काठमाडौँ जिल्ला सम्मेलनले दिएको शिक्षा

रत्न
y lama(नेकपा–माओवादीको आगामी राष्ट्रिय सम्मेलनका सन्दर्भमा विभिन्न जिल्लामा भएका जिल्ला सम्मेलनहरू, खासगरेर नेवा राज्य समिति र तामसालिङ राज्य समितिसम्बद्ध कतिपय जिल्ला सम्मेलनहरू निकै विवादित बनेका समाचारहरू प्रकाशमा आए । क्रान्तिकारी विचार र फरक मत राखनेहरूप्रति राज्य समितिको नेतृत्व तहमा रहेका कतिपयहरूबाट पूर्वाग्रहपूर्ण व्यवहार भयो, गुटबन्दी गरियो भन्ने समाचारहरू पनि प्रकाशमा आए । यस्तै काठमाडौँ जिल्लाको सम्मेलन पनि “क्रान्तिकारी विचार राख्नेहरूलाई गुन्डा लगाएर हलबाट निकालेर जिल्ला समिति घोषणा गरियो” भन्नेसम्मका समाचार बाहिर आए । यो लेखमा यस्तै केही सन्दर्भको चर्चा गरिएको छ । बहस–छलफलका लागि हामीले यो लेख प्रस्तुत गरेका छौँ)

