कमरेडहरूले चाहिँ आत्मालोचित हुनु नपर्ने ?

Baral-latestऋषिराज बराल

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को साप्ताहिक प्रकाशन वर्गदृष्टिको पहिलो अङ्कमा कमरेड दिनेश शर्माको लेख ‘मिलेरावादको आतङ्क र क्रान्तिकारीहरूको अभिभारा’ को प्रतिक्रियास्वरूप यो टिप्पणी आएको कुरा सबैभन्दा पहिले म प्रस्ट पार्न चाहन्छु ।

सो लेखको उद्देश्य बालदहरू मिलेरवादी-सम्झौतावादी राजनीतिको वकालत गर्दै कसरी प्रचण्ड समूहमा विलीन हुनपुगे भनेर कार्यकर्तालाई प्रस्ट पार्नु खोज्नु रहेको देखिन्छ । तर, खासगरेर इतिहासको मूल्याङ्कन र आत्मसमीक्षाको प्रश्नमा इमानदारीको अभाव खट्किन्छ । विप्लवको स्थिति र बादलको स्थिति फरक हो । बादलहरूको अहिलेको स्थिति भनेको संसदीय राजनीतिमा आत्मसमर्पण हो, विद्रोह होइन । विप्लवजीहरूको आतमसमर्पण होइन, विधि, पद्धति लगायत थरीथरीका सन्दर्भहरू जोड्ने गरिए पनि विप्लवद्वारा गरिएको सम्बन्ध विच्छेद एक किसिमको विद्रोह नै हो । बादलका बारेमा कमरेड दिनेशले जसरी आफ्नो धारणा राख्नुभयो, त्यसैगरी  प्रचण्ड समूहबाट विद्रोह गरेर आएपछि  आफ्ना के–कस्ता कमीकमजोरी रहे, तिनको सङ्केतात्मक रूपमै भए पनि उल्लेख हुनु आवश्यक थियो । यहाँ द्वन्द्ववादको प्रयोग हुन्थ्यो । तर गल्ती र कमजोरी जति अरूको टाउकामा थोपर्ने र आफूलाई दूधले नुहाएको ठान्ने प्रवृत्तिबाट दिनेश कमरेड पनि मुक्त हुनसकेको पाइएन । यो नेपालको कम्युनिस्ट आनदोलनको विशेषता नै बनेको छ ।

कमरेड मोहन बैद्यले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) मा अहिले जेजस्तो परिदृश्य देखापर्यो, यो अप्रत्यासित थिएन । यसको सङ्केत र सन्दर्भ बौद्ध भेलामा नै देखापरेको थियो । त्यतिबेर सबै कुरा बुझ्न नसकिए पनि अब आएर सबै कुरा छताछुल्ल भएका छन्  । संसद् पुनस्र्थापना गरेर हुन्छ कि के गरेर हुन्छ, जसरी पनि सरकारमा जाने ध्याउन्ना बादल, गुरूङ, पम्फा र हितमानको रहेछ । साथै कसरी हुन्छ विधिविधान नीति आदि मिलाएर विस्तारै  पार्टीमा आफ्नो पकड कायम गर्ने ध्याउन्ना विप्लवको रहेछ । मोर्चाका प्रमुखहरू, जिल्लाका इन्चार्जहरूमा विचारको आधारमा होइन, आफूले सिठी बजाउने बित्तिकै कुद्ने पात्रलाई ल्याउने र जिल्ला इन्चार्ज र मोर्चा प्रमुख स्वतः  केन्द्रीय सदस्यका लागि योग्य हुने भनेर खरिपाटी बैठकपछि विप्लव कमरेडले बनाएको विधिविधान र योजनाको गुह्य पनि लामो समयसम्म टिक्न सकेन । सबैका आआफना दाउ छताछुल्ल भए ।

