कमरेड अनिल शर्मासितको अन्तर्वार्ता

anil_birahi11बादलको वक्तव्य पराजित मानसिकताको उपज :
अनिल शर्मा ‘विरही’ केन्द्रीय सदस्य, नेकपा–माओवादी

——————————————————
महासचिव बादलको नामबाट आएको वक्तव्यमार्फत तपार्इंलाई एकाएक कार्बाहीको घोषणा गरिएको छ, किन गरिएको होला तपाईंमाथि कारबाहीको यस्तो घोषणा ?
पार्टी केन्द्रीय कार्यालयको नाममा जारी गरिएको बादलको वक्तव्य उनको व्यक्तिगत सनकमा कुनै तहमा निर्णय नगरी, न्यूनतम प्रक्रिया पुरा नगरी गरिएको फूटवादी हर्कत हो । चितवनको पार्टी कार्यालय बेचेर चुनाबको ऋण तिर्न खोज्ने प्रचण्ड पक्षको हर्कतका विरुद्ध लड्दा प्रचण्डहरूलाई भन्दा बादललाई किन बढी टाउको दुख्यो ? यो निकै रहस्यमय र अर्थपूर्ण छ ।
तपाईंले पार्टी नेतृत्वका विरुद्ध अनर्गल आक्षेप लगाएको हुनाले तपाईंलाई जिम्मेबारीबाट अनिश्चितकालीन निलम्बन गरिएको वक्तव्यमा उल्लेख छ, के आक्षेप लगाउनुभएको थियो र तपाईंले ?
प्रचण्ड समूहले पार्टी कार्यालय बेच्न लागेको भन्ने मेरो आरोप हो । तर ‘चोरको खुट्टा काट’ भन्दा गोडा तान्ने हतार कमरेड बादललाई किन भयो त्यो उनैलाई सोध्नुस् ।
तपाईंले चितवन पार्टी कार्यालय बिक्री गर्न थालेकोबारे केही दिन अघि वक्तव्य निकाल्नु भएको थियो, त्यसमा तपाईंले के भन्नुभएको छ त ?
चितवन पार्टी कार्यालय बेच्नु हुँदैन । त्यो कार्यालय मात्र नभएर सहिद स्मारक पनि हो । बरु पार्क बनाउँ र सर्वपक्षीय संचालन समित गठन गरौं भन्ने हाम्रो भनाइ हो ।
समाचारमा आएको खबरअनुसार पार्टी कार्यालय बिक्री गर्न खोजिएको देखियो । त्यो किन बिक्री गर्न खोजिएको होला ? त्यो भित्रको नियत के हुनसक्छ ?
कार्यालय बिक्री गरेर आउने झण्डै ७ करोड बाँडेर खाने नियत हो । हामीले त्यसो गर्न दिदैनौं भनेर भन्दा त्यसका विरुद्ध भित्रभित्रै गुपचुप षडयन्त्र भइरहेको थियो । त्यो षडयन्त्र असफल भएपछि अत्तालिएका हुन् ।
पार्टीमा खासगरी दुबै माओवादीमा ठूलो ऋणको भारी आइलागेपछि त्यो कार्यालय बिक्री गरेर ऋण चुक्ता गर्न त्यसो गरिएको भन्ने छ, त्यसका लागि कार्यालय बिक्री नै गर्नुपर्ने जरुरी थियो र ?
पार्टीमा कार्यकर्ता र संघर्षका कारण कुनै ऋण छैन । व्यक्तिगत दानापानीमा भएको खर्च नेताहरूको सम्पति बेचेर तिरे हुन्छ । कार्यकर्ताको ऋण तिर्नु नपर्ने नेताको ऋण मात्र तिर्नुपर्ने हुँदैन ।
तपाईं तत्कालीन अविभाजित माओवादीको चितवन जिल्ला इन्चार्ज पनि भइसक्नु भएको हो, तपाईंले यो बताइदिनुस कि त्यो जिल्ला पार्टी कार्यालय कसरी निर्माण गरिएको थियो ? त्यसमा कति ठूलो लगानी लगाउनु पर्यो आममाओवादी नेता र कार्यकर्ताहरूले ?
चितवन पार्टी कार्यालय चितवनका पार्टी सदस्य, समर्थक र जनताबाट चन्दा उठाएर बनाएइको हो । त्यो निर्माण गर्दा युवाहरूको हातमा ठेला र काँध सुन्निएको थियो । त्यसको रक्षा गर्दा घाइते र अपमानित हुनुपरेको थियो । खरिद गर्दा झण्डै ६४ लाखमध्ये ३२ लाख उसैबेला र बाँकी मेरो कार्यकालमा तिरिएको हो । दिमागबाट क्रान्ति डिलिट गरेर बसेका ‘फुल पार्न छोडेकी पोथी’ जस्ता नेताहरू’लाई कार्यकर्ताको भावनाको मूल्यबोध नहुँदोरहेछ ।
महासचिवजस्तो जिम्मेवार पदमा बसेको मान्छेले तपाईंलाई कुनै सोधपुछ र स्पष्टीकरण नलिई जुन निलम्बनको वक्तव्य निकाले, उनले त्यसो किन उनले गरे होलान् ?
यो क्रान्तिकारी विचार र देशभक्त धारामाथिको हमला हो । यसबाट भारतीय दूतावास सबैभन्दा बढी खुशी भयो होला ।
हठात् निलम्बनको घोषणा गरिनुलाई तपाईंले कसरी लिनुभएको छ ?
हाम्रो प्रहार ठीक ठाउँमा लागेछ भन्ने अनुभूति भएको छ ।

