“क्रान्तिकारी” कमरेडहरूको दुई नम्बरी धन्दा

ऋषिराज बराल

क्रान्तिकारीहरू विचार र  सर्वहारावादी नैतिकताप्रति  प्रतिबद्ध र व्यवहारमा इमानदार हुन्छन् भन्ने हामीले बुझेका हौँ । मार्क्सवाद–लेनिनवाद र माओवादप्रति प्रतिबद्ध  भएर  क्रान्तिमा लागेकाहरूमा नैतिक पक्ष असाध्यै सबल हुनुपर्छ र हुन्छ भन्ने कुरा पनि हामीले बुझ्दैआएका हौँ । तर, खुलेर र प्रस्टताका साथ भन्नुपर्छ : आफूलाई वैद्य समुहको भनेर चिनाउने र अमुक नेताको नजिकको मान्छे भनेर  चिनिएका एकजना व्यक्तिले  प्रकाशित गर्ने गरेको एउटा पाक्षिक पत्रिकाका सम्पादकले लाजै नमानी नैतिकताविरोधी यस्तै एउटा दुई नम्बरी काम गरेका छन् ।

मैले गत साल “सूचनाटुक्रा र मान्छेका समपनाहरू” नामको एउटा निबन्घ लेखेको थिएँ । सो निबन्ध मघुपर्क मासिकमा  प्रकाशित भएको थियो र यो चर्चाको विषय पनि बनेको थियो । त्यसलाई मैले हाम्रो वेबसाइट दि नेक्स्ट फ्रन्ट मा पनि पोस्ट गरेको थिएँ। अहिले सो निबन्ध कम्युनिस्ट आउटलुक नाम गरेको एउटा पाक्षिक पत्रिकामा प्रकाशित भएको रहेछ  । प्रकाशित हुनु कुनै अनौठो कुरा होइन, तर कुनै  स्रोतको उल्लेख नगरी प्रकाशित गर्नुले चाहिँ  प्रश्न उठ्नु/उठाउनु स्वाभाविक बनेको छ । पहिलो कुरा, लेखक उपलब्ध हुँदाहुँदै लेखकको स्वीकृति नलिई प्रकाशित गर्नु नैतिकता र इमानदारीको अभाव हो भने पहिले प्रकाशित रचनाको स्रोत उल्लेख नगरी पहिलोपल्ट आफ्नै पत्रिकामा प्रकाशित भएजस्तो गरी छाप्नु २ नम्बरी ठगी धन्दा हो ।

कसैको लेख बराबर छाप्नुपर्ने खालको हुन्छ । राम्रो र समसामयिक छ भने एउटै लेख पनि बराबर प्रकाशित गर्न सकिन्छ र गर्नुपर्ने पनि हुन्छ । यो हामी सबैले गर्दैआएको कुरा पनि  हो । त्यसका लागि सम्बन्धित लेखकसित स्वीकृति लिनु आवश्यक हुन्छ । अथवा स्रोतसहित सम्पादकीय टिप्पणीका साथ  प्रकाशित गर्नु उचित हुन्छ । लेखकको स्वीकृति नलिई र स्रोत पनि उल्लेख गर्नु आवश्यक नठानी आफू खुसी गर्नु  भनेको  सम्पादकीय इमानदारीको अभाव हो । यथार्थतः यो  ठालु प्रवृत्तिको  द्योतक हो । अन्त छापिएको रचना पहिलो स्रोत आफ्नै वा आफूले नै पहिलोपल्ट प्रकाशित गरेजस्तो गरी सम्पादकीय टिप्पणी र स्रोतबिना  प्रकाशित गर्नु भनेको सारमा २ नम्बरी धन्दा हो ।

