अर्थात् नालायकहरूको ‘लायक’ सरकार

R.R.Baralऋषिराज बराल
प्रधानमन्त्री खड्गप्रसाद ओली भारतबाट फर्केका छन् र उनको भारत भ्रमणको सफलता र असफलतालाई लिएर थरीथरीका टीकाटिप्पणीहरू भएका छन् । परन्तु सफलता र असफलताका जेजस्ता आधारहरू खोजिएको छ, त्यसमा वैज्ञानिक आधार पाइँदैन । संयुक्त विज्ञप्ती आउनु/ नआउनुलाई नै सफलता र असफलताको आधार मान्न सकिँदैन । संयुक्त विज्ञप्ती आएका कतिपय भ्रमण पनि अर्थनबर्थका भएका छन् । इतिहासले भन्छ : सत्ताधारीहरूका लागि सफल भएका भ्रमणहरू आम जनताका लागि असफल साबित पनि भएका छन् । भ्रमणको सफलता र असफलतालाई संयुक्त विज्ञप्तीमा सीमित पार्र्नु भनेको विषयवस्तुको गम्भीरतालाई न्यूनीकरण गर्नु हो ।
प्रश्न नियत र बुझाइको हो । प्रश्न भारतीय दादागिरी र राष्ट्रहितप्रतिको अडानको हो । यो दादागिरीप्रति यो भ्रमण कहाँनेरी उभियो ? मूल प्रश्न यहीँनेर छ । यथार्थतः केपी ओली नुहाइधुवाइ गरेर तेल घसेर, लुगा फेरेर, क्रिम पाउडर दलेर चिटिक्क पारेर भोकै पेट घर पठाइएका पाहुनाजस्ता भएका छन् । भारतीय सत्ताधारीहरूको अहिलेको व्यवहारले देखाएको यथार्थ यही नै हो । प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण सम्बन्ध सुधार्नका लागि मात्र हो भनेका थिए । यो सम्बन्ध कति सुध्रियो कति सुध्रिएन, व्यक्तिगत रूपमा मात्र सुध्रियो कि मुलुकको हितसहित सुध्रियो भन्ने कुरा समयले प्रस्ट पार्दै जाला । यो ‘सम्बन्ध सुधार’ सित यताका ५ महिनामा नेपाली जनताले देखेको र भोगेको सत्य अब व्यवहारमा कसरी देखिन्छ, सबैले हेर्न चाहेको कुरा चाहिँ यही हो । विगतमा बदनाम बनेको र अहिले धोइपखाली गर्न थालिएको ओलीको राष्ट्रवाद अबका दिनमा कसरी प्रकट हुन्छ, यसका लागि समयलाई पर्खनु पर्ने हुन्छ ।
नेपाली जनताको निरन्तर लडाइँ भारतीय नवउपनिवेशवादी प्रवृत्तिका विरुद्ध हो । सम्बन्ध सुधार्ने अथवा सुध्रेको भन्नुको अर्थ नेपाल भारतको एउटा प्रान्त होइन, एउटा स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न मुलुक हो भन्ने कुरा भारतीय सत्ताधारीहरूले व्यवहारकै तहमा बुझ्ने कि नबुझ्ने भन्ने हो । भारतीय शासक वर्गले शब्दमा स्वीकार गरेजस्तो गरे पनि व्यवहारमा यस यथार्थलाई हिजोका दिनदेखि नै स्वीकारेको छैन । जब नेपाली जनताले नेपाल एउटा स्वतन्त्र सार्वभौम मुलुक हो भनेर राष्ट्रिय स्वाभिमानीताको झण्डा उठाए, जब जन दबाबकै कारणले किन नहोस्, राष्ट्रिय स्वाभिमानप्रति नेपालका सत्ताधारीहरूले अलिकति भने पनि अडान देखाए, त्यसपछि सम्बन्ध बिग्रेको छ र भ्रमण ‘असफल’ भएको छ । वास्तवमा भ्रमण सफल भयो भन्दा कतै राष्ट्रघात त भएन ? भनेर आशङ्कित हुनुपर्ने यथार्थ इतिहासले प्रस्तुत गरेको छ । “नेपालका सबै नदीनालाहरू भारतका पनि साझा हुन्” भनेर ‘सफल’ पारिएका भ्रमणहरू पनि हाम्रा सामु छन् भन्ने यथार्थलाई हामीले बिर्सनु हुँदैन ।
प्रधानमन्त्री ओलीले मोदीसितको ४५ मिनेटको विशेष भेटघाटमा के के कुरा राखे, भेटघाटमा सन्दर्भमा ‘सम्बन्ध सुधार’ का लागि के के खस्रा–चिल्ला कुरा भए, के के बाचाकबोल गरियो, त्यो दुई जनाबाहेक अरूलाई थाहा हुने कुरा भएन । तर भारतीय सत्ताधारीहरू, त्यसमा पनि मोदीको भावभङ्गी, बोली र व्यवहारले यो भेटघाट ‘फलदायी’ भएको छ भनेर ठोकुवा गर्ने आधार देखिँदैन । “तिमीहरू हामीले भनेअनुसार चल्नुपर्छ, चलेनौ… अब पनि चलेनौ भने…”—यही हो भारतीय यथार्थ ।
