कमरेड अजिथको रिहाइका लागि अभियान चलाऔँ

maoist_pune_7591

(गम्भीर मुद्रामा क.अजिथ बायाँबाट तेस्रो )

ऋषिराज बराल
भारतीय सञ्चारमाध्यमहरूले कमरेड मुरली कानमपिल्ली अर्थात् कमरेड अजिथ पक्राउ परेको समाचार बडो जोडतोडका साथ बाहिर ल्याएका छन् । कमरेड अजिथ भन्नेबित्तिकै एकजना बौद्धिक चिन्तक तथा भारतीय कम्युनिस्ट पार्टी (माले) नक्सलबारीका नेता भनेर बुझिन्छ । सो पार्टी सन् १९८४ मा गठन भएको ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन’ अर्थात् रिमको घोषणापत्रको पहिलो हस्ताक्षर कर्ता पाटीहरूमध्येको एउटा पार्टी हो । अजिथ सो पार्टीका महत्वपूर्ण नेताका रूपमा स्थापित र परिचित कमरेड हुन् । त्यस समयमा उनको पार्टी भारतमा रिमसित सम्बद्ध प्रमुख पार्टी थियो l

इन्जिनिनयरिङमा स्नातक गरेका अजिथ सम्पन्न र कूटनीतिक क्षेत्रम नाम चलेका परिवारका सदस्य थिए । उनीअन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका राम्रा अध्येता तथा व्याख्याताका रूपमा बढी परिचित छन् । चारू मजुमदारले आरम्भ गरेको माओवादी आन्दोलनबाट प्रभावित कमरेड अजिथ सन् १९७६ मा प्रहरीको खोजीमा परेका प्रमुख नेता थिए । आन्दोलनमा आएको टुटफुटमा  के. भेनुसित केही समय सँगै रहे पनि पछि उनी भाकपा (माले) नक्सलवारी का नेताका रूपमा सक्रिय भए । भाकपा (माले) नक्सलवारी र भारतीय कम्युनिस्ट पार्टी (माओवादी) बीच एक वर्षअघि अर्थात् सन् २०१४ मा पार्टी एकता भएपछि उनी भाकपा (माओवादी) का नेताका रूपमा रहेका थिए । केरला र वरिपरिको क्षेत्रमा राम्रो प्रभाव रहेको भाकपा(माले) नक्सलवारी र भाकपा (माओवादी) बीच पार्टी एकता भएपछि खासगरेर भारतको पश्चिम-उत्तरक्षेत्र, जसलाई भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले ‘पश्चिम घाट विशेष क्षेत्र’ को नाम दिएको छ, माओवादी आन्दोलनले त्यहाँको ग्रामिण र सहरी दुवै क्षेत्रमा निकै राम्रो गति लिएको छ ।
भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले उनको पक्राउका बारेमा हालसम्म कुनै आधिकारिक वक्तव्य प्रकाशित गरेको छैन । तर घटनासन्दर्भ र फोटोलगायत अन्य तथ्यका आधरमा गत सुक्रवार पुणेबाट ३० किलोमीटर नजिकैको अर्को सानो सहर टालेगाउँ दभादेबाटबाट पक्राउ परेका व्यक्ति माओवादी नेता अजित भएको कुरा प्रमाणित भएको छ । स्थानीय प्रशासनले उनलाई एउटा हाउजिङ कोलोनीबाट पक्राउ गरेको भनेर हल्ला गरिए पनि उनलाई अस्पतालबाट अर्का कमरेड २९ वर्षीय इस्माइलका साथ पक्राउ गरिएको कुरा प्रस्ट भएको छ । ६२ वर्षीय अजिथ अङ्गे्रजी भाषाको राम्रो ज्ञान भएको र लेखनपढन तथा प्रकाशनमा विशेष दखल भएको नेताका रूपमा परिचित छन् । कमरेड अजिथ त्यस समयको रिमको प्रकाशन ‘ए वल्र्ड टु विन’ सहित एक कालखण्डमा भारतमा निकै नाम चलेको पत्रिका ‘मासलाइन’ का सम्पादक पनि थिए । ‘ए वल्र्ड टु विन’ को कम्पोसा संस्करणको प्रकाशनमा उनका महत्वपूर्ण योगदान रहेको थियो ।
