कमरेड अनिलको नयाँ पुस्तक

(कवि,cover anil sirनिबन्धकार तथा नेकपामाओवादीका युवा नेता कमरेड अनिल शर्मा विरहीको नयाँ सिर्जना राष्ट्रियता र राप्ती दुन हालै  प्रकाशनमा आएको छ । यताका दिनहरूमा क्रान्तिकारी वैचारिक प्रकाशनको  क्षेत्रमा एउटा जुधारु मोर्चाको रूपमा  स्थापित समरप्रतिक पत्रिकाद्वारा प्रकाशित यस पुस्तकमा राष्ट्रियता र जनतन्त्रको प्रश्नलाई चिन्तन र चिन्ताको केन्द्रविन्दु बनाइएको छ । यस पुस्तकमा २०६५ सालयता लेखिएका २४ओटा रचनाहरू सङ्कलित छन् । यी रचनाहरू युद्धमोर्चामा लामबद्ध योद्धाहरूको जुलुसझैँ  लाग्दछन् । यहाँ हामीले यसमा सङ्कलित  उदात्त भावावेगले भरिएको रचना सोमेश्वर गढीमा  छचल्किएको देशभक्ति प्रस्तुत गरेका छौँ ।)

सोमेश्वर गढीमा छचल्किएको देशभक्ति

चितवनको दक्षिण सिमाना चुरे पर्वतशृङ्खलाको सोमेश्वर पर्वतखण्ड हो । सोमेश्वर पर्वतखण्डको दक्षिण पानीढलोमा भारतको बिहार प्रदेश पर्दछ । सोमेश्वर पर्वतको उत्तरमा माडीक्षेत्र पर्दछ । दक्षिणतिर भारतको बिहार प्रान्तअन्तर्गत पूर्वी चम्पारण जिल्लाको गोवर्धनवा गाउँ पर्दछ । जहाँ थारू, बोटे, दराईलगायतका आदिवासीहरूको बसोबास छ । यी गाउँहरू दून क्षेत्रअन्तर्गत पर्दछन् । २०६२ सालपछि गोवर्धनवा गाउँको शिर सोमेश्वर पर्वतको दक्षिण पानीढलोमा दसगजा भन्दा पाँच सय मिटरभन्दा कम दूरीमा भारतीय सीमा सुरक्षा बल बसेपछि सो क्षेत्रमा भारतीय अतिक्रमण बढेर गएको छ । धेरै समय अघिदेखि सो अतिक्रमित भूमिमा जाने, केही न केही पहलकदमी लिने कर्तव्यबोध भैरहेको थियो । अझ नेपाली भूमिमा भारतीय पक्षले भौतिक संरचना बनाउन थालेको खबरले त उद्वेलन र आक्रोशको सीमा नाघ्दै थियो । देशभक्त भनिएका दलहरू राष्ट्रियताका विषयमा बोलिरहेका हुन्छन् । तर भारतीय विस्तारवाद निर्णायक ढङ्गले प्रभावित हुने स्तरका कार्यक्रम भने बनाउँदैनन् । भारतले संयुक्त राष्ट्रसङ्घको सदस्यता लिएपछि नेपालले लिनु पर्दैन भन्ने विशेश्वरप्रसाद कोइराला, नेपालको रक्षामामिला भारतले हेर्नु पर्छ भनी बिन्ती भाउ गर्ने राजा त्रिभुवन, कालापानी भारतलाई दिएर पञ्चायती व्यवस्था टिकाउने राजा महेन्द्र, महाकाली सन्धि भयो भने सूर्य पश्चिमबाट उदाएझैं नेपालको आश्चर्यजनक विकास हुन्छ भन्ने नेकपा (एमाले) हुँदै सुरुङ युद्धको घोषणा गरेर प्राणको भीक्षाटन माग्ने प्रचण्डबाबुराम प्रवृत्ति नेपालको राजनीतिमा सुगौली सन्धिपछि यथावत् छ ।

