्थात् द्वैतवादका केही विशेषता हुन् । यसप्रकारका विशेषता उहाँमा अनगिन्ती पाइन्छन् । यी कुराबाट के कुरा स्पष्ट हुँदैआयो भने स्वयम् मूल नेतृत्वको नै क्रान्तिकारी रूपान्तरण हुन सकिरहेको छैन । यसरी कार्यदिशाको कार्यन्वयन हुन नसक्नुमा मुख्यतः मूल नेतृत्व नै जिम्मेवार रहनगएको छ ।

पालुङ्गटारदेखि अहिलेसम्मको समग्र स्थितिमाथि ध्यानदिँदा मूल नेतृत्वमा क. वर्गीय रूपमा तल्लो वर्ग तथा आमजनसमुदायमा अविश्वास र उपल्लो वर्ग वा प्रतिक्रियावादप्रति विश्वास बढ्दै गई वर्गोत्थानको प्रवृत्ति प्रभावी बन्न थालेको, . दार्शनिक रूपमा सारसङ्ग्रहवाद हुँदै भँडुवा विकासवादतर्फ जान खोजेको र . राजनीतिक रूपमा मध्यमार्गी कमजोरीबाट सुधारवाद एवम् राष्ट्रिय आत्मसमर्पणवादतर्फको उन्मुखता बढ्दै गएको देखिन्छ । यो स्थितिलाई सच्याउन र वैचारिक सङ्घर्षलाई नयाँ उचाइ प्रदान गर्न विशेष प्रयासको आवश्यकता छ ।

अन्ततः यहाँ उल्लेख गर्नैपर्ने कुरा के छ भने कमरेड अध्यक्षले प्रस्तावमा दुईलाइन सङ्घर्ष सञ्चालनको विधि निर्धारण गर्दा पनि किन त्यो लागू हुन सकेन भन्ने कुरा उठाउनु भएको छ । यो एउटा गम्भीर विषय हो । जब विचारधारात्मक तथा राजनीतिक कार्यदिशा एकातिर र विधि तथा जनवादी केन्द्रीयताको सिद्धान्त अर्कोतिर हुनजान्छ, त्यो बेला स्थिति गम्भीर बन्नपुग्दछ । यो बिषयमा व्यापक छलफलको आवश्यकता छ ।

५.आजको राजनीतिक परिस्थिति

अहिले एकातिर साम्राज्यवादी भूमण्डलीकरणको प्रक्रिया तीव्र रूपमा अगाडि बढ्दै गएको छ भने अर्कोतिर साम्राज्यवादी शक्तिहरूका बीचको प्रतिस्पर्धा पनि विस्तारै बढ्दै जान थालेको छ । अहिले पनि साम्राज्यवाद र उत्पीडित राष्ट्रहरूका बीचको अन्तर्विरोध विश्वको प्रधान अन्तर्विरोधका रूपमा कायमै छ । साथै, अहिले पनि एसिया, अफ्रिका तथा ल्याटिन अमेरिका क्रान्तिका तुफानीकेन्द्र नै हुन् र विश्वमा क्रान्ति नै मुख्य प्रवृत्ति हो ।

यो बेला नेपालमा एकातिर दलाल पुँजीपति वर्गको नेतृत्वदायी भूमिका रहेको घरेलु प्रतिक्रियावाद एवम् भारतीय विस्तारवाद र अर्कोतिर नेपाली जनसमुदायको अन्तर्विरोध प्रधान बन्नगएको छ । नेपालमा दलालीकरण र नवऔपनिवेशिककरणको प्रक्रिया तीव्र बनेको छ । यो बेला संविधानसभामार्फत जनताको संविधान बनाउने उद्देश्यमाथि गम्भीर षडयन्त्र मात्र होइन, देशको राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्नमा पनि गम्भीर प्रकारको खतरा पैदा भएको छ । यो बेला हामी देशमा बढ्दै गैरहेको राजनीतिक सङ्कटलाई क्रान्तिकारी सङ्कटमा बदल्नेबारे गम्भीर बन्न जरुरी छ ।