यी दुई थरी प्रवृत्तिका बीचमा मध्यपन्थी जस्तो देखिने अर्को धार थियो । मिलाएर लानुपर्छ भन्ने उदारवादी सारतत्व बोकेको यो धारका कमजोरीका कारण बादल प्रवृत्तिले नजानिँदो किसिमले पार्टीभित्र अतिक्रमण गर्नथाल्यो र यसलाई क्रस गर्ने नाममा ‘युवाहरूबाहेक अरू केही होइन, बूढाहरूले गरिखाँदैनन्’ भन्ने भावका साथ विप्लव प्रवृत्ति विकसित हुनथाल्यो । पार्टीमा विचारको नेता हुनुपर्थ्यो, नेतृत्वको संरचना ‘एकमा तीन’ हुनु पर्थ्यो तर पार्टी अनुभववाद र उमेरवादको रोइलोमा फस्न थाल्यो । बादल–गुरुङको संसद्वादी धार र विप्लवको उमेरवादी–अराजकतावादी धारका विरुद्ध प्रहार गर्दै क्रान्तिकारी धार सशक्त रूपमा आउनुपर्थ्यो ।  परन्तु यसो नभएर यहाँ मेलमिलाप र मध्यपन्थी सम्झौतावादी प्रवृत्तिले काम गर्यो । फलस्वरूप किरण कमरेड चाहिँ मध्यपन्थी सारसङ्ग्रहवादी नेताजस्तो र विप्लव चाहिँ क्रान्तिकारी नेताजस्तो देखिने वातावरण पैदा भयो । समस्या  यहीँनेर रह्यो । अर्थात् दुवै प्रवृत्तिका विरुद्ध सङ्घर्ष गरेर अगाडि बढ्न नसक्नु, उल्टो बादल प्रवृत्तिलाई फस्टाउने अवसर दिनु किरण कमरेडको प्रमुख कमजोरी रह्यो ।

दोस्रो संविधानसभामा भाग लिने कि नलिने भन्ने विषयमा निकै लामो बहसछलफल भयो । बादल गुट अनेक परिपञ्च मिलाएर संविधान सभामा भाग लिने तयारीमा थियो । विप्लवजी कमरेडहरूसहित हामी अर्थात् कमरेड असारे, कमरेड अनिल शर्मा ‘विरही’  लगायतका साथीहरू (हामीहरू पोखरा बैठकसम्म पनि  विप्लवजीको कित्तामा थिएनौँ, हाम्रो फरक धार थियो, किरण–बादलको लखेटाइले हामीलाई विप्लवको कित्तामा पुर्याएको मात्र थियो ।) संविधान सभाको चुनावमा भाग लिनु हुँदैन भन्नेमै थियौँ । अहिले बादललाई ‘मिलेरवादी’ को संज्ञा दिने दिनेश कमरेडहरू बादलकै वरिपरि नाँच्नमा गौरव गरिरहनुभएको थियो ।

स्थितिको गम्भीरतालाई आकलन गरेर केन्द्रीय समितिको बैठक पोखरामा राखिएको थियो । कमरेड विप्लवले पहिलो चोटि सैन्य दस्ताबेज प्रस्तुत गर्नुभएको थियो, तर त्यसमा जनयुद्ध अझ दीर्घकालीन जनयुद्धको चर्चा थिएन, अमूर्त खालको थियो—नाम मात्रको सैन्य दस्ताबेज ।  संविधान सभाका बारेमा पोलिटब्युरो बैठकले नै एउटा धारणा बनाएको थियो, पोखरा बैठकले त्यसलाई थप सुदृढ बनायो । संविधान सभामा भाग लिएर संसदीय राजनीतिमा तर मार्न खोज्नेहरूका लागि पोखरा बैठक चुनौती साबित भयो । यसमा कमरेड विप्लवको भूमिकाको सराहना गर्नुपर्छ । उहाँ यस मामिलामा दृढताका साथ उभिनुभयो र हामी सबैले उहाँलाई साथ दियौँ  । संविधान सभामा भाग लिएको भए ‘मिलेरवाद’ को अभ्यासमा को को हुन्थे भन्न सकिँदैन । दुइटा बुँदा, संविधान सभामा भाग लिने र प्रचण्डसित एकता गर्ने कुरालाई पोखरा बैठकले ठाडै खारेज गरिदियो । साथै संविधान सभालाई सशक्त मात्र होइन, सशस्त्र बहिष्कार गर्ने निणर्य गर्यो  ।  यो  निकै टाउको दुखाइको विषय थियो । यो ‘सशस्त्र’ पदावलीले धेरैको टाउको दुखायो । अरू नामहरू पनि थिए, तर ‘सशस्त्र बहिष्कार’ भन्नु हुँदैन भन्नेमा विष्णुपुकार श्रेष्ठ, लेखनाथ न्यौपाने र ईश्वरचन्द्र ज्ञवालीको नाम चाहिँ मलाई सम्झना छ । निकै चर्काचर्की पर्यो  । अनिल कमरेडको सन्दर्भमा बादल असन्तुलित मानसिकताका साथ प्रस्तुत भए । बादलले बोलेको कुराका थप बहस गर्न पाउनुपर्छ भनेर कमरेड अनिल शर्मा म लगायतले आवाज उठायौँ ।  हामीहरूलाई बोल्न दिइएन । यसलाई म दुई लाइन सङ्घर्ष भनिहाल्दिन, तर  परिवेश र परिस्थितिले सिङ्गो पार्टीलाई एकातिर किरण–बादलको कित्ता र अर्कोतिर विप्लवको कित्तामा विभाजित गरायो ।