‘जनवादको जगमा केन्द्रीयता निर्माण गरौँ ! चुस्त सुदृढ र एकताबद्ध पार्टी निर्माणको लागि दशौँ काठमाडौँ जिल्ला सम्मेलन सफल पारौँ !!’ भन्ने उद्घोष गर्दै सुरु भएको नेकपा–माओवादी काठमाडौँको दशौँ जिल्ला सम्मेलन भव्यरूपमा सफल भएको बाहिरी प्रचारबाजी गरिए पनि नेतृत्वको नोकरसाही केन्द्रीयता र गलत प्रवृत्तिलाई संरक्षण गरेका कारण असफल र अस्तव्यस्त हुनपुग्यो । २०७० चैत्र ११ गते सम्मेलनको मिति तोकिए पनि ‘माथि’ कै समस्याको कारण पटकपटक गर्दै सरेर २०७१ बैशाख ११ गते मात्र सम्मेलनको साइत जुर्यो । नारामा जनवादको जगमा केन्द्रीयता भनिए पनि व्यवहारमा नोकरसाही केन्द्रीयता एकलौटी ढङ्गले लाद्ने काम हरेक इलाका सम्मेलनदेखि नै भएको थियो । सांस्कृतिक, आर्थिक र नैतिक रूपमा पतन भएका, विभिन्न विवादमा मुछिएका र भ्रष्टहरूका विरुद्ध ठोस प्रमाणसहित सम्मेलन आयोजक समिति र अध्यक्ष्य मण्डलसमक्ष अभियोग पत्र दर्ज गर्न खोज्दा अस्वीकार मात्र गरिएन उल्टै आरोपित व्यक्तिहरूलाई संरक्षण गर्न स्वयम् राज्यसमिति नेतृत्व आफैँ लागि परेको थियो । यसले इमान्दार, क्रान्तिप्रति प्रतिबद्ध कार्यकर्ताहरूमा आक्रोश, घृणा र पीडाबोध हुनु स्वभाविकै थियो । अन्तत: यसले विष्फोटको रुप लियो । पार्टी सङ्गठनलाई चुस्तदुरुस्त राख्नका लागि साङ्गठनिक ढाँचालाई पिरामिड आकारमा बदल्न र क्रान्तिप्रति प्रतिबद्ध कार्यकर्ताको पार्टी निर्माण गर्न आवश्यक थियो । यसमा कसैको विमत छैन, तर आकार सानो पार्ने नाममा थाकेकाहरू, भागेकाहरू र भ्रष्टहरूलाई जिल्ला सदस्य प्रस्ताव गरिसकेपछि यसले चारैतिर विरोध र वितृष्ण पैदा गर्यो । नभन्दै हलभित्रैबाट नाराबाजी सुरु भयो । जनवादको अभ्यास गराउने नाममा जम्मा ३ मिनेटको समय दिइएको थियो । जिल्ला सम्मेलनमा जम्मा ३ मिनेटमा कस्तो जनवादको अभ्यास गर्न गराउन खोजिएको हो, प्रश्न उठ्नु स्वभाविक हो ।
सम्मेलन तयारीकै क्रममा थुप्रै कमीकमजोरीहरू भएका थिए । प्रतिनिधि छनौट गर्नेदेखि सम्मेलन हलको सुरक्षाको विषयमा समेत गम्भीर प्रकारका कमजोरीहरू रहे । बिनामापदण्ड हरेक इलाकाबाट प्रतिनिधिहरू छानिए । यसमा जिल्ला पार्टीकै कमजोरी रह्यो । सम्मेलन कुनै कुम्भ मेला होइन न त भोज भतेर नै हो । यसमा राजनीतिक, वैचारिक स्तरका आधारमा प्रतिनिधि चुनिनु पर्दछ । जोडघटाउ मिलाउनकै लागि बिनामापदण्ड हुलका हुल आफ्ना मान्छेहरूलाई प्रतिनिधिको रूपमा भर्ती गरेपछि सम्मेलन हलमा केही अराजकता र असहजता भएकै हो । यसमा जिल्ला नेतृत्वको कमजोरी र लापर्बाही प्रतिबिम्बित भएको छ । प्रत्येक इलाकाको डाडुपन्यु हातमा लिएर बसेकाहरूले बिनामापदण्ड प्रतिनिधिहरू चुनेर पठाइदिए । जिल्ला नेतृत्वबाट छानबिन गर्नुको सट्टा आँखा चिम्लेर स्वीकार गरियो । सबै जिल्ला कमिटिहरू विघटन गरी भूगोलमा केन्द्रिकरण गर्दा जिल्ला सदस्य र राज्य समिति सदस्यहरूको सख्या