  बबुरो पिँजडाको सुगाले पनि बाँचुन्जेल पिँजडालाई ठुँगिरहन्छ, प्रहार गरिरहन्छ । पार्टीभित्र र बाहिरका सीमाक्षेत्रका देशभक्तहरूलाई परिचालन गरेर केही न केही गर्नुपर्छ भन्ने सोचिरहेको थिएँ । त्यसका लागि अतिक्रमित क्षेत्रको स्थितिका विषयमा आफैंले अध्ययन गरेर स्थितिको सही जानकारी लिनुपर्थ्यो  । कार्यप्रतिको प्रभावकारिता र लगनशीलताका लागि अनुभूतिको गहिराइ अनिवार्य सर्त हो । अनुभूतिको स्तर विषयप्रतिको चेतनास्तरले निर्धारण गर्दछ

जेठ १६ गते घननाथ सापकोटा विकाससहित हामी १९ जना अतिक्रमित नेपाली भूमि सोमेश्वर गढीतिर लागेका थियौं । बघौडा गाउँमा बिहान ८ बजे खाजा खाँदै गर्दा अम्बिका मुडभरी अञ्जनाले फोनमा भारतीयहरूका विरुद्ध एक्लै झडपमा नजाने हो कि ! तपाइँमाथि यति धेरै प्रहार भएको छ । घटना भयो भने तपाइँमाथि नै सबै दोष जान्छ । त्यसैले अवलोकन मात्रै गरेर फर्किने हो कि, सीमा अतिक्रमण तपाईंको मात्रै चिन्ताको विषय होइन, त्यति धेरै जोखिम किन मोल्नेभन्नुभयो । भारतीय अतिक्रमणकारीहरूसँग झडप भएर दुर्घटना होला कि भनेर अम्बिका त्रसित, चिन्तित हुनुहुन्थ्यो । स्ववियु निर्वाचनको चटारोका कारण हामीले माडीतिरका साथीहरू मात्रै लिएर जाने योजना बनाएका थियौं । हामीले साथमा हाम्रो भूमिमा निर्माण गरेका भारतीय भौतिक संरचना नष्ट गर्नका लागि खुर्पा, खुकुरी, हथौडा, घनलगायतका घरेलु साधन बोकेका थियौं । हाम्रो भूमिमा भारतीयहरू हर्कत गर्दैको अवस्थामा भेटिएमा लखेट्ने योजनासमेत बनाएर अघि बढेका थियौं । संस्थागत पहलका लागि प्रयासहरू भैरहेका थिए । त्यो प्रभावकारी भएको थिएन । मलाई लाग्थ्यो देशको माटोमाथि पराइले लुटपाट गर्दा एउटा देशभक्त नागरिक पार्टीको आदेश पर्खेर चुपचाप बस्न सक्दैन । देशभन्दा पार्टी ठूलो हुन सक्दैन ।चितवनको माटोमा जन्मेहुर्केका कारण पनि मलाई भावनात्मक रूपमा सोमेश्वर गढीको अतिक्रमणले पीडानुभूति भैरहेको थियो । त्यसबेला मैले क. विप्लवको सूर्य पूर्वबाट उदाउँछ भन्न पार्टीको परिपत्र हेरिरहनु पर्दैनभन्ने भनाइ सम्झिरहेको थिएँ । काम गर्नुअगाडि हल्ला नहोस् भन्ने हामी चाहन्थ्यौं । त्यसकारण टोलीबाहिर अम्बिका मुडभरी र क. सोनामबाहेक अरूलाई भनिएको थिएन । तर टोलीबाटै बिस्तारै सञ्चारसम्म हल्ला हुँदै गएको थियो । अतिक्रमणकारीसम्म सूचना नपुगोस् भन्ने हाम्रो सोचाइ थियो । बिहान ९ बजे छरछरेको सामुदायिक बनबाट हामी दक्षिणतिर जङ्गलको गोरेटो बाटो हुँदै उकालो लागेका थियौं

छर्छरे गाउँदेखि दक्षिण मितेरीकुञ्जमा नेपाली सीमा सुरक्षा बल राखनका लागि सामुदायिक बन, मध्यवर्ती बन, गाविस सर्वदलिय बैठकसहित सर्वपक्षीय भेलाले सिफारिस गरेको थियो । भारतीय सीमा सुरक्षा चौकी दसगजाबाट पाँच सय मिटरभन्दा कम दूरी र सामरिक दृष्टिले प्रतिकूल भूगोलमा बसेको छ । तर नेपाली सीमा सुरक्षा चौकी ५० कि.मि. भन्दा पर भरतपुर, आँपटारीमा बसेको छ । भारतीय सीमा सुरक्षा बलले प्रत्येक दिन सिमानाको निगरानी गर्छ । चितवन जिल्लामा कार्यालय स्थापना गरेको नेपालको सीमा सुरक्षा बल दुई वर्ष पुगिसक्दा पनि एकपटकसम्म पनि सिमानामा पुग्दैन ।