बैठक सकेर काठमाडौँ आउन पाएको छैन प्रतिशोध र बदलाभावका शृङ्खलाहरू सुरु भए । पोखरा बैठकमा वैचारिक सङ्घर्षमा उभिएका हामीहरूलाई लक्षित गर्दै “दस जना उग्रवादीहरूलाई ठीक पार्नुपर्छ” भनेजस्ता कुराहरू खुला रूपमै सुनिनथाले । यसमा कमरेड अनिल र मेरो नाम प्राथमिकतामा थियो । पार्टीका प्रशिक्षणमा बादल असन्तुलित मानसिकताका साथ प्रस्तुत भए । गौरव बन्चरो लिएर मेरो टाउकामा हान्नथाले। मैले पोखरा बैठकपछि अङ्ग्रेजीमा एउटा लेख लेखेर नेक्स्ट फ्रन्ट ( www.thenextfront.com) मा पोस्ट गरेको थिएँ : ‘सिसी मिटिङ : वान स्टेप फरवार्ड’  (CC Meeting:   One Step Forward) त्यसमा मैले भनेको  थिएँ :

बैठकअघि आफूलाई महासचिवको नजिक हुनुको दाबी गर्ने केन्द्रीय समितिका वरिष्ठ सदस्यहरू संविधान सभाको निर्वाचनमा भाग लिनुपर्छ भनेर वकालत गरिरहेका थिए । बैठकपछि, संविधान सभाको चुनावमा भाग लिनुपर्छ भन्ने यस्ताहरू अँध्यारो गुफाबाट बाहिर आएका छन् । यो बैठकले उनीहरूलाई दिनको उज्यालोमा ल्याएको छ । अब कोही पनि यस विषयमा भ्रममा रहनु आवश्यक छैन ।  बैठकको निर्णयले तिनीहरूलाई पनि ठूलो नोक्सानी पुर्याएको छ, जो पार्टीलाई चुनाव आयोगमा दर्ता गराउने वकालत गरिरहेका थिए । यति मात्र होइन, पार्टी एकीकरणका लागि बन्द कोठामा खेलिएका फोहरी खेलहरूको पनि अब अन्त्य भएको छ । क्रान्तिकारीहरूले यस्ता गलत प्रवृत्तिमाथि विजय प्राप्त गरेका छन् ।”