बजारमा खास समयमा खास विषय र खासखास पात्रहरूका रचनाहरू बढी पाठकले खोज्ने र पढ्ने गर्दछन् । हामीकहाँ पनि देशकालसापेक्षतामा  यस्तो हुँदैआएको छ । यस्ता पाठकीय बजार भएका टिप्पणीकार र स्तम्भकारहरूका  रचनाको प्रकाशनले पत्रपत्रिकाका पाठकवृद्धि र व्यापार प्रबर्धनमा फाइदा हुनु स्वाभाविक छ । यस्तो बेला सम्पादक–प्रकाशकले  सम्बन्धित लेखकसित सम्बन्ध बनाएर आफनो काम फत्ते गर्नु इमानदारीको सूचक  हो । आफूलाई माओवादी त्यसमा पनि क्रान्तिकारी धारको भनेर प्रस्तुत हुने र गर्ने कुनै पनि पत्रिकाले सामान्य सम्पादकीय  मर्यादावीपरीत काम गर्छ भने यो गैरजिम्मेवार र नैतिकताविहीन कार्य हो । यतिबेर  कम्युनिस्ट आउटलुक नामको पत्रिकाले यही काम गरेको छ । यो ठगी अथवा २ नम्बरी काम मात्र नभएर एक किसिमको दादागिरी नै हो भन्ने  मलाई लागेको छ । यस्तै ठगी काम केही समयअघि जलजला नामको पत्रिकाले गरेको थियो र मैले दि नेक्स्ट फ्रन्टमा यसको टिप्पणी पनि गरेको थिएँ । कम्युनिस्ट आउटलुकले झैँ जलजलाले  पनि आफूलाई वैद्य समुहको दाबी गर्छ ।

कम्युनिस्ट आउटलुकका सम्पादक सुदर्शन मङ्गोल नामका व्यक्तिलाई म चिन्दैनथें। एक बिहान एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का स्थायी समिति सदस्य र मेरो पार्टी कमिटी ब्युरोका इन्चार्ज कमरेड विप्लवले फोन गर्नुभयो “बराल सर ! (सर भन्नुभयो या दाइ, मैले पहिले विश्वविद्यालयमा मास्टरी गरेकाले पार्टीका धेरजसो कमरेडहरूले पनि  मलाई सर भन्नुहुन्छ)  भाइहरूले एउटा विचारप्रधान पत्रिका निकाल्दैछन् तपाई सल्लाहकार बसिदिनु  पर्यो”।  म गम्न थालें । दुइटा कुराबाट म भाग्न चाहन्छु । कुनै पनि पुस्तकको भूमिका लेखने र पत्रपत्रिकाको सल्लाहकार बस्ने कुरामा मेरो अलिकति पनि रुचि छैन, म यसबाट पन्छिन चाहन्छु  । “ शान्तिप्रक्रिया” को आरम्भका दिनमा  माओवादी पार्टीको वैचारिक प्रकाशन संश्लेषणामा सल्लाहकारका नाममा मा लगायतका साथीहरूको नाम  राखने निर्णय भयो । पछि, वामपन्थी राजनीति छाडेर अमेरिकामा एकजना हीरा व्यापारीकहाँ सेल्सम्यानका रूपमा बसेका एकजना व्यक्तिलाई ल्याएर प्रचण्ड–बाबुरामले संश्लेषणको  सम्पादक बनाएपछि सल्लाहकारका रूपमा त्यहाँ बसिरहनु भनेको एक किसिमको अपमान हो भन्ने लाग्यो ।

सल्लाहकार पद नै अचम्मको छ । हाम्रो पार्टी (हाम्रो भन्छु किनभने मैले विधिवत यसबाट अलग भएको घोषणा हालसम्म गरेको छैन ।) मा केन्द्रीय सदस्यजत्तिकै सल्लाहकारको जमात छ । एउटा कम्पनि नै बनाए पुग्छ ।  कमरेड, भक्तबहादुर, कमरेड कृष्ण्दास, कमरेड काजी बा लगायतका केही कमरेडहरू साँच्चिकै श्रद्धाका पात्र हुनुहुन्छ, तर कतिपय सल्लाहकारको नाम सुन्दा यो सल्लाहकार भन्ने  पद अन्त कतै फिट नहुने र काम नलाग्ने मान्छेहरूलाई थन्क्याउने ठाउँ रहेछ भन्ने लाग्दछ । सामान्य सेल कमिटीमा राखन समेत योग्य नभएका व्यक्ति एकताका नाममा माओवादीमा सल्लाहकार भएका छन् भनेर अरूले हाँसो गर्दा पीडा पनि हुन्छ ।