जरायोमारे घाटको पाखामा २०५६ सालमा आएको भारतीय सीमा सर्भे टोलीले दसगजा भन्दा ५ कि.मि. उत्तर नेपालको बनमा एकतर्फी नक्कली स्तम्भ गाडेको छ । सो स्तम्भमा भारतलेखिएको छ । त्यो स्तम्भ भारतले लुकीचोरी किन गाडेको हो,प्रश्न अनुत्तरित छ । दसगजालाई जरायोघाटसम्म सार्नका लागि भारतले सो स्तम्भ बनाएको जनधारणा छ । त्यो स्तम्भलाई खैरहनी गाउँका देशभक्त युवा सरोज लामिछानेको टोलीले भाँचेर फालेको हुनाले भग्नावशेष (अर्धभाग) मात्र बाँकी रहेछ ।

जरायोमारे घाटबाट केही समय हिँडेपछि हामी उडराउडरी पुग्यौं । त्यहाँ काटिएको मान्छेजस्ता दुई ढुङ्गाका मानव आकृति थिए । छेउमा मान्छेकै टाउकाको आकृति थियो । सल्यानको जारकाटे ढुङ्गाको भन्दा सुन्दर मिथक थारू साथीहरूले सुनाए । दोनका एक जोडी पुनर्विवाह गरेर भागेर माडीतिर लाग्ने क्रममा त्यहाँ पुगेपछि थकाइ मार्दै गर्दा पिछा गर्दै आएका जारले भेटेछन् । त्यसपछि ती दुवैलाई त्यहीं टाउको काटेर फालेछन् । तिनै काटिएका जोडी, दुःखद् प्रेमकथाको साक्षी बनेर उनीहरूको शरीर अझसम्म त्यहाँ रहिरहेको मिथक युरोपियनहरूले विस्तार गरेको प्रेमदिवसभन्दा कम रोचक लाग्दैनथ्यो । मवई खोला र सोमेश्वर गढीको बीचमा उडराउडरी पर्छ भनिन्छ । उडराउडरीबाट सोमेश्वर गढी पुग्न ठाडो उकालो चढ्नु पर्ने रहेछ । गोवर्धनवाबाट पनि सोमेश्वर गढी ठाडो उकालो पर्दछ । त्यसैले थकित उडराउडरी थरक मार्न त्यहाँ बसेको कथन छ ।

 

          माडीका देशभक्त जनताले वर्कत र चेतनाले भ्याएसम्म सोमेश्वर गढी बचाउन निरन्तर मेहनत गरिरहेका छन् । उनीहरूले गढीको दक्षिण पानीढलोमा केही वर्षअघि अङ्ग्रेजी भाषामा सोमेश्वर जाने बाटोभनेर धातुफलक राखेका रहेछन् । त्यो धातुफलकमा नेपालको खैरहनी गाउँ लेखेको थियो । भारतीयहरूले त्यसलाई उप्काएर फालेछन् । त्यो फलक हाल सरोज लामिछानेले नेपालपट्टि टाँसेका रहेछन् । बाटो नीलकण्ठ सापकोटाले मर्मतसुधार गरेका रहेछन् । बाटोमा प्राकृतिक रूपमा बनेको पानी ट्याङ्की रहेछ । त्यो पानीट्याङ्कीबाट जति पानी झिके पनि नघट्ने र कहिल्यै नझिके पनि नबढ्ने अदभूत शक्ति छ भन्ने जनविश्वास रहेछ । हाल भारतीय पक्षले त्यो पानीट्याङ्कीसम्म दाबी गरिरहेको बताइन्छ । पानी लिन आउने भारतीयसँग कर असुली गर्ने सल्लाह ग¥यौं हामीले ।