५ ओटा पुस्तकका लेखक उनले अंग्रेजी तथा मलायलम दुवै भाषामा कलम चलाएका छन् । उनका पुस्तकहरू वैचारिक तथा राजनितिक दृष्टिले निकै महत्वपूर्ण छन् । मलायालममा लेखिएको पुस्तक ‘ल्याण्ड कास्ट, बान्देज’ जस्तै आरसिपि अमेरिकाका नेता बभ अभाकियनको ‘न्यु सिन्थेसिस’ को दार्शनिक र वैचारिक चिरफार निकै महत्वपूर्ण छ । अगनेस्ट अभाकियनिज्म नामको यो पुस्तक निकै महत्वपूर्ण पुस्तक हो, जुन विश्वका अन्य भाषामा पनि अनुवाद भइरहेको छ । प्रचण्ड समूहसित दुई लाइन संघर्षका बेल उनका महत्वपूर्ण रचना अनुवाद भएर ‘दि नेक्स फ्रन्ट’ र ‘समयबद्ध’ मा प्रकाशित भएका थिए । उनका पछिल्ला दुई रचनाहरू ‘ब्रेकिङ दि टाबु अफ ‘ननभाइलेन्स’ र ‘इन्डियन इक्सप्यानसियोनिज्मस् बिग पावर ड्रिम्स’ निकै महतवपूर्ण रचनाहरू हुन् । बभ अभाकियनको उत्तरमाओवादी विसर्जनवाद र र प्रचण्ड–बाबुरामको दक्षिणपन्थी संशोधनवाद नै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोललाई वैचारिक तथा साङ्गठनिक दृष्टिले विसर्जनतर्फ लैजाने कारकतत्वहरू हुन् भन्ने उनको ठहर छ । नयाँ अन्तर्राष्ट्रिय निर्माणका लागि उनको क्रियाशीलता निकै सराहनीय मानिन्छ ।
गत शनिबार उनलाई अदालतमा पेश गरी पुर्पक्षका लागि भनेर सात दिनको म्याद थपिएको छ । ‘आतङ्ककारी’ र अपराधिकाझैं अनुहार कालो पर्दाले ढाकेर र हथकडी लगाएर अदालत लागिएको छ र हिरासतमा राखिएको छ । पत्रकारहरूका साथै आफन्तहरूलाई पनि भेट्न दिइएको छैन। उनलाई आतङ्कवादी गतिविधिमा मुद्दा चलाइंदैछ । उनी एउटा राजनीतिक व्यक्तित्व हुन् र उनलाई त्यसअनुसार व्यवहार गरिनुपर्छ भन्ने आवाज चारैतिरबाट उठेको छ । भारतका बहुर्चित व्यक्तित्वहरू सार गिलानी, अमित भट्टाचार्य, जगमोहनन सिंह, सुखदेव भट्टाचार्य, पिए सेबेस्टियन, रोना विल्सन लगायतका बुद्धिजीवीहरू समाविष्ट रहेको भारतीय बन्दीहरूको पक्षमा लडिरहेको संस्था ‘कमिटी फर दि रिलिज फर पोलिटिकल प्रिजनर्स’ ले उनको रिहाइको जोडदार भाग गर्दै भनेको छ :