भ्रमणका क्रममा गरिएका केही बुँदागत सम्झौतालाई लिएर त्यति ठूलो प्रश्न उठाउनुपर्ने स्थिति देखिँदैन । मूल कुरा भित्री भेटघाटले ठूलो अर्थ राख्दछ । चोतर्फी रूपमा बदनाम भएपछि मात्र भारतले नाकाबन्दी खोलेजस्तो गरेको हो, यो मोदी सरकारको नेपाल र नेपालीप्रति देखाएको सदासयता होइन । २००७ सालदेखि नै भारत के चाहन्छ भन्ने कुरा प्रस्ट छ । २०४६ सालको यथार्थ पनि सबैका सामु छ र १२ बुँदे सहमति पनि सबैका सामु प्रस्ट छ । मूलतः भारतले यही १२ बुँदेसित सम्बद्ध आफ्नो भूमिका चाहेको हो । पानी, भूगोल (सुस्ता, महेसपुर, कालापानी, लिपुलेक) बन्देजहीन नागरिकता, भारत आश्रित आर्थिक नीति, सुरक्षाप्रति आश्वस्त हुने नाममा नेपालका उसको सैन्य उपस्थिति र उसका दलालहरूको सरकार– यी भारतका कुनै पनि सरकारका साझा स्वार्थका विषय हुन् । नेपालको चुरेउताको दक्षिण क्षेत्र आफ्नो बनाउन भारतीय काङ्ग्रेस आइको २० बर्से अभियान–योजना सार्वजनिक भइसकेको हो र मोदी सरकार भिन्नै रूप र शैलीमा त्यही अभियानलाई पूर्णता दिन चाहन्छ भन्ने कुरा यताको सन्दर्भले प्रस्ट पारेको छ । यसका लागि ऊ नयाँ तारतम्य मिलाउने तथा नयाँ क्लाइन्टहरू तयार पार्ने काम गर्दैछ । महन्त ठाकुरहरू मात्र नभएर बाबुराम भट्टराई र सिके राउतहरू यसैका नयाँ अवतार हुन् ।
के कुरा सत्य हो भने नेपाली जनता सङ्घीयताको पक्षमा छैनन्, अझ पहिचानवादी जातीयतावाद र क्षेत्रीयतावादी पाखण्डपनको पक्षमा त छँदै छैनन् । नेपाली जनता नेपालमा क्रिश्चियन धर्मको बढ्दो विस्तारप्रति पनि एकदमै चिन्तित छन्, तर यसको अर्थ नेपाली जनता हिन्दूवादी फासिवाद र इतिहासले रक्षानमा फ्यालेको राजतन्त्रको पुर्नस्थापनाको पक्षमा छन् भन्ने पनि कदापि होइन । हिजो नाकाबन्दीको समयमा भारतीय पत्रिका ‘इन्डियन एक्सप्रेस’ मा आएका कुराले भारत के चाहन्छ भन्ने कुरा प्रस्ट पारेको छ । साथै एकादेशका राजा ज्ञानेन्द्रको बैंकक, सिङ्गापुर र दिल्ली भमणको चक्कर र यताका दिनमा कमल थापाको बढ्दो चुरीफुरीलाई पनि नेपाली जनताले गम्भीरताका साथ नियालिरहेका छन् । यसरी हेर्दा प्रधानमन्त्री ओलीको भ्रमणको सफलता असफलतासित थुप्रै कुरा गाँसिएका छन् र भ्रमण ‘सफल’ भयो भन्दा उल्टै सशङ्कित हुनुपर्ने स्थिति छ ।
नेपालको अहिलेको संविधान जन संविधान होइन र यो सरकार जनसरकार पनि होइन । र पनि यसलाई लिएर भारतले वितण्डा मच्चाइरहेको छ । नेपालप्रतिको भारतीय राजनीतिक, आर्थिक र सामरिक स्वार्थ पूरा हुने किसिमले संविधान बनोस्, उसको भूमिका बुझिने गरी देखियोस् भन्ने नै भारतीय विस्तारवादको चाहना हो । मधेसका भारतीय दलालहरू निमित्त मात्र हुन्, यी लालुका हरुवाचरुवा मात्र हुन् भन्ने कुरा मोदीहरूलाई पनि थाहा छ । तर मोदी सरकारले तिनीहरूमार्फत नेपाली स्वाभिमानीताका विरुद्ध जेजस्तो व्यवहार गर्यो , भ्रमण ‘सफल’ पार्ने नाममा नेपालका शासक वर्गले बिर्से पनि नेपाली जनताले यो पीडा, यो अपमान कदापि बिर्सने छैनन् । नेपाली जनतालाई पीडा त भयो, तर नेपालको राष्ट्रिय स्वाधीनता कुल्चदै दिल्लीका दलाल र लालुका हरुवाचरुवा बनेर मधेसका कथित नेताहरू जसरी प्रस्तुत भए, यसले उनीहरूको असली अनुहार सबैले बुझ्ने गरी उदाङ्यिो । भारतीय विस्तारवाद र मधेसका कथित नेताहरूका बारेमा बच्चादेखि बुढासम्मले राम्रोसित बुझ्ने मौका पाए । फेसबुक र इन्टरनेटको दुनियाँमा रमाउने आजको युवा पुस्ताका लागि यस पल्टको नाकाबन्दी व्याहारिक शिक्षा बन्यो । नेपाल र नेपाली जनताका दुस्मन को को रहेछन् भन्ने कुरा प्रस्ट भयो । भारतीय तिरङ्गा छातीमा बोकेर केकस्ता मान्छेहरू सिंहदरवारभित्र छिरेका रहेछन् भनेर राजेन्द्र महतोदेखि बाबुराम भट्टराई सबैको अनुहार प्रस्ट भयो ।