सोमेश्वर गढीमा पुगेपछि हामी ४५ नम्बर स्तम्भ हेर्न नाकनचुली शिखरतिर गयौं । त्यहाँ पुग्नै कठिन रहेछ । भीरबाट लडिएलाजस्तो, बुट्यान समात्दै हामी शिखरमा पुग्यौं । नाकनचुलीको मुख्य थुम्कोमा चढ्नका लागि काठको भ¥याङ थियो । मचान र भ¥याङ भारतीय सुरक्षा फौजले नष्ट गरेछ । नाकनचुलीको ४५ नम्बर स्तम्भ आधा कि.मि. जति नेपालतिर सारिएको जानकारहरू बताउँछन् ।

नाकनचुलीको ४५ नम्बर स्तम्भ हेरेर हामी कालिका मन्दिरतिर लाग्यौं । सोमेश्वर पर्वतमा थुप्रै मिथकमध्ये सारङ्गीवादकको मिथक पनि रोचक र अर्थपूर्ण लाग्थ्यो । आदिवासीका अनुसार, त्यो बाटो हुँदै सारङ्गीवादकहरू भारतको दुन क्षेत्रमा जान्थे रे । श्राप परेपछि त्यो बाटो हिँड्यो कि मर्न थालेछन् । त्यसपछि सारङ्गीवादकहरू हिँड्न छोडे रे । सायद गोरखातिरका गन्धर्वहरू हिउँदमा माडी हुँदै दूनतिर जाँदा हुन् ।

सोमेश्वर पर्वतको एक ठाउँमा पत्थरमा मानव पाइलाको आकृति थियो । एकजना आदिवासीले त्यो पाइला उज्जैनका राजा विक्रमादित्यकै समकालीन राजा भर्तृहरिको भएको बताए । विद्वान तथा धार्मिक भावनाका राजा भर्तृहरिले नै सोमेश्वरमा शिवालय स्थापना गरेको बताइन्छ । त्यहाँ हाल भग्नावशेष मात्र बाँकी छ । त्यसको रक्षा र पुनर्निर्माण गर्नुपर्नेमा भारतीयहरूले नेपाली भूमिमा नेपालको अनुमति नलिई मन्दिर निर्माण गर्दैछन् । जथाभाबी फालिएकामध्ये एउटा चौडा पत्थरमा वि.सं. १५१५ लेखिएको थियो । डाँडामा यत्रतत्र झिँगटीका टुक्रा, लुम्बिनीकै जस्ता ईंटाका टुक्रा, पत्थरमा कुँदिएका बुर्जा, साँढे, शिवलिङ्ग, चक्र, ढुङ्गामा खोपेका ओखल र भवनका जगहरू देखिन्थे । त्यहाँबाट इँट लगेर खैरहनीमा केहीले घरसमेत बनाएका रहेछन् । त्यहाँ गढी रहेको बताइन्छ । तर त्यहाँ गढीमात्र नभएर दरबार या बस्ती नै भएको हुनुपर्दछ । त्यहाँ महान् प्राचीन सभ्यताका झलकहरू अनुमान गर्न सकिने भग्नावशेषहरू देखिन्छन् । यो क्षेत्र पाँच पाण्डवको नगरी पनि हो । अयोध्याका राजा राम १४ वर्ष बनबास व्यतीत गर्न यही क्षेत्रमा आएका थिए भानिन्छ । रामायणका प्रथम संस्कृत भाषाका लेखक तथा कवि वाल्मीकिको आश्रम पनि यही क्षेत्रमा पर्दछ । वाल्मीकि आश्रम गर्दी गाविसमै पर्दछ । आदिवासी थारू जातिका आदिपुर्खा विक्रमबाबापनि यहीं रहेका छन् । यसर्थ ऐतिहासिक र पौराणिक दृष्टिले प्राचीन मानवसभ्यताका अथाह रहस्य गर्भमा बोकेर त्यो भूभाग बसेको छ, जसको अनुसन्धान र संरक्षण हुन सकेको छैन । हामी कस्तुरीको बास्ना खोज्दै भौंतारिइरहने मूर्ख मृगजस्तै भएका छौं ।