मेरो अनुभव र ठम्याइँमा  पत्रिकामा सल्लाहकारको नाम भनेको “लोगो” अघि सारेर आफूखुसी काम गर्ने प्रमाणपत्र हो । सल्लाहकारको नाम  राखेर, त्यसको ट्रेडमार्क झुन्ड्याउँदै व्यापार गर्ने परिपाटीलाई म उत्तरआधुनिकतावादी लोगो र ट्रेङमार्कसम्बन्धी चिन्तनको उपज ठान्दछु । उत्तरआधुनिकतावादी उपभोक्तावादले गुण होइन, लोगो र ट्रेडमार्कको व्यापार गरेर दुनियाँलाई ठग्छ । मेरो अनुभवमा सल्लाहकार बस्नु, त्यसमा पनि निष्क्रिय सल्लाहकार हुनु यस्तै ठगी धन्दाको लोगो बन्नु हो । त्यसैले म  सल्लाहकार बस्न मन गर्दिन । तिलक परियार कमरेडले यसै गरी लोगोका रूपमा मलाई दलित सन्देशमा सल्लाहकार राखनु  भएको छ र मैले धेरैपल्ट सल्लाहकारबाट नाम हटाउन भनेको छु,  तर नाम यथावत छ ।  उहाँलाई पनि म यसै टिप्पणीमार्फत दलित सन्देशको सल्लाहकारबाट मेरो नाम हटाउन अनुरोध गर्दछु ।

कम्युनिस्ट आउटलुकको सल्लाहकार बस्न मैले विप्लवजीलाई हुँदैन भन्न नसके पनि विचार गर्छु भनें । प्रचारप्रसार विभाग हेरिरहनु भएको महेश्वरजीसित मैले सम्पर्क गरेँ । उहाँले विप्लवजीसित कुराकानी भएको हो भनेपछि माओवादीभित्र ट्रट्स्कीवादीहरूको विगविगी चलेको बेला क्रान्तिकारी विचारको पत्रिका कसैले प्रकाशित गर्छ भने ठीकै हुन्छ भन्ने लाग्यो ।  उसोभए मेरो भूमिका निष्क्रिय होइन, सक्रिय सल्लाहकारको रूपमा हुनुपर्छ भन्ने कुरा पनि मैले प्रस्ट पारेँ ।

पत्रिकाको प्रकाशन आरम्भ भयो । यसलाई कसरी राम्रो पार्ने भनेर वैचारिक र भौतिक दुवै किसिमले यसमा केन्द्रित भइयो । दुई-तीन अंक राम्रो पनि भयो । आफ्नै तालमा काम गर्ने सम्पादकको कार्यशैली समस्या त छंदै थियो, पत्रिकामा आईएन्जीओवादीहरूको भूमिका बढ्दै आईएन्जीओको प्रशंसामा लेखहरू छापिन थालेपछि  म झस्किनु स्वाभाविक थियो । यस्तै विदेशमा बसेर ठगी काम गरिरहेको   एक जना नटवरलालसम्बन्धी एउटा विवादास्पद लेख पत्रिकामा प्रकाशनको तयारी हुन थालेपछि  म झन् झस्किएँ ।

 क्रान्तिकारी पत्रिकाको आवश्यकता पूरा गर्न अर्को एउटा पत्रिका आवश्यक छ भन्ने लागेर हामी केही साथीहरूले निर्णय गरेर समयबद्ध आरम्भ गर्यौँ ।  यो आरम्भ गनुपर्ने एउटा कारण “गोँगबु डिनर” पनि थियो, जुन किसिमको समीकरणका कुरा उठिरहेका थिए, मलाई ठीक लागेको थिएन । प्रचण्डका गलत कुराको भण्डाफोर गर्नुपर्चा भन्ने कुरामा विवाद थिएन तर प्रचण्डको विकल्पमा बाबुरामजस्तो भारतीय विस्तारवादको दलाललाई अघि सारिएको कुरामा मेरो सहमति थिएन  ।  साथीहरू मेरो कुरामा सहमति भएपछी मात्र मैले समयबद्धको सम्पादकको जिम्मेवारी लिन स्कीकार गरेको थिएँ । समयबद्धले राम्रो पाठकीय माया पायो । यसले नेपाली ट्रट्स्कीवादीहरू लगायत माओवादी पार्टीभित्रका सारसंग्रहवादीहरूका विरुद्ध जोडदार रूपमा वैचारिक धावा बोल्यो । कम्युनिस्ट आउटलुक भने “गोँगबु डिनर” को पक्षमा उभियो  यसले ट्रट्स्कीवादीहरूसित हिमचिम तीव्र बनायो । हामी ट्रट्स्कीवाद र यसको नेपाली संस्करणका विरुद्ध निरन्तर सङ्घर्षमा थियौँ, कम्युनिस्ट आउटलुक भने बाबुरामजीको स्पष्टिकरणलाई विशेष महत्वका साथ छाप्नुका साथै पार्थ लगायतका रचनाहरूको प्रकाशनलाई निरन्तरता दिइरहेको थियो ।  बाबुरामजीले आफ्नो मुखपत्र  झिल्कोमार्फत आफ्नो विचार लगिरहनुभएको अवस्थामा उहाँलाई धोइपखाली गरेर कम्युनिस्ट आउटलुकमा त्यसरी प्रकाशित गर्ने काम मलाई त्यति प्रिय लागेन ।