गर्व गनुपर्छ नेपाली स्वाभिमानी जनताप्रति, सम्मान गर्नुपर्छ यो सरकारले नेपाली जनतालाई । यसपल्ट नेपाली जनताले राष्ट्रियताको पक्षमा अभुतपूर्व धैर्यता प्रदर्शन गरे । भोकै मर्ने, तर नझुक्ने दृढता र इच्छाशक्ति प्रस्तुत गरे । सरकारलाई ऊर्जा दिए । यो अहिलेको सरकार तथा प्रधानमन्त्री ओलीप्रतिको समर्पण भाव तथा संविधानको स्वागत नभएर भारतीय विस्तारवादको हेपाहा तथा मिचाहा प्रवृत्ति विरुद्धको प्रतिबद्धता थियो । यो, नेपालको झण्डा खुट्टाले कुल्चेर भारतीय राष्ट्रगान गाउने कुपितहरू विरुद्ध राष्ट्रिय ऐक्यबद्धता थियो । गम्भीरताका साथ ओली सरकारले बुझ्नुपर्छ, जनताले अब धेर्य गर्ने छैनन् । जे जे भने पनि अहिले पनि इन्धन समस्या, मूलतः ग्याँसको समस्या सहज भएको छैन । कालाबजारियाहरू, भ्रष्ट डिपोवालाहरू मनपरि गरिरहेका छन् र सरकार वक्तव्य दिएर कुम्भकर्णे निद्रामा छ । सत्य कुरा के हो भने जनताले सरकार हुनुको बोध गर्न सकेका छैनन् । यस्तो लाग्छ ‘अख्तियार दुरूपयोग आयोग’ र आयल निगमले सरकार चलाइरहेका छन् । कम्तीमा पनि ऊर्जा, आपूर्ति र गृह मन्त्रालयको कामकारबाही हेर्दा यसो भन्न बाध्य हुनु परेको छ ।
काम केही छैन, ५/५ जना उपप्रधानमन्त्रीहरूले राज्यको ढुकुटी रित्याइरहेका छन् । बालकोटदेखि सिंहदरवार र बालुवाटारसम्म अनेक नाममा अर्थनबर्थका सल्लाहकारहरूको पल्टन तैनाथ गरिएको छ, कार्यकर्ता भर्तीकेन्द्र खुलेको छ सिंहदरवारदेखि बालुवाटारसम्म । सरसरती हेर्दा यो संसद् नै अयोग्यहरूको प्रयोगशाला हो र तीमध्ये छानिएका ‘योग्यहरू’ यो सरकारमा सामेल भएका छन् भन्नुपर्ने अवस्था छ । कुर्सी फाल्नेहरूदेखि कुर्सी भाँच्नेहरू मात्र नभएर ओली सरकारका मन्त्रालयहरू क्रिश्चियन धर्म प्रचार केन्द्रमा परिणत भएका छन् । यो सरकारमा एकाध केही सम्झनलायक पात्रहरू होलान्, तर हरेक पार्टीभित्रका अक्षम तर नेताका प्यारा मान्छेहरू मात्र यस सरकारका लागि लायक बनेका देखिन्छन् । उपराष्ट्रपति तथा सभामुखका लागि मात्र होइन, प्रचण्डसित मन्त्री हुनलायक मान्छे जति सबै विस्थापित भइसकेछन् भन्ने यथार्थ पनि प्रमाणित भएको छ । त्यसैले अहिलेको सरकारलाई नालायक मन्त्रीहरूको ‘लायक’ सरकार भन्नु परेको स्थिति छ । यी सबै कुरालाई गम्भीरताका साथ आत्मसात गरेर राष्ट्रिय स्वाभिमानीताको जगमा उभिएर समस्या समाधानको दीर्घकालीन तथा अल्पकालीन उपाय खोज्नुमा नै ओली सरकारको सफलता तथा असफलता निहित छ ।
अहिले पनि नेपाली जनताले छातीको पीडालाई हत्केलाले थिचेर सहिरहेका छन् । तर नेपाली जनताले भोग्नु परेको राष्ट्रियता तथा जनजीवीकाका समस्यालाई ठीक ढङ्गले हल गर्नेतर्फ पहल नगरे वर्गसङ्घर्षले नयाँ दिशा लिनु स्वाभाविक छ । यो विज्ञानको नियम हो । यो लडाइँ राष्ट्रियता र जनतन्त्र दुवै मोर्चामा तीव्र बन्ने छ । एक थरीले दुस्मनका सामु आत्मसपर्ण. गरे पनि नेपाली जनता सङ्घर्षका सबै रूपहरू अँगाल्न सक्षम छन्, बन्दुक कहाँ, कहिले र कसरी उठाउनुपर्छ भन्ने कुरा उनीहरूलाई राम्रोसित थाहा छ । सरकारको सफलता र असफलताको लेखाजोखा गर्नेहरूले यसप्रति पनि ध्यान दिनु जरुरी छ ।
०००