 सोमेश्वर मन्दिर नजिकै रहसो गुरौंको मूर्ति रहेछ, जसको छेउमा बडेमाको ढुङ्गाको डुङ्गा थियो । प्राचीनकालमा माडी तलाउ थियो । रहसो गुरौत्यही डुङ्गा चढेर कसरामा विक्रमबाबाको दर्शन गर्न जान्थे रे । राजा भर्तृहरिले सोमेश्वर कालिकाको मन्दिर स्थापना गरेर रहसो गुरौंलाई प्रथम पुजारी राखेको बताइन्छ । स्थानीय थारू भषामा आहालपदावलीलाई माडभनिन्छ । आहाल क्षेत्रलाई थारू भाषामा माडरभनियो र कालान्तरमा माडरअप्रभंश भएर माडीनामकरण भयो भन्ने भनाइ तर्कपूर्ण थियो । उसबेला माडी हात्ती र गैंडाको आहाल थियो रे । रहसो गुरौंको डुङ्गाभन्दा पश्चिमपट्टि एउटै चट्टानमा गुफा रहेछ । राम बनबास आउँदा त्यही गुफामा बास बसेको जनविश्वास रहेछ । सोमेश्वर पर्वतदेखि दक्षिणपट्टि दून क्षेत्रको बनलाई भारतले बाघ संरक्षण क्षेत्र घोषणा गरेको छ ।

कालिका मन्दिर आसपास मान्छे उडाउला जसरी हावा चलिरहेको थियो । बर्सातले गर्दा बादल कुहिरो बनेर हामीलाई जिस्क्याउँदै माडीतिर कुदिरहेको थियो । पहाडमा बादल कुहिरो बनेर थुम्कासँग लुकामारी खेल्छ भन्ने नजानेका साथीहरू दङ्ग पर्दै थिए । तराईमा चैत वैशाखमा जसरी हावा भारतको दूनतिरबाट उत्तर माडीतिर हानिएको थियो । पहाडतिर भए त्यो स्थानलाई बतासे डाँडा भन्दा हुन् । सोमेश्वर गढीको ऐतिहासिक, पुरातात्त्विक  र प्राकृतिक सौन्दर्यले एकातिर मन पुलकित थियो भने अर्कोतिर भारतीय विस्तारवादको हस्तक्षेपले आक्रोशित थियो । रहसो गुरौंका खलक गर्दीमा अझै छन् । हाम्रो टोलीकी अञ्जु चौधरी रहसो गुरौका खलक भएको सुन्दा अनौठो लाग्दै थियो ।

नेपाल र अङ्ग्रेजका बीचमा सन् १८१४१८१६ सम्म युद्ध भएको थियो । सोही युद्धका क्रममा सीमा क्षेत्रमा सेना तैनाथ गर्ने क्रममा सन् १८१४ तिर मुख्तियार भीमसेन थापाद्वारा खटाइएको नेपाली सेनाले सोमेश्वर डाँडामा गढी निर्माण गरेको कुरा महासेनानी प्रेमसिंह बस्नेतले लेखकसँग बताएका छन् । वीरशमशेरको पालामा सोमेश्वरको डाँडामा छोटी भन्सार अड्डा राखिएको थियो । त्यसपछि चन्द्रशमशेरले सोमेश्वरको भन्सार ठोरी सारेका थिए । रणध्वज थापामार्फत वि.सं. १८६४ जेठ ३ गते रहसो गुरौंका सन्तानलाई गुरौं काम गर्नका लागि राजाको लालमोहर प्रदान गरेका थिए । नेपाल एकीकरणपछि पृथ्वी नारायण शाहले कालिका मन्दिरको पूजा सञ्चालनका लागि गुठीको व्यवस्था गरेको कुरा कवि धर्मराज थापाले बताएका छन् । त्यसको थप अनुसन्धान आवश्यक छ ।