ठीक यहीँनेर हामीले कमरेड अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रस्तावमा उल्लेखित राजनीतिक परिस्थितिको विश्लेषण र त्यसका आधारमा निकालिएको निष्कर्षबारे पनि चर्चा गर्नु आवश्यक छ । सो प्रस्तावमा जेठ १४ भित्रै राजनीतिक सङ्कटलाई क्रान्तिकारी सङ्कटका रूपमा उपयोग गर्ने योजना कार्यान्वयनको सम्भावना पूरै सीमित बन्न पुगेको कुरा औल्याइएको छ । प्रस्तावमा प्रत्यक्ष वा परोक्ष रूपमा के कुरा अगाडि सार्न खोजिएको छ भने जेठ १४ गते संवैधानिक शून्यता पैदा हुन्छ र त्यो बेला राष्ट्रपति शासन लागू हुने वा कुनै पनि प्रकारको ‘कु’ गरिने संभावना देखापर्दछ । त्यो स्थितिमाथि ध्यानदिँदै अध्यक्षको सो प्रस्तावमा सेना समायोजन र मस्यौदा संविधान तयार पार्नुपर्ने निष्कर्ष निकालिएको छ ।

यहाँनेर हामी कुन कुरामा स्पष्ट हुन जरुरी छ भने अध्यक्षको प्रस्तावमा न त परिस्थितिको सही विश्लेषण गरिएको छ, न सही निष्कर्ष नै निकालिएको छ । वस्तुत: यो मनोगतवादी ढङ्गले गरिएको परिस्थितिको विश्लेषणमा आधारित आत्मसमपर्णवादी निष्कर्ष हो । वास्तविक कुरा के हो भने जेठ १४ सम्म संविधान बन्न नसकेको स्थितिमा पनि संवैधानिक सङ्कट पैदा हुँदैन । किनभने अन्तरिम संविधानमा नै नयाँ संविधान नबन्दासम्म संविधान सभा जारी रहने प्रावधान राखिएको छ । यदि कसैले संविधान नै मिचेर ‘कु’ गर्दछ भने त्यसका विरुद्ध जनआन्दोलनको आँधीबेहरीको सिर्जना हुने स्थिति पैदा हुन्छ र राजनैतिक सङ्कटलाई क्रान्तिकारी सङ्कटमा बदल्न सक्ने प्रवल संभावना देखापर्दछ । त्यो स्थितिलाई क्रान्तिकारीहरूले विद्रोहको पक्षमा सदुपयोग गर्ने कुरामा बिशेष ध्यानदिनु पर्दछ । परन्तु, कमरेड अध्यक्षको ध्यान यसतर्फ पटक्कै जान सकेको छैन ।

यसैगरी आज देशमा जिम्मेवार व्यक्तिहरूबाटै जानीबुझी एकातिर संविधान निर्माणको प्रक्रियालाई अगाडि नबढाउने र अर्कोतिर संविधान निर्माणमा माओवादीबाटै अवरोध पैदा भएको भनी जनतामा ठूलो भ्रम सिर्जना गर्नका लागि पूरै होहल्ला फैलाउने काम पनि भइरहेको छ ।

यसका साथै केही समययता देशका विभिन्न भागहरूमा बम विस्फोटन गराउने, कारागारभित्रै बन्दीलाई गोली प्रहार गर्ने, ऊर्जा मन्त्रीमाथि साङ्घातिक हमला गर्ने, कतिपय मुलुकका कूटनीतिक नियोगका कर्मचारीमाथि गोली हान्ने जस्ता सुनियोजित घटना घटाइएका छन् र ती गम्भीर रूपमा राष्ट्रिय स्वाधीनताको प्रश्नसंग जोडिएका छन् । यो बेला संविधान निर्माणको प्रश्न जनवादको प्रश्न मात्र नभई राष्ट्रिय स्वाधीनताको प्रश्न पनि बन्नगएको छ ।

यो स्थितिमा नेपाली जनतामा देशी र विदेशी प्रतिक्रियावादप्रति तीव्र आक्रोश पैदा हुँदैगएको छ । जनता शान्ति–प्रक्रियालाई क्रान्तिकारी ढङ्गले सफल तुल्याउन, संविधानसभामार्फत जनताको संविधान बनाउन तथा जनजीविकाका आधारभूत समस्याको समाधान चाहन्छन् र यसका लागि उनीहरूले नेकपा (माओवादी) लाई भरोसा गर्न योग्य पार्टीका रूपमा ग्रहण गर्दैआएका छन् । जनसंविधान नबन्ने र राष्ट्रिय स्वाधीनतामाथि खतरा बढ्दै जाने स्थितिमा जनआक्रोश पनि बढ्दै जाने कुरा निश्चित प्रायः छ ।