यसैलाई आधार बनाएर ममाथि कारबाही गरियो र त्यसको लगत्तै कमरेड अनिललाई । पोखरा बैठकको स्पिरिट अनुसार लेख्नु नै हाम्रो अपराध थियो । बादलका दाहिने हात मानिने ‘पथिक’  लगायतले जे गरे पनि, जे लेखे पनि क्ष्यम्य हुने र हामीले ओठ चलाउँदा पनि टाउकोमा घन बजार्ने स्थिति आयो । काठमाडौँ आउनेबित्तिकै पोखरा बैठकको निर्णयमा फेरबदल गरियो । ‘सशस्त्र बहिष्कार’ लाई ‘सशक्त बहिष्कार’ मा झारियो । कार्यालयको बैठक बसेर पोखरा बैठकले गरेका निर्णयहरू उल्टाइयो र ‘राष्ट्रिय सहमति’ खोज्न थालियो ।  बहिष्कारको बेलामा हात गुमाउने कलाकार साथीलाई क्रान्तिकारी उत्साह दिनुपर्नेमा उपेक्षा गरियो, ठीक र बेठीकको बखेडा निकालेर “क्रान्तिकारी  देखिन गरेको थिइस् खुच्चिउँ” भनेजस्तो गरियो । यो काम सबैभन्दा बढी ‘नेवा राज्य समिति’ ले गर्यो  र यसको इन्चार्ज कमरेड दिनेश शर्मा हुनुहुन्थ्यो । हामीले त त्यतिबेरै बादल प्रवृत्तिलाई ‘छद्म संशोधनवादी’ प्रवृत्ति भनेका थियौँ । मैले कम्युनिस्ट आउटलुकमा लेख पनि लेखेको थिएँ यसबारेमा । तर अहिले बादललाई ‘मिलेरावादी’ भन्ने दिनेश कमरेडहरू मेरो लेखको विरोध गर्दे बादलको वरिपरि फन्का मारिरहनु भएको  थियो ।

दिनेश कमरेडले बादललाई समयमा चिन्न सकिएन भन्ने पीडा व्यक्त गर्नुभएको छ । २०७० पुसमा केन्द्रीय समितिको बैठक बस्ता “मैले पोखरा बैठकको स्पिरिट अनुसार लेख्दा म माथि कारबाही किन गरियो” भनेर प्रश्न उठाएँ । त्यतिबेर जनआस्था साप्ताहिकमा प्रकाशित मेरो अन्तर्वार्ताको समेत उल्लेख गरेर कारबाही ठीक छ, अझ पुगेन भन्दै “बुद्धिजीवीहरूलाई बालाजु औद्योगिक  क्षेत्रमा श्रमशिविरमा लगेर बन्द गर्नुपर्छ” भन्ने तपार्इँ नै होइन र दिनेश कमरेड ? तपाईँले संशोधनवादीलाई त चिन्नु भएन, भएन, क्रान्तिकारीलाई पनि चिन्न सक्नुभएन । चिन्न सक्नुभएको भए, तपाईँका नेताहरूलाई चिनाउन सक्नुभएको भए कम्तीमा पनि असारे, अनिल र बरालहरू सङ्घर्ष गरेर निर्माण गरेको घर छाडेर जाने थिएनन् होलान् । जतिबेर हामी अर्थात् कमरेड असारे, कमरेड अनिल र म बादल प्रवृत्तिका विरुद्ध उभिएका थियौँ, तपार्इँ ढाल बनेर बादल प्रवृत्तिका पक्षमा उभिनुभएको थियो ।  ‘मिलेरवाद’ को मलजल र गोडमेलमा तपाईँ र तपाईँहरूको भूमिका कस्तो रह्यो भन्ने कुराको प्रश्न सोध्ने अधिकार हामीलाई छैन र ? छ नि ।  असारे, अनिल,  बराललाई बढीभन्दा बढी  कारबाही गर्नुपर्छ भन्नेमा ‘मिलेरावादीहरू’  मात्र होइन, गौरव र  सागरहरू पनि थिए भन्ने कुरा सबैलाई थाहा छ ।