पार्टीमा देखापरेको दुईलाइन संघर्षको प्रतिबिम्बस्वरूप तपाईंलाई यो कार्वाहीको घोषणा गरिएको हुनसक्छ भन्ने अडकलबाजीहरू बाहिर देखिन्छ, के त्यही नै हुनसक्ला र ?
पार्टी कार्यालय निहुँ मात्र हो । विचारमाथिकै हमला हो । त्यसो त पार्टी कार्यालयको बहस आफैमा विचार र राजनीतिक प्रश्न हो ।
तपाईंलाई पार्टीमा एउटा इमान्दार र क्रान्तिकारी नेताका रूपमा आम कार्यकर्ताहरूले चिन्छन्, तर तपाईंलाई किन बारम्बार जिम्मेबारीबाट पछि पार्ने काम गरिन्छ ?
दक्षिणपन्थी त्वत्तको प्रहारमा म मात्र होइन, सबै क्रान्तिकारी कमरेडहरू परेका छन् । यो वर्गसंघर्षकै अभिव्यक्ति हो । पोखरा बैठकपछि कमरेड बादलसंगको अन्तरंग छलफलमा ‘मेरो लगौंटी फुस्कियो । समात्न त खोजे मिलेन । तपाईंले त लगौंटी नै फुकालेर प्रहार गर्नुभयो । अब मिलाउनुपर्छ’ भनेका थिए । महासचिवको फेरि लगौंटी फुस्किएको छ ।
एमाओवादीमा त कमसेम सोधपुछ र स्पष्टीकरण लिएर निलम्बन या कार्वाहीको घोषणा गरिन्थ्यो, तर यो पार्टीमा त कुनै सोधपुछ या स्पष्टीकरणबिना नै नेतृत्वबाट निलम्बनको डण्डा वर्षाउने काम भएको देखिन्छ, के यसलाई जनवादी केन्द्रीयताको प्रक्रियाअन्तर्गत आएको मान्न सकिन्छ ?

दुश्मनसंग साँठगाँठ गरेर अन्तरध्वंशको षड्यन्त्र गरेको अवस्थामा बाहेक स्पष्टीकरण लिनुपर्ने व्यवस्था विधानमा छ । कार्वाही गर्दा प्रारम्भिक अवस्थाबाट सुरु गुर्नुपर्छ । निश्चित तहमा सहमति नभए बहुमतद्वारा निर्णय गर्नुपथ्र्यो । यो नोकरशाही र घोर अराजक शैली हो । दक्षिणपन्थी अराजकतावादले जनवादी केन्द्रीयता लागू गर्नसक्दैन ।

केही मिडियाले भनेअनुसार तपाईं सचिव विप्लवको क्रान्तिकारी दस्ताबेजको पक्षमा रहेको हुनाले पनि तपाईंलाई यो एक्सन लिएको भन्ने पनि सुनिन्छ, के त्यो हुनसक्ला र ?
विचार र राजनीतिमा बहस गर्न सकिन्छ । तर विप्लवमा आफ्नै परिवार र जीवन निषेध गरेर क्रान्तिको जुन हुटहुटी तथा लगनशीलता छ, त्यसलाई मैले सकारात्मक रूपमा लिएको छु । प्रचण्डको पैसा खाएर, भारतीय दूतावासमा सूचना चुहाएर राजनीति गर्ने वामपन्थी नेता पनि होइनन् विप्लव । अहिले उनले प्रस्तुत गरेको दस्ताबेज तुलनात्मक रूपमा क्रान्तिकारी लागेको पनि छ । भोलिको सत्य के होला थाहा छैन । तर यो आजको यथार्थ हो । कमरेड बादलको वक्तव्य पराजित मानसिकता र विचारमाथिको हमला नै ठान्दछु । हारको मानसिकता भएर नै भाग्दै धारे हात लगाउदै गरिरहनु भएको छ ।