त्यसपछि नैतिक र वैचारिक दृष्टिले पनि मैले कम्युनिस्ट आउटलुकमा सल्लाहकारका रूपमा बस्नु उचित ठानिन । मेरो नाम त्यहाँबाट हटाउन पनि निकै जोड गर्नु पर्यो । र पछि त्यस ठाउँमा  ईश्वरचन्द्र ज्ञवालीले आफ्नो नाम लेखाउनु भएछ  ।  त्यसपछि मेले कम्युनिस्ट आउटलुक मा लेखिन । एकातिर लागेपछि समग्र रूपमा लाग्ने आफ्नो बानी भएकाले  समयबद्धलाई राम्रो बनाउन म सम्पूर्ण रूपमा त्यसमा लागें ।  विशेष कारणबस समयबद्ध स्थकित भएपछि मैले दि नेक्स्ट फ्रन्ट वेबसाइट चलाउन थालें । आफ्नो जिम्मेवारीभन्दा बाहिरको काममा खास सन्दर्भ र अवस्थाबाहेक र बिनापारिश्रमिक कसैका लागि र केहीका लागि पनि  लेख्दिन भन्ने मेरो अठोठ थियो र छ  ।

कम्युनिस्ट आउटलुक पाक्षिकका रूपमा नयाँ आकारमा प्रकाशित  हुन थालेछ । यसै क्रममा यही पुस २ गते  कम्युनिस्ट आउटलुकको नयाँ अङ्क वर्ष २, अङ्क ८ मा मेरो लेख एक जना साथीले पढेको कुरा सुनाउनु भयो ।  अर्को एकजनाले पनि यस्तै कुरा सुनाउनु भयो ।  पत्रिका हेरेँ । अचम्म लाग्यो । लेख राम्रो लाग्नु वा नलाग्नु पाठकको कुरा हो । तर  एक वर्ष अगाडिजसो  मधुपर्कमा प्रकाशित लेख  त्यसमा छापिएको रहेछ । र अचम्मको कुरा के छ भने त्यसमा सम्पादकीय टिप्पणी छैन र स्रोतको उल्लेख पनि गरिएको छैन । एकदम ताजा लेखजस्तो गरिएको छ ।

पत्रिका निस्किनुभन्दा अघिल्लो दिन इच्छुक सांस्कृतिक प्रतिष्ठानको प्रकाशन प्रवर्तकको नयाँ अङ्कको सेटिङका संधर्भाद्फ  एकजना डिजाइनरकोमा जाँदा  त्यहाँ कम्युनिस्ट आउटलुकका सम्पादकसित भेट हुँदा उनले यसबारे मलाई केही भनेका थिएनन्। तर पत्रिकामा भोलिपल्ट त्यसरी आउँदा म एकदमै छक्क परेँ  । उनले योजनाबद्ध रूपमा यो काम गरेका हुन् भन्ने कुरामा विवाद छैन । आफूलाई माओवादी–क्रान्तिकारी भन्नेले  अझ वैद्य समूहको दावी गर्नेहरूबाट यस किसिमको ठगी धन्धा हुनु साँच्चिकै  लाजमर्दो कुरा हो ।