यसरी समग्रमा भन्नुपर्दा क्रान्ति वा जनविद्रोहका लागि वस्तुगत परिस्थिति अझैं पनि अनुकूल नै रहेको देखिन्छ । परन्तु अहिले आत्मगत स्थिति भने केही कमजोर नै बन्नगएको छ । तर पनि यदि पार्टीलाई एकताबद्ध तुल्याउन र चार तयारी एवम् चार आधारका कामलाई पूरा गर्दै लगेमा राजनीतिक सङ्कटलाई क्रान्तिकारी सङ्कटमा बदल्न र निर्धारित समयमै विद्रोहलाई व्यावहारिक रूप दिन सकिने संभावनालाई पनि नकार्न सकिदैंन । तसर्थ हामीले क्रान्तिकारी वस्तुगत परिस्थितिको सही आँकलन गर्दै आत्मगत परिस्थितिको तयारीमा बिशेष ध्यान दिन जरुरी छ ।

६. तात्कालिक कार्यदिशा, नीति र कार्ययोजना

अर्र्धसामन्ती, अर्धऔपनिवेशिक तथा नव–औपनिवेशिक अवस्थामा रहेको नेपाल जस्तो मुलुकमा सम्पन्न गरिने क्रान्तिको मूल राजनीतिक कार्यदिशा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवाद र साम्यवादमा जाने महान् उद्देश्यमा आधारित छ । नेपालमा सम्पन्न गरिने नयाँ जनवादी क्रान्ति सर्वहारावर्गको नेतृत्वमा सामन्तवाद र साम्राज्यवादको विरोधमा देशभक्त, जनवादी तथा वामशक्तिहरूसहित आमजनसमुदायलाई एकताबद्ध तुल्याउने रणनीतिमा आधारित रहेको छ । यस प्रकारको क्रान्ति सम्पन्न गर्नका लागि आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिको विशिष्ट सन्दर्भमा जनताको सङ्घीय गणतन्त्रको स्थापना, राष्ट्रिय स्वाधीनताको रक्षा र जनजीविकाका आधारभूत समस्याहरूको समाधान गर्ने प्रश्न नै हाम्रो पार्टीको मूल राजनीतिक कार्यनीतिका विषय हुन् । यसप्रकारको मूल राजनीतिक कार्यनीति शान्ति, संविधान र जनविद्रोहसँग अभिन्न रूपमा गाँसिएको छ ।

प्रतिक्रियावादी शक्तिहरूद्वारा हुने दमन, प्रतिक्रान्ति वा निरङ्कुशतन्त्र थोपर्ने षडयन्त्रको विरोध आत्मसपर्णवादी ढङ्गले सेनासमायोजन गरेर र यथास्थितिवादी संविधान बनाएर हुन सक्दैन, त्यसका लागि सरकारमा रही माथिबाट हस्तक्षेप गरेर, मुख्यतः सडकबाट जनपरिचालन तथा भण्डाफोर अभियानलाई प्रभावकारी ढङ्गले अगाडि बढाएर र चार आधार एवम् चार तयारीका कामहरूलाई व्यावहारिक रूप दिएर मात्रै हुन सक्तछ ।

जनविद्रोह निर्धारित मितिमा सम्भव भएरै छाड्ने चीज होइन र त्यो वस्तुगत एवम् आत्मगत परिस्थितिको योगफल अर्थात् संश्लेषणमा आधारित हुन्छ । निर्धारित मितिमै जनविद्रोह हुन सक्तैन भन्नुको अर्थ आत्मसमर्पणवादी तरिकाले सेनासमायोजन गर्नु र यथास्थितिवादी संविधान बनाउनु भन्ने कदापि होइन । जनविद्रोह जुनसुकै अवस्थामा पनि हुन सक्तछ र त्यसका लागि आवश्यक तयारीमा विशेष जोडदिनु पर्दछ ।

यस सन्दर्भमा हामी निम्न अनुसार अगाडि बढ्न जरुरी छ :