विश्व कम्युनिस्ट आन्दोलनमा निलम्बन या कार्वाहीको प्रक्रियालाई कम्युनिस्ट पार्टीहरूले कसरी अघि बढाएको पाउनुहुन्छ तपाईं ?
त्यसको प्रक्रिया र पद्धति पार्टी विधानमै स्पष्ट उल्लेख छ ।
अहिले पार्टीमा जुन समस्या देखापर्यो, किन यसरी समस्या आयो भन्ने लाग्छ तपाईंलाई ?
पार्टी कार्यालयको हालको बहसमा चितवन जिल्ला पार्टीमा सहमति कायम गर्ने, त्यसो नभएमा बहमुतद्धारा निर्णय गराउनु पर्दथ्यो । जुन समितिको सरोकार हो त्यसैलाई छलेर षडयन्त्रपूर्ण ढंगले बेच्न खोजिएकोले समस्या आएको हो ।
कम्युनिस्ट पार्टीमा अल्पमत र बहुमतको कुरा गर्दा यसलाई क्रान्तिकारीहरूले कसरी बुझ्ने ? यसको द्वन्द्वात्मक सम्बन्ध कस्तो हुन्छ ?
आधारभूत प्रश्नमा समानता नहुन्जेल अल्पमत र बहुमतद्धारा असहमतिको निकास खोज्नुपर्छ । एमालेमा जीवराज आश्रितजस्तै लेनिन एकजना कुशल संगठनकर्ता हुनुहुन्थ्यो । उनको प्रस्ताव लेनिनको नाममा जारी गरिएको हुनाले लेनिनवादी सिद्धान्त भनिएको हो । आधारभूत प्रश्नमै फरक परेपछि र दक्षिणपन्थी भइसकेको निष्कर्षमा पुगेको अवस्थामा दक्षिणपन्थी बहुमत मान्ने प्रश्नै उठ्दैन । अल्पमत र बहुमत सापेक्षतामा हेर्ने विषय हो ।
नेकपा–माओवादीमा तपाईंहरूको सानो क्रान्तिकारी समूहले अराजक गतिविधि सञ्चालन गरिरहेको छ, जसले गर्दा पार्टीमा समस्या बल्झिरहेको भन्ने संस्थापन पक्षको आरोप छ नि !
नेकपा–माओवादीमा अपवादबाहेक क्रान्तिकारी प्रवृत्ति नै बहुमतमा छ । त्यसो नभएको भए राष्ट्रिय सम्मलेन सारिने थिएन । हामी सम्मेलन सार्ने पक्षमा थिएनौं । ०५७ सालको दोस्रो राष्ट्रिय सम्मलेनमा पनि जनयुद्धको कार्यदिशा र पार्टी नामसमेत परिवर्तन गरिएको थियो । आफू बहुमत भएको पुष्टि नहुञ्जेल सम्मेलन, अधिवेशन नगर्ने नियतले सम्मेलन हुनसकेन । यो हतास र आतंकित मानसिकताको उपज हो ।