दिनेश कमरेड ! अहिले तपाईँले बडो सैद्धान्तिक कुरा उठाउनु भएको छ । अलिकति फरक विचार राखेपछि विप्लवको मान्छे हुने, बहसछलफल गरेपछि हेडक्वाटर विरोधी हुने परिपाटीले वैचारिक बहसको वातावरण हराउँदै गयो र पार्टीभित्रको जनवादलाई कमजोर तुल्याउँदै गयो । पार्टीमा खासखास व्यक्तिहरू हाबी भए । प्रतिशोध र असहिँष्णुताको मानसिकताले क्रान्तिकारी धारलाई कमजोर तुल्यायो र बादल प्रवृत्तिलाई ढलीमली गर्ने वातावरण दियो ।  रातारात बादल प्रवृत्ति ‘मिलेरावादी’ प्रवृत्तिमा फेरिएको होइन । सबैले छातीमा हात राखेर सोच्ने बेला आएको छ । किरण कमरेडको सम्झौतावादी–मध्यमार्गी व्यवहार पनि एकहदसम्म ‘मिलेरावाद’ का लागि जिम्मेवार रह्यो । एउटालाई हातखुट्टा बाँधेर कोठामा बन्द गरियो र अर्कालाई निर्वाध रूपमा मैदानमा विरचरण गर्न दिइयो । यस्तो पनि जनवाद हुन्छ ? कसले हुर्कायो ‘मिलेरावाद’ लाई ? विप्लवले ? असारेले ? अनिलले अथवा बरालले ? उत्तर आफैँसित सोध्नोस्, आफैंभित्र खोज्नोस् दिनेश कमरेड !  कमरेडहरूले पछिल्लो समयमा बादल गुटको आत्मसमर्पणवादका विरुद्ध सङ्घर्ष गर्नुभयो, यो सह्राहनीय छ ।  तर वैचारिक कुरा त देखावटी मात्र हुन्, मूल कुरा जोड र कोण नमिलेर एकता नभएको हो, भन्ने बुझाइबाट कार्यकर्तालाई मुक्त पार्नुपर्ने जिम्मेवारी अझै छ भन्ने कुरालाई तपाईँहरूले गम्भीरतापूर्वक लिनु आवश्यक छ ।

दिनेश कमरेडले आफ्नो लेखमा लेखनुभएको छ :

“…वादलको घोर अवसरवादी चरित्रलाई समयमा चिन्न नसक्दा क्रान्तिले पुनः एकपटक धोका खान बाध्य भयो । पार्टीको महासचिव स्तो तहमा रहेका व्यक्तिहरु नै मिलेराँवादी चिन्तनबाट प्रभावित भएको अवस्थामा क्रान्ति अगाडि बढ्न सक्दैनथ्यो, त्यो बढेन पनि । यो प्रवृत्ति अगाडि नै एक्पोज भएको थियो भने त्यो राम्रो हुन्थ्यो ।”

यहाँ झूठ मात्र होइन, कमजोरी पनि लुकाइएको छ । बादल क्रान्ति गर्न नेकपा–माओवादीमा आएका थिएनन् । उनी त प्रचण्डले प्रधानमन्त्रीमा आफ्नो नाम सिफारिस गरेनन् भनेर आक्रोसित भएर आएका थिए । त्यत्रो वैचारिक सङ्घर्षमा कहाँ थिए उनी । खरिपाटी बैठकमा उनी कहाँ उभिएका थिए ? पालुङ्टारमा उनी कहाँ थिए ? कमरेड ! सारा दोष बादललाई लगाएर पुग्दैन, कहाँनेरी कमजोरी भयो, सबै कुराको लेखाजोखा र समीक्षा आवश्यक छ । भोलि थप ‘मिलेरवादीहरू’ नजन्मेलान् भन्ने के ग्यारेन्टी छ र ?

हिजो विप्लवले गर्दा पार्टीका नीति योजना लागू गर्न दिइएन/सकिएन भनियो । आफ्नो अकर्मण्यता विप्लवमाथि थोपरियो । अहिले फेरि बादलले गर्दा पार्टी अगाडि बढेन भनिएको छ । उसोभए के कमरेड किरण र गौरव नाम मात्रका अध्यक्ष–उपाध्यक्ष हुन्,  थपना मात्र हुन् ? के उहाँहरूको कुनै भूमिका छैन/रहेन ? यो भनाइले त किरण–गौरव दुवै अक्षम नेता हुन् पार्टी हाँक्न नसक्ने भन्ने पो प्रमाणित हुन्छ  । कम्तीमा कमरेड किरणको सन्दर्भमा स्थिति यस्तो हो जस्तो लाग्दैन ।

