कमरेड शेरसिंह अब वेबसाइटमा

Bhakta Book Cover_Final copyकमरेड शेरसिंह अर्थात् भक्तबहादुर श्रेष्ठका नाममा स्थापित भक्तबहादुर स्मृति प्रतिष्ठानले उहाँका रचनाहरू तथा उहाँसित सम्बद्ध सामग्रीहरूलाई विश्वव्यापी गर्ने उद्देश्यका साथ वेव साइट खोलेको छ । अध्ययनकर्ताहरूले यसलाई  www.bbpratisthan.com मा हेर्न सक्नुहुनेछ । यसमा उहाँको जिवनी, उहाँका रचनाहरूका साथै जीवनका विविध सन्दर्भसित गाँसिएका फोटाहरू पनि हेर्न पाउनुहुनेछ । यसैगरी प्रतिष्ठानले उहाँका रचनाहरूको पहिलो सङ्कलन भक्तबहादुर श्रेष्ठका सङ्कलित रचनाहरू भाग १ पनि प्रकाशित गरेको छ  र सो पुस्तक चैत १६ गते आइतबारदेखि बजारमा  पनि उपलब्ध हुनेछ । यसलाई पाठकहरूले pdf   फर्म्याटमा वेबसाइटमा पनि अध्ययन गर्न पाउनुहुनेछ ।

प्रतिष्ठानका अध्यक्ष चन्द्रप्रसाद गजुरेलको  भूमिका सहित प्रकाशित यस सङ्कलनमा चारवटा खण्डहरू छनु् । पहिलो रचनाका रूपमा शेरसिंहका रूपमा नेकपा (चौथो महाधिवेशन) को प्लेनममा प्रस्तुत विशेष रचना रहेको छ । त्यसैगरी पहिलो खण्डमा दर्शनसम्बन्धी लेखहरू, दोस्रो खण्डमा मार्क्सवादी अर्थशास्त्र, तेस्रो खण्डमा माओवाद किन लगायतका विचारधारात्मक रचनाहरू ( पहिले प्रकाशित पुस्तिका तथा कार्यपत्रहरू)  र चौथो खण्डमा विभिन्न्न साप्ताहिक तथा दैनिक पत्रिकाहरूमा प्रकाशित समसामयिक राजनीतिक रचनाहरू रहेका छन् । वैचारिक दृटिकोणले यसमा सङ्कललित रचनाहरू निकै प्रभावकारी छन्।

——————————————————————————————–

अन्तरपार्टी जनवाद

पार्टीमा जब केन्द्रवादलाई जनवादबाट अलग पारेर व्यवहार गरिन्छ,, तब त्यसले अनर्थ पैदा गर्दछ । केही नेतृत्वकारी कमरेडहरू के सोच्छन् भने नेताको काम भनेको आदेश दिनु र तल्लाहरूको काम भनेको केवल आदेशको पालना गर्नु हो । नेताले जेजस्ता काम गरे पनि उसलाई अनुशासन लाग्दैन । अनुशासनको पालना गर्ने काम त साधारण सदस्यहरूको मात्र हो । तिनीहरू आफूलाई साधारण सदस्यहरूसित एकाकार गर्नुपर्ने आवश्यकता ठान्दैनन् र उनीहरूभन्दा उच्च ठान्दछन् । उनीहरू साधारण सदस्यका विचार, राय, सुझाव आदि बुझ्नुपर्ने र त्यसप्रति ध्यान दिएर प्रस्ताव, निर्देशन आदि तयार पार्नुपर्ने कुरालाई आवश्यक ठान्दैनन् र बरु मनपरी त्यस्ता निर्देशन आदि तयार पारेर लागू गर्दछन् । यो जनवादी केन्द्रीयता होइन, नोकरसाही हो, । वास्तवमा यो स्वच्छन्दतावादी प्रवृत्ति पार्टीभित्र विशेषाधिकार प्राप्त विचारधाराको प्रतिविम्ब हो ।

   अन्तरपार्टी जनवाद भनेको केन्द्रीय निर्णयको पालनासित सम्बद्ध जनवाद हो । यसको अर्थ सबै, पार्टीका भेला, बैठक, सम्मेलन तथा महाधिवेशनहरूको आयोजना नेतृत्वकारी पार्टी निकायद्वारा गरिन्छ र तिनको सारा कामकाज त्यसकै निर्देशनमा चल्दछ । पार्टीभित्र हुने सबै निर्वाचनहरूमा नेतृत्वकारी निकायद्वारा उम्मेदवारहरूको सूची प्रस्तुत गरिन्छ र त्यसकै आधारमा उक्त निर्वाचन हुन्छ । यसको अर्थ सबै सदस्यहरूले एकीकृत नेतृत्वलाई मानेर आप्mनो अधिकारको प्रयोग गर्दछन् । त्यसैले अन्तरपार्टी जनवाद भनेको नेतृत्वविहीन जनवाद होइन,,यो मनपरी ढङ्गबाट चल्ने वा अराजकतावाद होइन ।