  एउटा खास पत्रिकामा प्रकाशित रचना अन्यत्र पनि प्रकाशन गर्न सकिन्छ र दोहोर्याइ–दोहोर्याइ प्रकाशन गर्न सकिन्छ । यसले लेख र लेखककै महत्व झल्किन्छ,  यसमा विवाद छैन । तर लेखक र पाठकलाई छलेर र ढाँटेर गरिने यस किसिमको काम चाहिँ ठगी कार्य मात्र होइन “क्रान्तिकारी” कालोबजारी नै हो । यतिबेर बैद्य समूहका नाममा प्रकाशनको क्षेत्रमा ओइरो लागेको छ । सक्कली–नक्कली के कसो हुन्, यस्तो कामचाहिँ निकै भएको देखिन्छ । यी सब कामहरू योजनामा नै भइराखेका छन् या अराजकतामा, यो त बैद्य समुहको प्रचारप्रसार हेर्नेहरूलाई नै थाहा होला, तर धन्धा भने जोडतोडले चलेको देखिन्छ ।

आफूलाई विप्लवको मान्छे भनेर प्रस्तुत गरेर कम्युनिस्ट आउटलुकले गरेजस्तो ठगी धन्दा गर्नेहरूबारे विप्लवजीको के धारणा छ, यो पनि प्रस्टताका साथ  बाहिर आउनु आवश्यक छ । यसबारे थुप्रै कुराहरू बाहिर आउन थालेका छन् । बरालजस्तो निम्छरो व्यक्तिको लोगोको यस्तो  कारोवार हुन्छ भने स्थायी समिति सदस्य विप्लवजीका नाममा केके भइरहेका होलान्, त्यो  उहाँले नै बुझ्ने कुरा हो ।  तर  क्रान्तिकारी विचारसमुहका नाममा हुने र गरिने यस्ता २ नम्बरी धन्दाले  समूहमाथि नै नराम्रो असर पर्छ भन्ने कुरामा चाहिँ सबै सचेत र गम्भीर हुनु आवश्यक छ ।

पुस ४ ,२०६८

०००

You can leave a response, or trackback from your own site.

2 Responses to ““क्रान्तिकारी” कमरेडहरूको दुई नम्बरी धन्दा”

  1. लोक मणि गिरि says:

    सर हजुरले राम्रो काम गर्नु भयो प्रस्ट पारेर.
    एस्तो कुरा को भण्डाफोर गर्नु पर्छा !

  2. कमल महत says:

    यही लेखबाट सापटी..
    सल्लाहकार पद नै अचम्मको छ । हाम्रो पार्टी (हाम्रो भन्छु किनभने मैले विधिवत यसबाट अलग भएको घोषणा हालसम्म गरेको छैन ।) मा केन्द्रीय सदस्यजत्तिकै सल्लाहकारको जमात छ । एउटा कम्पनि नै बनाए पुग्छ । कमरेड, भक्तबहादुर, कमरेड कृष्ण्दास, कमरेड काजी बा लगायतका केही कमरेडहरू साँच्चिकै श्रद्धाका पात्र हुनुहुन्छ, तर कतिपय सल्लाहकारको नाम सुन्दा यो सल्लाहकार भन्ने पद अन्त कतै फिट नहुने र काम नलाग्ने मान्छेहरूलाई थन्क्याउने ठाउँ रहेछ भन्ने लाग्दछ । सामान्य सेल कमिटीमा राखन समेत योग्य नभएका व्यक्ति एकताका नाममा माओवादीमा सल्लाहकार भएका छन् भनेर अरूले हाँसो गर्दा पीडा पनि हुन्छ ।

    सर हजुरले राह्रै राम्रो बिषयको उठान गर्नू भयो । साथै गलत प्रबित्तिको भण्डाफोर । मन परेको कुरा के भने हाम्रो गाँउतिर उखान छ “एक काम २२ पन्थ” जस्तै लाग्यो । अर्को कुरा सर यो डाक्टर, वैद्य भयको पर्टीमा यती सारो महामारी कहाँ बाट आयो सर । यसका बारेमा केहि चिरफार ( अपरेशन ) गरेमा जान्न बुझ्न अझै सजिलो हून्थ्यो की ।

    धन्यवाद

Leave a Reply

See real websites hosted and built by iPage customers.