वि.सं. २०५० सम्म सोमेश्वरमा कालिका मन्दिरको भग्नावशेष मात्र थियो । २०४० सालको एक दिन खैरहनीका नीलकण्ठ सापकोटा मितेरी कुञ्जमा गाई चराइरहेका रहेछन् । बछौलीतिरका चारजना मान्छे थकित मुद्रामा झर्दै रहेछन् । उनीहरू कालिका माताको दर्शन गर्न गएका तर मन्दिर नदेखेर निराश भएर फर्केका रहेछन् । त्यसै दिन समाजसेवी नीलकण्ठ सापकोटाको मनमा त्यहाँ मन्दिर बनाउन पाए हुन्थ्यो भन्ने लागेछ । २०२६ सालमा पहिलोपटक त्यहाँ पुगेका निलकण्ठले २०४० सालको मनोकाङ्क्षा २०५० सालमा पूरा गरे । मन्दिर निर्माण भएपछि भारतीय श्रद्धालुहरूको भीड लाग्न थाल्यो । २०६२ सालपछि भारतीय सीमा सुरक्षा चौकी स्थापना भएपछि छापा र विद्युतीय सञ्चार माध्यममार्फत सो क्षेत्र भारतको भएको प्रचार गर्न थालियो । सरकारी योजनामा भारतीय चाप बढ्दै गयो । २०६६ सालमा नेपाली पुजारी नीलकण्ठ सापकोटालाई हातपात गरेर लखेटियो । भेटी लुटेर भारतीयले लगे । नेपाल झल्काउने सबै लेखोट, झन्डा, फलक नष्ट गरे । नेपालको राजधानी पशुपतिमा भारतीय पुजारीको हैकम छ । तर नेपालकै जमिनमा नेपालीले नै बनाएको र परम्परादेखि पुजारी रहँदै आएको सोमेश्वर कालिकाको मन्दिरबाट नेपाली पुजारीलाई सादा पोसाकका भारतीय सुरक्षा फौजले लखेटेका छन् । विष नभएको सर्प र ईख नभएको मान्छे काम लाग्दैन भन्थे पुर्खाहरू । तर हामीमा संवेदनशीलता मर्दै गएको छ ।

वि.सं. २०२० बाट माडीमा पहाडिया मूलको बसोबास हुन थाल्यो । कालिका मन्दिरमा कुन मौजाले के के बलि दिने भन्ने नियम बनाइए अनुसार नै बलि तथा पूजा हुन्थ्यो । पहाडियाहरूको त्यसप्रकारको विधि थिएन । थारू गुरौहरूले विधिपूर्वक पुजा गर्न जोड गरे । तर पहाडियाहरूले मानेनन् । त्यसपछि गुरौहरू त्यता जानै कम गर्न थाले । थारूहरूको उपस्थिति घट्दै गयो । सङ्कटकालका समयमा सुरक्षा चुनौती पनि थपियो । नेपाली घट्दै र भारतीयहरू बढ्दै गए । सोमेश्वर क्षेत्रको रक्षाका लागि न धार्मिक भावना कायम राखियो, न त राष्ट्रियताको भावना । आज फेरि दुवै पैदा गरेर सोमेश्वरमा प्रभाव विस्तार गर्न खोजिएको देखिन्छ । राष्ट्रियता र संस्कृतिको बीचमा कस्तो सम्बन्ध हुनसक्दो रहेछ भन्ने कुरा त्यहाँ छर्लङ्ग देखन सकिन्छ । भारतले धार्मिक भावना भड्काएर सोमेश्वर क्षेत्र कब्जा गर्न उक्साइरहेको छ । भनिन्छ पुँजीवादले पैसाका लागि आमा पनि बेच्दछ र श्रीमतीलाई बेस्यालयमा पनि पठाउँछ । त्यसले राष्ट्रियताको रक्षा गर्ने कुरै भएन । राष्ट्रियताका लागि सामन्ती चेतना पुँजीवादभन्दा अगाडि देखिन्छ । नेपाली राष्ट्रियताका लागि कि त  कम्युनिस्टहरू कि त राजाहरू नै लडेका छन् । पुँजीवाद आफ्नो वर्गचरित्रकै कारण राष्ट्रघाती हुन्छ ।