दुई हजार पुगेको थियो । निश्चय नै यतिका संख्यामा रहेका नेताकार्यकर्ताको मूल्याङ्कन र जिम्मेवारी दिने क्रममा केही कमिकमजोरीहरू हुन स्वभाविक हो । तर हल भित्रैबाट यहाँयहाँ कमजोरीहरू भएका छन्, जिल्लामा प्प्रस्तावित यी यी नामहरू विवादित छन् भनेर व्यक्तिको नामसमेत किटान गरी ठोस प्रमाणसहित अभियोग पत्र दर्ज गराउन खोज्दा अस्वीकार गरियो । यति मात्र होइन, नेतृत्व तहबाटै गलत प्रवृत्तिलाई संरक्षण गर्ने काम भएको थियो । यसबाट गलत चिन्तन र प्रवृत्ति संरक्षण गर्ने काममा नेतृत्वबाटै सचेतन भूमिका खेलिएको प्रस्ट हुन्छ ।
हलभित्रको सुरक्षा
२०७१ बैशाख ११ बाट किर्तीपुरको स्मृति हलबाट उद्घाटन गरी विधिवित रूपमा सुरु भएको जिल्ला सम्मेलन १३ गतेबाट सोही हलमा बन्द शत्र सुरु भएको थियो । विगतजस्तै सम्मेलन हलको सुरक्षाको जिम्मा मूलत: युवाहरूकै काँधमा थियो । सदाझैँ ‘राष्ट्रिय युवा जनस्वयम् सेवक’ का कमरेडहरू अनुशासित र इमान्दारिताका साथ हलको भित्रि र बाहिरी सुरक्षमा लागि परिरहेका थिए । सुरक्षाजस्तो संवेदनशील विषयमा प्रत्येक इलाकाको युवा संयोजकहरूसँग छलफलपछि मात्र स्वयम् सेवकको जिम्मेवारी ककसलाई दिने भनेर ठोस गरिनु पथ्र्यो । तर स्वयम् सेवककै जिल्ला संयोजकबाट स्वयम् सेवकको जिम्मेवारी दिने सन्दर्भमा कमजोरी भएको थियो । इलाका संयोजकहरूसँग बिनापरामर्श मनोमानी ढङ्गबाट स्वयम् सेवकको कार्ड बाँडियो । स्वयम् सेवकको कार्ड भिरेर हलभित्र छिरेका केही व्यक्तिहरूले स्वयम् सेवकको आवरणमा हलभित्र अराजकता र भाँडभैलो गर्ने असफल प्रयास समेत गरेका थिए । हिजो प्रचण्ड आफैँले जन्माएको जनमुक्ति सेनाप्रति विश्वास नगरेर सरकारी सेनाको प्रयोग गरी रातारात जन सेनाको क्याम्पमा घेरा हाल्न लगाई ट्वाइलेटमा समेत छापामारी क्याम्प कब्जा गरिएको थियो । किर्तीपुरको स्मृति हल र नयाँ बजारको जुडोहलमा पनि त्यस्तै दृश्य दोहरिएको थियो । स्वयम् सेवकको कार्ड भिरेर हलभित्र छिरेका केही व्यक्तिहरूबाटै जिम्मेवार कमरेडहरूमाथि समेत हातपात भएको थियो । यस्ता अराजक व्यक्तिहरूलाई बचाउन स्वयम् नेतृत्व तहमा रहेकाहरू नै लागि परेका थिए । स्वयम् सेवकको आवरणमा बाहिरबाट गुण्डाहरू ल्याइएको र सम्मेलन हल नै कब्जा गर्न खोजिएको भन्ने अपुष्ट खबरहरू पनि सुनियो । नेतृत्व तहबाटै संरक्षित गरिनुले कतै यस्तो हरकतको पछाडि माथिल्लो नेतृत्वकै सचेतन भूमिका त थिएन भन्ने प्रश्नहरू उब्जिएका छन् ।
अबको बाटो