.संविधानबारे

संविधानको प्रस्तावनामा  जनताको सङ्घीय गणतन्त्रको उल्लेख गर्ने ।

राज्य पुनःसंरचनासम्बन्धी समितिको प्रतिवेदनलाई आधार बनाउने ।

शासकीय स्वरूपबारे उपसमितिमा प्राप्त सबैभन्दा बढी मतलाई आधार बनाउने ।

मजदुर, किसान, महिला, दलित, जनजाति, मधेश सहित पिछडिएको क्षेत्रका जनतालाई प्राथमिक महŒव दिने ।

सामन्तवाद  तथा साम्राज्यवाद विरोधी सारतŒव भएको संविधान बनाउने ।

पार्टीद्वारा उक्त विषयमा आधारित छोटो संविधान बनाई जनतामा पु¥याउने ।

.सेनासमायोजनबारे

मोडालिटी निर्धारण नगरी रि–ग्रुपिङ्गमा नजाने ।

सेनासमायोजन हुनुपूर्व राष्ट्रिय सुरक्षानीति निर्धारण गर्ने ।

जनमुक्ति सेनालाई अलग वा मिश्रित शक्तिका रूपमा समायोजन गर्ने र त्यसको कमान्डिङ जनमुक्ति सेनाबाटै हुने ।

जनमुक्ति सेनालाई सीमासुरक्षा बलको जिम्मेवारी दिने ।

.संविधान र सेनासमायोजनबीचको सम्बन्धबारे

परिवर्तनको एक प्रमुख संवाहकशक्तिका रूपमा जनमुक्ति सेना नेपाललाई स्थापित गर्ने ।

जनसंविधानको निर्माण र सेना समायोजन एकैसाथ सम्पन्न गर्ने ।

घ. सरकारबारे

अहिलेकै सरकारलाई निरन्तरता दिने ।

सरकारमा समानुपातिक तथा समावेसी आधारमा प्रतिनिधि पठाउने ।

ङ. सङ्गठनात्मक कामबारे

गुटवाद, फुटवाद तथा सबैखाले गलत चिन्तन एवम् प्रवृत्तिबाट मुक्त गर्दै नयाँ ढङ्गको कम्युनिस्ट पार्टीनिर्माणमा सङ्घर्षशील रहने ।

स्थानीय रूपमा पार्टी, युवाशक्ति र मोर्चासमितिहरूलाई प्रभावकारी रूपमा सङ्गठित गर्ने

यी तीन साधनलाई जनपरिचालन, जनसेवा तथा भण्डाफोर अभियानका काममा व्यवस्थित एवम् लहरका रूपमा परिचालन गर्ने ।

अहिलेको राष्ट्रिय आवश्यकतालाई महसुस गरी केन्द्रीय स्तरमा पनि देशभक्त, जनवादी र वामपन्थीहरूको संयुक्त मोर्चा बनाउने ।

माथिदेखि तलसम्म कार्यविभाजनका कामलाई व्यवस्थित तुल्याउने ।

च. जनपरिचालन, जनसेवा तथा भण्डाफोर अभियानको सञ्चालन

यो अभियानका विषय मूलतः यी हुन् :

शान्ति र जनसंविधान,

राष्ट्रिय स्वाधीनता तथा सर्वभौमिकताको रक्षा, सन् १९५० लगायतका असमान सन्धि–सम्झौताहरूको खारेजी, सीमाअतिक्रमण सहित विविध बाह्य हस्तक्षेपको विरोध ।

हत्या, गुण्डागर्दी र असुरक्षाको विरोध ।

सहिद परिवारलाई १० लाख राहत प्रदान, बेपत्ता योद्धाहरुको सार्वजनिकीरण, घाइते तथा अपाङ्ग योद्धाहरूका लागि समुचित राहत प्रदान ।

भ्रष्टाचार तथा महङ्गी नियन्त्रण ।

माओवादीहरूमाथि लगाइएका पुराना मुद्दाहरू र नयाँ झुटा मुद्दाहरूको खारेजी ।

 

 

 

You can leave a response, or trackback from your own site.

2 Responses to “क्रान्तिका पक्षमा : मोहन वैद्य ‘किरण’”

  1. Ramesh Sharma says:

    It was awaited eagerly. It would be better to give the information of revisionist line presented by Prachanda, i.e. the paper of HQ.

  2. क्रान्तिको झण्डा गाडिएको छ अब फहराएरै छोड्नु पर्छ ।

Leave a Reply

See real websites hosted and built by iPage customers.