            अन्तरपार्टी जनवादको प्रमुख उद्देश्य पार्टी सदस्यताको राजनीतिक समझदारी तिनको पहलकदमी र पार्टी काममा सक्रियतामा वृद्धि गर्नु, तिनमा पार्टी लक्ष्यप्रति निष्ठा, समर्पण र जिम्मेवारीको भावना बढाउनु र पार्टीको नीतिनिर्माण र नेतृत्वमा तिनलाई सक्रिय सहभागी बनाउनु हो । यसको पार्टीभित्र र त्यसले आयोजना गर्ने सभासम्मेलन तथा भेलाहरूमा यस्तो वातावरण हुन जरुरी छ, जसमा पार्टी सदस्यहरूले आप्mनो मनमा लागेका कुरा खुल्ला रूपले राख्न सकून्, प्रश्नहरू उठाउन सकून् र सुझाव तथा प्रस्तावहरू पेस गर्न सकून् । नेतृत्वकारी निकायले पार्टी सदस्यहरूलाई जुनसुकै मामिलामा वा समस्यामा पनि तिनको विचार, मत वा सुझाव राख्ने र पार्टी नीति तथा व्यावहारिक मामिलामा स्वतन्त्र रूपले छलफल गर्ने पूर्ण अवसर दिनुपर्छ । अर्कोतिर पार्टी सदस्यहरूले आफ्ना मत, विचार वा सुझाव र आफूले चाहेको छलफल पार्टी सभामा, सम्मेलनमा र महाधिवेशनमा राख्नुपर्छ । जहाँ पायो त्यहीँ र जहिले मन लाग्यो, त्यही बेला त्यसरी गर्नु हुँदैन ।

            अन्तरपार्टी जनवादको एउटा महत्वपूर्ण पक्ष आलोचना र आत्मालोचना हो । यसलाई सर्वहारा वर्गको पार्टीको एउटा महत्वपूर्ण विशिष्ट लक्षणको रूपमा लिइन्छ । यसमा सबैले इमानदारीपूर्वक लाग्नुपर्छ, किन भने यसले पार्टी सदस्यहरूलाई बिग्रन नदिने कुरामा महत्वपूर्ण भूमिका खेल्छ । यसलाई अवसरवादको रूपमा लिनु एकदम अनुचित हो । जानीबुझी गल्ती गर्नु, आत्मालोचना गरेर देखाउनु र फेरि त्यही गल्ती गर्नु भनेको आत्मालोचनालाई अवसरवादको रूपमा प्रयोग गरेको ठहर्छ । नेतृत्वदायी कमरेडहरूले तलबाट हुने आलोचनालाई प्रोत्साहित गर्नुपर्छ र त्यस्तो आलोचना हुँदा त्यसप्रति गम्भीर र उचित रूपमा ध्यान दिनुपर्छ । तलबाट हुने आलोचनाप्रति उदासीन रहनु वा बेवास्ता गर्नु, आलोचना गर्नेप्रति नराम्रो व्यवहार गर्नु वा प्रतिशोधको भावना लिनु वा बदनाम गर्न खोज्नु, आलोचना होला भनेर डर, धम्की वा प्रलोभन दिन खोज्नु आदि प्रवृत्ति अनादारणीय मात्र होइन, यो सामन्तवादीपुँजीवादी व्यवहार हो । अर्कोतिर आलोचना क्षुद्र कुराहरूलाई लिएर गर्न हुन्न । आलोचनालाई कसैको निन्दा, बदख्वाइँ, अनुचित दोषारोपण वा चरित्र हत्याको साधन बनाउनु झन् गलत हुन्छ । आलोचना पनि पार्टी र सदस्यको स्तर हेरी गरिनुपर्छ । आलोचना वास्तविकमा आधारित भएर  सिद्धान्तका आधारमा गरिनु पर्छ । त्यो खुल्ला, प्रत्यक्ष, सदिच्छापूर्ण र मैत्रीपूर्ण ढङ्गले हुनुपर्छ र गल्ती र त्रुटीहरूलाई हटाउने र सुधार ल्याउने इच्छा र भावनाबाट प्रेरित हुनुपर्छ । माओले भने झैँ रोगीलाई मार्ने होइन, उसलाई बचाउने र सुधार्ने हिसाबले औषधिको रूपमा प्रयोग गर्नुपर्छ । (यसै पुस्तकबाट)

 

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.