दसबर्षे जनयुद्धको दुखद विघटन, विर्सजन गरेपश्चात् पुन: क्रान्तिलाई निरन्तरतामा बदल्न उनीहरूले फ्याँकेको झन्डालाई उचालेर शिखरतिर अगाडि बढाउछौँ भन्ने प्रतिबद्धताका साथ नेकपा–माओवादीको गठन भएको थियो । पछिल्ला दिनहरूमा चिजहरू जसरी अगाडि बढ्नुपर्ने हो, त्यसको ठीक विपरीत रूपान्तरणको उल्टो यात्रा थालेपछि त्याग र वलिदानको इतिहास बोकेका कमरेडहरूमा आक्रोश बढ्नु र अन्ततः विष्फोटित हुनु अनिवार्य थियो । एकातिर चुनाव बहिष्कारको बेला हात गुमाउने कमरेडहरूको अपमान र अर्कोतिर चुनावमा पैसा खाएर तछाडमछाड गर्दै मतदान केन्द्रमा ल्याप्चे लगाउन कुद्नेहरू जिल्ला सदस्य बनेपछि स्थिति विष्फोटक बन्नु स्वभाविक थियो । भव्य र सभ्य रूपमा सम्पन्न भएको प्रचारवाजी गरिए पनि वास्तवमा यो सम्मेलनले इमान्दार र क्रान्तिप्रति प्रतिबद्ध कार्यकर्तामा निराशा र थप अन्यौलता पैदा गरेको छ । पार्टी र सङ्गठन भद्रगोल भएको छ । विभिन्न विवादमा मुछिएका जिल्ला सदस्यहरूलाई छानबिन गरी तत्काल कारबाही नगरिए काठमाडौँ जिल्लामा क्रान्तिको बर्को ओडेर लुसुक्क छिरेका अवसरवादीहरू उत्साहित हुने र क्रान्तिकारीहरू भूमिकाविहीन बन्दै गएर अन्तत: जिल्ला पार्टी विघटन हुने खतरा पैदा भएको छ ।
पछिल्लो समय कार्यदिशामा भएको अस्पटताले साङ्गठनिक समस्या निम्तिएको छ । अर्थात् कार्यदिशामा भएको समस्या साङ्गठनिक समस्याको रूपमा बाहिर आएको छ । अबको राष्ट्रिय सम्मेलनले कार्यदिशा प्रस्ट पारेर लानुपर्छ । जनयुद्धको जग भनेको आधार इलाका, नियमित सेना अर्थात् समग्र रूपमा जनसत्ता नै हो । अनुभवलाई जनयुद्धको जग हो भन्दै हिड्ने र कार्यदिशा अनुसार कार्यक्रम नबन्ने हो भने अर्को मोहन विक्रम बन्ने पक्का छ । हामीलाई दोस्रो एमाओवादी र तेस्रो एमाले बन्नु छैन । कुनै पनि प्रकारको आत्मसमर्पण स्वीकार्य छैन । सङ्क्रमणकाल लम्ब्याएर सुधारवादको दलदलमा फस्न हामी चाहन्नौँ । कथित दोस्रो संविधान सभाको निवार्चनमा सर्वानाक हार ब्यहोरेपछि प्रचण्ड–बाबुरामको नवप्रक्रियावादी गुटका मान्छेहरू अनआवश्यक रूपमा पार्टी एकताको बेमौसमी बाजा बजाइरहेका छन् । गोलमटोल र सारसङ्ग्रहवादी कार्यदिशा मार्फत क्रान्तिकारीहरूलाई अल्मल्याई रहने, रणभुल्लमा पारिरहने र आफ्नो स्वार्थ पुर्ति गर्ने अर्को अस्त्रको रूपमा प्रचण्डले पार्टी एकताको कार्ड फ्याँकेका छन् । अब कार्यदिशामा प्रस्ट हुनु आवश्यक छ ।
अनुभवलाई जनयुद्धको जग मान्न सकिँदैन र होइन पनि । जनसेना, आधारइलाका, जनअदालत समग्रमा जनसत्ता नै जग हो । यसलाई दस्ताबेजमा प्रस्टताका साथ उल्लेख गर्दै नयाँ ढङ्गबाट पुनर्निमार्ण गर्ने दिशामा इमान्दारीका साथ अघि बढ्नैपर्छ । प्रचण्ड– बाबुराम सबै कुरा छाडेर जनयुद्धको कार्य दिशामा सहमत भई आउछन् भने सोच्न सकिएला, तर एकता गर्ने नाममा सारसंग्रहवादी कार्यदिशामा लम्पसार परेर आत्मसमर्पण गरियो भने नेपाली भूमिबाट सिङ्गो माओवादी आन्दोलनको दुखद विघटन हुनेछ । नेपाली क्रान्ति सुदूर भविष्यको विषय बन्नेछ । क्रान्तिकारी कम्युनिस्ट आन्दोलन उठ्नै नसक्ने गरी थला पर्नेछ । यसबाट सचेत हुँदै सिङ्गो माओवादी आन्दोलनको समीक्षा गर्दै र क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धताका साथ अघि बढ्नु आजको आवश्कता हो ।
०००