You can leave a response, or trackback from your own site.

One Response to “अर्थात् नालायकहरूको ‘लायक’ सरकार”

  1. Ajay Sapkota says:

    “एक थरीले दुस्मनका सामु आत्मसपर्ण. गरे पनि नेपाली जनता सङ्घर्षका सबै रूपहरू अँगाल्न सक्षम छन्, बन्दुक कहाँ, कहिले र कसरी उठाउनुपर्छ भन्ने कुरा उनीहरूलाई राम्रोसित थाहा छ ।”—डा. ऋषिराज बराल

    ओलीले जत्ति पनि राष्ट्रियतामा अडान राख्न नसक्ने, ओलीले कोठामै भारतको विरोध गरेपनि कोठामै भएपनि भारतको विरोध गर्न नसक्ने माओवादी पार्टी हाम्रा देशमा रहेछन् भन्ने प्रस्ट देखियो ।

    भारतले नाकावन्दी लगाउँदा ओलीको युवासंघ विरोध उत्रन हुने माओवादीका जनवर्गीय संगठन केवल औपचारिकतामा मात्र विरोध प्रदशन गर्ने जस्ता अकल्पनीय गम्भीर घटनाक्रमहरु हामीले देख्यौं ।
    क्रान्तिकारी पार्टीले पहलकदमी लिन नपर्ने …अरुले राष्ट्रघात गरिहाल्छन् त्यसपछि त हामीले नै हो बोल्ने भनेर ओछ्यानमा सुत्न पर्ने अनि हामीले त्यस्तै त्यस्तैले क्रान्ति गर्छन् भनेर आशावादी हुन पर्ने …….बहादुर कार्यकर्ताका कायर र डरछेरुवा नेता आजको यथार्थ हो ।

Leave a Reply

See real websites hosted and built by iPage customers.