कम्युनिस्ट पार्टीमा जब विचारबाट प्रतिरोध गर्ने क्षमता हराउँछ, त्यसपछि त्यो कुनै पनि कम्युनिस्ट नेताले निलम्बन या कार्वाहीको अनाधिकृत डण्डा वर्षाउने काम गर्छ, अहिले तपाईंमाथि भएको घटना पनि त्यहीअनुरूप आएको त होइन ?
तपाईंले ठीक प्रश्न उठाउनु भयो । यो विचारमाथिकै हमला हो । उनीहरूले अब गुणराज लोहनी, ओम पुनलाई पनि कार्वाही गर्ने हल्ला गर्दैछन् । त्यसपछि तपाईंहरूको पनि पालो आउने छ ।
अहिले तपाईंले पार्टीको कुन राज्य वा क्षेत्रको जिम्मेबारी बहन गरिरहनु भएको छ ?
राज्यसमिति विघटन भइसकेको कारण त्यस विषयमा के कुरा गर्नु र ! जहाँसम्म अहिले मेरो जिम्मेबारीको कुरा गर्दा हाल धादिङ, नुवाकोट र रसुवा पार्टीको नेतृत्व गरेको छु । पुर्व ताम्सालिङ राज्यअन्तर्गतका १० जिल्लाको ‘युवा र सुरक्षा’ संग सम्वन्धित जिम्मेबारी पनि रहेको छ ।
महासचिव बादलको नाममा आएको प्रेस वक्तव्यले तपाईंलाई काममा कुनै अप्ठ्यारो त महसुश भएको छैन ?
यो व्यक्तिगत मामिला होइन । क्रान्तिमा सजिलो र असजिलो भन्ने कुरा भइरहन्छ । झिंगासंग लड्नुभन्दा ठूलै जन्तुसग लड्दा आनन्द हुन्छ नि ।
केही मिडियाले ‘दाहाल–वैद्य एकातिर र भट्टराई–चन्द अर्कोतिर’ भन्ने समाचार पनि लेखिरहेका छन्, के अहिले धुव्रीकरण तीव्र बन्दैगएको हो र ?
केही नेताहरूको भावभंगीमा हेर्दा प्रचण्डतिर डोलायमान भइरहेको, प्रचण्ड नै उनीहरूको नेता भइरहेको जस्तो लाग्छ । तर औपचारिक रूपमा धुव्रीकरणको बहस भएको छैन । जहासम्म धुव्रीकरणको हाम्रो कुरा हो, हामी कृष्ण सिटौला, अमरेश कुमार, गगन थापा र प्रचण्ड–बाबुराममा कुनै फरक देख्दैनौं । चितवनमा बाबुराम पक्ष कार्यालय नबेच्ने पक्षमा देखिएकोले एजेन्डागत कार्यगत एकता मात्र हो । क्रान्ति र जनयुद्ध डुबाउने प्रचण्ड–बाबुराम मण्डलीसंगको धुव्रीकरण क्रान्ति विरोधी दक्षिणपन्थी यात्रा हुन्छ ।
दुई माओवादीबीच पार्टी एकताको चर्चा पनि चलिरहेको छ, अहिले संभव छ र त्यो एकता ?
अहिले दुई माओवादी पार्टीबीच हुने एकता क्रान्ति र जनयुद्धप्रतिको अर्को भयानक धोका र अपराध मात्र हुनेछ । अहिले तत्काल त्यसको आवश्यकता र संभावना दुवै छैन । मुठठीभर लोभीपापीहरू गनगन नगरी पेरिसडाँडा गएहुन्छ ।
अहिले समग्र माओवादी आन्दोलन रक्षात्मक चरणमा छ, यसलाई बलशाली बनाउन के गर्नुपर्ला माओवादीहरूले ?
हामी वर्गसंघर्ष उठाउन, निरन्तरतामा क्रमभंग गर्न मेहनत गरिरहेका छौं, जसका कारण क्रान्तिकारी प्रवृतिका विरुद्ध भित्र र बाहिरबाट घेराबन्दी भइरहेको छ । त्यसैले यथास्थितिमा क्रमभंग र पार्टी एकता अहिलेको आवश्यकता हो ।
एमाओवादीबाट अलग बनेर आएको नयाँ माओवादीले यो दुई वर्षमा केही गर्न सकेन भनेर धेरै इमान्दार र क्रान्तिकारी कार्यकर्ताहरू पलायन भइरहेका छन्, यसलाई रोक्न यो पार्टीले के गर्नुपर्ला ?
तपाईंको प्रश्न एक हदसम्म सत्य हो । संसदीय घेरा तोडेर प्रभावकारी वर्गसंघर्षमा प्रवेश गरेर मात्रै त्यसलाई संवोधन गर्न सकिन्छ ।
सिंगो माओवादी आन्दोलन दिनप्रतिदिन कमजोर बन्दैगइरहेको स्थिति छ, दुई माओवादीभित्र नै तीव्र धुव्रीकरण भइरहेको देखिन्छ, यो धुव्रीकरणले माओवादी आन्दोलनलाई कता लैजाला ?
समग्र माओवादी धारा विघटनको संघारमा छ । पुरानो जिर्ण भवन नभत्काएसम्म नया भवन बन्दैन । विघटनपछि फेरि पुर्नसंगठनको प्रक्रिया सुरु हुनेछ । तसर्थ यो धुव्रीकरणलाई दक्षिणपन्थी धारा र क्रान्तिकारी धाराका बीचमा भएको टक्कर भनेर बुझ्नुपर्छ ।
यसका बाबजुद माओवादी आन्दोलनको आगामी भविष्य कस्तो देख्नुहुन्छ ?
नेपालमा साम्राज्यवाद र सामन्तवादविरोधी नया जनवादी क्रान्तिको विकल्प छैन । त्यसको नेतृत्व अरु कुनै शक्तिले गर्न संभव छैन । त्यसैले नेपालमा माओवादी धाराको भविष्य सुन्दर छ
साभार : जनजिब्रो साप्ताहिक
०००

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.