 

You can leave a response, or trackback from your own site.

One Response to “काठमाडौँ जिल्ला सम्मेलनले दिएको शिक्षा”

  1. Letsstartpeopleswar says:

    युवाहरुको सवालमा त यति सम्म भएको थियो कि -बहस गर्न पाउनुपर्छ भन्ने युवाहरुलाई बल प्रयोग गरेर तह लगाउन ललितपुर बाट समेत गुण्डाहरु मगाइएको थियो |त्यहि गुन्डाहरु मध्य एक जनाले भूतपूर्व जनमुक्ति सेनाका एक जना योद्दलाई पेटमा लात हानेका थिए |
    जब कि थप सुरक्षाको लागि भनि ल्याइएका ती मान्छेहरुलाई काठमाण्डौ का जनसेवक संघ का साथीहरुले चिन्नुभएको थिएन र उनीहरुलाई बोलाउने या नबोलाउने भन्ने कुरामा कुनै छलफल पनि भएको थिएन |
    युवाकै कतिपय पदलोलुप फटाहाहरु बल्ल तल्ल पाईएको जिल्ला सदस्य पनि गुम्छ कि भनेर दोहोरो चरित्र निभाईरहेका थिए |
    क्रान्तिकारी भन्नेहरूमा समेत धेरैमा केन्द्रमा पद र रुपमा क्रान्ति मात्रै थियो |दायाँ बायाँ नहेरी नितान्त क्रान्तिकारी विचार र विचारको रक्षाको निम्ति आवाज उठाउने र लड्ने व्यक्ति निकै थोरै थिए |
    अर्को कुरा पनि भन्छु -भित्र भित्र दुई लाईन संघर्ष यति चर्केको थियो कि हामि रातभरि रातभरी छलफल बहसमा थियौ |भोलि कसरि प्रस्तुत हुने के बोल्ने भन्नेमा हाम्रो ध्यान थियो र नेतृत्व पनि उत्साहित थियो |हामीलाई हाम्रो नेतृत्व प्रति पुरा विश्वास थियो |नेतृत्व संग छलफल गर्दा नेतृत्वले हामीलाई भनेको कुरा -छदम संसोधन वादीहरु सम्मेलन मार्फत संगठन कब्जा गर्ने र प्रचण्डहरु संग निसर्त एकता गर्ने योजनामा छन् तपाई हामि हरुले जसरि पनि यसलाई रोक्नुपर्छ |त्यसको लागि हामि रात दिन खटेका थियौं |हामि उत्साहित थियौं |काठमाण्डौमा जसरि क.असारेले बेलैमा कुरा बुझ्नुभयो र संगठन क्रान्तिकरिहरुकै कब्जामा रह्यो यदि असारे कमरेडले जस्तो बेलैमा छदम संसोधनवादीहरुको षड्यन्त्र बेलैमा कमाण्डका कमरेडहरुले पनि बुझेर त्यही अनुसार खटेको भए स्थिति बेग्लै बन्ने थियो |सम्झौता गर्नु पर्ने थिएन |फिल्डमा क्रान्ति र जनयुद्दको नारा थियो तर नेताहरुको बैठकमा पदको भागबंडा भएछ |युवाहरुको जोश नेतृत्व प्रतिको भरोसा सबै टुट्यो |क्रान्तिकारीहरु निराश हुने र अवसरवादीहरु र छदम संसोधन वादीहरु खुसि हुने स्थिति बन्यो |जसले क्रान्तिको होइन सुधारबादकै लागि वातावरण खडा गर्यो |पदको निम्ति सिद्दान्त र विचारको बेच विखन भयो |छदम संसोधनवाद मुर्दावाद भन्ने इमान्दार कमरेडहरु लाई अराजक र बन्दुके घोषणा गरिएको थियो |ती युवाहरुलाई हाँसोको पात्रो बनाईएको थियो |बराल सर !धोका भएको थियो धोका
    असारेकमरेड चुनवाङ बैठकमा प्रचण्डले के बाबुराम संग सम्झौता गर्न बाध्य भए गरियो भन्दा तपाईले प्रचण्डलाई क्रान्तिमा विचार र सिद्दान्तमा सम्झौता गर्ने ?तपाइले खत्तम गर्नुभयो |बर्वाद गर्नुभयो प्रचण्ड जी अब तपाईबाट नेपालि क्रान्तिको नेतृत्व सम्भव छैन |भनेर भन्नु भएको थियो |तपाईहरुले किन कुपण्डोलको कोठामा सम्झौता गर्नुभयो |तर क .असारेलाई हाम्रो प्रश्न असारेकाका बिचको बाटो हुँदैन बाबु !विचारको लडाईंमा त ठोक्ने हो हहहहहहाहाहा गरेर हास्दै तपाइले भन्नुभएको कुरा अझै ताजै छ |

Leave a Reply

See real websites hosted and built by iPage customers.