“माओवादी बुद्धिजीवी तथा लेखक के. मुरलीलाई उनको सहयोगी सिपि इस्माइलसहित सरकारले पक्राउ गेको कुरा पत्रपत्रिकामा आएका छन् । सरकारले एउटा हाउजिङ कोलोनीबाट पक्राउ गरेको भने पनि उनलाई अस्पतालबाट पक्राउ गरिएको र सात दिनसम्म हिरासतमा राखेर अध्ययन गरिरहेको भनेको छ । के. मुरली मुटु रोगका बिरामी हुन् र उनले निर्वाध रूपमा औषधी–उपचार गर्न पाउनुपर्छ । मुरलीजस्ता बौद्धिक तथा सामाजिक चिन्तकमाथि आतङ्ककारीका झैं जुन किसिमको व्यवहार गरिएको छ, यसको हामी घोर निन्दा तथा भर्त्सना गर्दछौँ र उनलाई जनअधिकारका लागि लडिरहेको बौद्धिक व्यक्तित्वका रूपमा व्यवहार गरियोस् भन्ने माग गर्दछौँ ।” साथै सो समितिले कमरेड अजिथको बिना सर्त अविलम्ब रिहाइको माग गर्दै जनविरोधी कानुन खारेजी गर्न पनि माग गरेको छ ।
यसका साथै भारतमा चलिरहेको माओवादी आन्दोलन दबाउने भारतीय फासिवादी सरकारद्वारा चलाइएको ‘अपरेसन ग्रीनहन्ट’ को विरोध तथा जनताको मुक्ति आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आएको संस्था आइसियसपिडब्लुआइ ले उनको रिहाइ तथा जीवनरक्षाका लागि अभियान चलाउन आह्वान गरेको छ । कमरेड अजिथको गिरफ्तारीको समग्रताका बारेमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को आधिकारिक धारणा समयक्रममा आउला नै । परन्तु विश्वमा चलिरहेको जनमुक्ति आन्दोलनका पक्षधर सबैले कमरेड अजिथको बिनासर्त रिहाइको माग गर्नु सर्वहारावादी अन्तर्राष्ट्रियतावादी पक्षधरता जनाउनु हो ।
नरेन्द्र मोदी सत्तामा आएपछि उनको सरकारले सारा शक्ति भारतमा चलिरहेको माओवादी आन्दोलन दबाउन लगाइरहेको छ र पछिल्लो चरणामा यसले जनहत्याका लागि बदनाम र कुख्यात सलवा जुडूम नामको हत्या अभियानलाई ब्युँत्याएको छ । यतिबेर हामी  भारतीय जनतामाथि फासिवादी मोदी सरकारद्वारा लादिएको युद्ध र हिन्दू फासिवादको विरोध गर्दै भारतीय जेलमा रहेका जि एन. साइबाबा तथा कलाकार हेम मिश्र लगायत बौद्धिक चिन्तकहरूको रिहाइको माग गर्दछौं l हामी प्रस्ट हुनु पर्ने कुरा के छ भने कमरेड अजिथको रिहाइको माग गर्नु भनेको विश्वका उत्पीडित जनताको पक्षमा उभिनु हो । हिजोका दिनमा नेपालका माओवादी नेताहरू कमरेड गौरव तथा कमरेड किरण भारतीय जेलमा रहँदा त्यहाँका न्यायप्रेमी समुदाय तथा मानवअधिकारका पक्षमा लड्नेहरूले जसरी आवाज उठाए, उहाँहरूको रिहाइका लागि विश्व न्यायप्रेमी समुदाय हसरी भौतिक र आत्मिक रूपमा जसरी सक्रिय बन्यो, यो हामी सबैले सिक्नुपर्ने र आत्मसात गर्नुपर्ने विषय हो । तर आफूलाई माओवादी क्रान्तिकारी  भन्नेहरू समेत यस्ता र यस विषयमा जसरी निस्पृह बनेका छन्, यो दुखद संधर्भाका साथै गम्भीर  किसिमले प्रश्न उठाउनु पर्ने विषय हो। आइसियसपिडब्लुआइ ले आह्वान गरेझैँ कमरेड अजिथको जीवन रक्षा तथा अविलम्ब रिहाइका लागि विश्वव्यपी अभियान चलाऔँ ।
०००

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.