दिनेश कमरेडले “यो प्रवृत्ति अगाडि नै एक्पोज भएको थियो भने त्यो राम्रो हुन्थ्यो ” भनेर लेखनु भएको छ  । समस्या यहीँ छ । जसले देखायो उसलाई डन्डा लगाएर भगाउनुभयो, तपाईँहरूमा देख्ने क्षमता भएन ।  जहाज डुबेर नाकसम्म पानी आउन थालेपछि मात्रै तपाईँहरूलाई होस आयो । ‘मिलेरावादी’ प्रवृत्ति  पोखरा बैठक र दोस्रो संविधान सभाको सेरोफरोमै खुलेर आएको होइन र ? पोखरा बैठकलाई उल्टाएर अगाडि सारिएको कथित ‘राष्टिय सहमति’ को नारा र चुनावमा भाग लिन गरिएको रोइकराई ‘मिलेरावाद’ को जस्केलो थिएन र ? यस्ता सन्दर्भहरू पछिका दिनमा पनि आउँनेछन् । मोर्चा गठन गरेर चुनाव आयोगमा दर्ता गर्ने कुरा पनि आएका छन् ।  एकताका नाममा आएको तप्काका बारेमा भनिरहनु आवश्यक छैन ।  बाँकी रहेको तप्का पनि हिजो बादलकै सुरक्षाकवच बनेको तप्का हो ।

त्यसैले दिनेश कमरेड ! चुनौतीहरू सकिएका छैन्न, बरु आरम्भ भएका छन् । तपाईँहरूको राष्ट्रिय भेलाको दस्ताबेजबारे थाहा छैन । त्यहाँ आलोचना–आत्मालोचना र इतिहासको समीक्षाको पाटो छ/छैन अथवा कस्तो छ, त्यो पनि थाहा छैन ।  तर दिनेश कमरेडको यो लेखको स्पिरिटले क्रान्तिकारी आशावादलाई प्रोत्साहित गर्दैन । बुद्धनगरका कमरेडहरूले अरूमाथि विशेषण थोपर्नुभन्दा, अथवा “यो प्रवृत्ति अगाडि नै एक्पोज..” भनेर खाइखुइ गर्नुभन्दा पहिले आफ्नो टाउकोमा आफैँले आगो लगाउने हिम्मत गर्नु जरुरी छ । हामीले निर्मम आत्मसमीक्षा गर्नैपर्छ । यही नै चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको मूल्यबोध र आत्मसातीकरणको बाटो हो ।

 

विप्लव कमरेडले जसरी सम्बन्ध विच्छेद गर्नुभयो, त्यसप्रति मेरो सहमति रहेन । विप्लव कमरेडले नेपाली क्रान्तिका लागि जुन कार्यदिशा अगाडि सार्नुभयो, त्यसलाई मैले कार्यदिशा नै ठानिन/ठान्दिन । विप्लव कमरेडहरूले सम्बन्ध विच्छेद गर्ने बेलामा मैले साँघु  साप्ताहिकमा “कमरेड किरणको वैचारिक निष्ठा र क्रान्तिप्रतिको प्रतिबद्धता र कमरेड विप्लवको क्रियाशीलताबाट मात्र पार्टी अघि बढ्न सक्छ,” भनेको थिएँ । नामै किटेर मैले बादलबाट पार्टी चल्दैन भनेको थिएँ । म अहिले पनि कमरेड किरण र कमरेड विप्लव एकै ठाउँ रहनुपर्छ भन्ने मानसिकता र मान्यता राख्छु । विप्लव समूहमा रहेको जनशक्तिको क्रान्तिकारी उपयोग र स्वयं कमरेड विप्लवको स्पिरिटले सही दिशा समात्नका लागि पनि यो आवश्यक छ भन्ने मेरो ठहर हो ।

आजको मूल प्रश्न भनेको  माओवादी झन्डाको रक्षाको प्रश्न हो । त्यसै यसको रक्षा हुँदैन । वर्गसङ्घर्षको टेढोमेढो बाटो भएर अघि नबढी धरै छैन । समयले यतिखेर नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र यसको मूल नेतृत्वबाट गम्भीरताको अपेक्षा गरेको छ । इतिहासबाट शिक्षा लिएर क्रान्तिकारी आशावादका साथ अघि बढ्नुको विकल्प छैन । हामी आशावादी हुनैपर्छ । कम्तीमा म आशावादी छु ।

०००

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.