भारतले नेपालका ७१ स्थानमा सीमा अतिक्रमण गरेको छ । सोमेश्वर पर्वत नेपालभारत सिमानाको सबैभन्दा अग्लो शिखर  (high post) हो । त्यो नाका तिब्बतको केरुङबाट ठोरीभन्दा पनि नजिकको नाका हो । राप्ती र रेवा नदीमा पुल बनिसकेका कारण भारत र चीनलाई १० घन्टा भन्दा कम समयमा सडक सञ्जालले जोड्ने नाका हो सोमेश्वर पर्वत, जुन नाकाबाट प्राचीनकालदेखि आदिवासीहरू उठबस गर्ने गरेका छन् । सोमेश्वरको दक्षिण भारतीय गाउँहरू गोवर्धनवा, रामनगर आदिमा चीनले भारतमा आक्रमण गर्दैछ भन्ने हल्लाहरू पनि हुने गरेका छन् । भारतीय शासकमा पैदा भएको लघुताभासका कारण सामरिक दृष्टिले महत्वपूर्ण उच्चस्थल (high post)  कब्जा गर्ने नियतले सोमेश्वर कालिका मन्दिरसहित त्यो क्षेत्रमा भारतले अतिक्रमण बढाएको देखिन्छ । भारतले आँखा गाड्नुको अर्को कारण सो क्षेत्रको ऐतिहासिक र पौराणिक महत्व हो । ऋषि वाल्मीकिको आश्रम, विक्रमबाबाको कुटी, लवकुशको जन्मस्थल, वाल्मीकि ऋषिको शिक्षा दानस्थल, पाँच पाण्डवको बस्ती, राम बनबास क्षेत्र र रहसो गुरौको बस्ती भएका कारण त्यो क्षेत्रमा प्राचीनकालमा महान् सभ्यता निर्माण भएको हुनुपर्दछ । प्राकृतिक प्रलयले ती नष्ट भई हाल भग्नावशेष मात्र रहेका छन् । हालै सितलपुर गाउँमा १३ औं शताब्दीमा निर्मित मुसलमानहरुको आक्रमणबाट तोडफोड भएको नारायणको मूर्ति फेला परेको छ । त्यसकारण धार्मिक पर्यटनका दृष्टिले त्यो क्षेत्रको ठूलो महत्व छ । भारतीय अतिक्रमणको तेस्रो लालच त्यस क्षेत्रको  प्राकृतिक सौन्दर्य हो । घना जङ्गल, तरेली परेका बनमा गीत गाइरहेका पक्षी र नाचिरहेका पुतलीहरू निकै मनोहारी लाग्छन् । काठमाडौंको त्यत्रो बखान गर्ने भानुभक्तले त्यो स्थल देखन  पाएका भए के भन्दा हुन् ! जेठमा चिसो हावा चलिरहेको शिखरबाट दक्षिणतिर भारतको बिहार, पूर्वी चम्पारणका दून क्षेत्रका गाउँहरू, चुरेबाट धरती चिरेर बहने नागबेली नदी र बन तरेली भूदृश्यहरू शब्दमा उतार्न सकिन्न ।

 माडीको छरछरेबाट उडराउडरीसम्म सडक विस्तार गर्ने, प्रचारप्रसार गर्ने, राष्ट्रिय जागरण सिर्जना गर्ने र भारतीय पक्षसँग सरकारले कूटनीतिक पहल गर्नुपर्छ । सीमा सुरक्षा बल दसगजाबाट भारतीय सीमा सुरक्षा बल जत्तिकै दूरीमा बसेर नियमित निगरानी गर्नुपर्छ । ऐतिहासिक प्रमाण, कागजपत्र, नक्साका आधारमा उठेका प्रश्नको समाधान नहुन्जेल पूर्ववत् स्थितिमा रहन दिइनु पर्दछ । नेपाली भूमिमा नेपालीले नै बनाएको र नेपालीले नै भोगचलन पूजा गर्दै आएको स्थितिमा नेपाली पुजारी लखेट्ने, भेटी लुट्ने, काठ तस्करी गर्ने, नेपालको अस्तित्व झल्कने प्रमाण नष्ट गर्ने, नयाँ भौतिक संरचना बनाउनेजस्ता भारतीय विस्तारवादको ज्यादती स्वीकार्य छैन । माडीका जनता निरन्तर सीमा अतिक्रमणका विरुद्ध लडिरहेका छन् । तर सरकारी पक्ष र बौद्धिक समुदाय रमिते बनिरहेको छ । राष्ट्रियता नारामा होइन,दैनिक जीवनव्यवहार र कर्ममा अभिव्यक्त हुनुपर्दछ । यो पक्ष झनै त्रासदीपूर्ण छ ।

०००

 

 

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.