‘एकीकृत क्रान्तिको सिद्धान्त’ को चिरफार

new photoऋषिराज बराल
विषयप्रवेश
नेपाल कम्युनिस्ट पार्टी-माओवादीका केन्द्रीय सचिव कमरेड नेत्रविक्रम चन्द ‘विप्लव’ ले राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्न तयार पार्नुभएको दस्ताबेजको सरसरती अध्ययनपछि तयार पारेको प्रतिक्रिया ‘मान्य छैन विप्लववाद’ मा मैले दस्ताबेजले सातओटा विषयमा मेरो ध्यानाकर्षण गरेको कुरा उल्लेख गरेको थिएँ । यहाँ ती सबै बुँदाको विस्तृत चर्चा सम्भव नभए पनि नेपाली क्रान्तिको कार्यदिशासम्बन्धी उहाँले प्रस्तुत गर्नुभएको धारणा ‘एकीकृत क्रान्तिको सिद्धान्त’ मा केन्द्रित भएर मैले आफ्नो धारणा प्रस्तुत गरेको छु । ‘एकीकृत क्रान्तिको सिद्धान्त’ लाई कतिपय कमरेडले ‘नयाँ आविष्कार’ भनिरहेको अवस्थामा यसको चिरफार गर्नु सान्दर्भिक नै हुन्छ भन्ने मलाई लागेको छ ।
दस्ताबेजको आरम्भमै उहाँले उल्लेख गर्नुभएको छ : दलाल पुँजीवादी राज्यसत्ता विरुद्ध सङ्घर्ष गरौँ, जनवादी राज्यसत्ता निर्माणको दिशामा अघि बढौँ ।
उहाँले यहाँ ‘नयाँ जनवादी राज्यसत्ता’ नभनेर ‘जनवादी राज्यसत्ता’ मात्र भन्नुभएकाले उहाँको समग्र विश्लेषण तथा नेपाली क्रान्तिको कार्यदिशासम्बन्धी संश्लेषण ‘नयाँ जनवादी क्रान्ति’ तर्फ नभएर ‘जनवादी क्रान्ति’ तर्फ प्रवृत्त छ भन्ने बुझाइका साथ मैले ‘एकीकृत क्रान्तिको सिद्धान्त’ का सम्बन्धमा आफ्नो धारणा प्रस्तुत गरेको छु ।
विषयव्याख्या
१.कमरेड विप्लवले ‘एकीकृत क्रान्तिको सिद्धान्त’ नै नेपाली जनवादी क्रान्तिको दिशा हो भन्नुभएको छ । सिद्धान्त भनेपछि यसले दार्शनिक र सैद्धान्तिक–वैचारिक आधार र धरातल खोज्छ । यो मार्क्सवाद–लेनिनवाद र माओवादले निर्देशित गरेको क्रान्तिको सिद्धान्त हो अथवा त्यो भन्दा अलग, अथवा त्यसैमा विकसित सिद्धान्त हो, यसले प्रस्टता खोज्छ । साथै ‘एकीकृत क्रान्तिको सिद्धान्त’ पदावलीले क्रान्तिका लागि अवलम्बन गरिने बाटो, माध्यम भन्दा वैचारिक स्वरूपलाई बुझाउँछ । अङ्ग्रेजीमा ‘एकीकृत’ लाई ‘युनिफाइड’ भन्नेगरिएको छ र समग्रमा यसले ‘थ्योरी अफ युनिफाइड रिभोलुसन’ भन्ने अर्थ राख्छ । यसबाट यो ‘थ्योरी अफ न्यु डेमोक्रेटिक रिभोलुसन’ भन्दा भिन्न हो भनेर बुझ्नुपर्ने हुन्छ । वास्तवमा यो अमूर्तजस्तो, विद्रोह र जनयुद्धको मिलान अथवा दुवैको फ्युजन भनिएको पो हो कि भनेजस्तो पनि लाग्छ । सिद्धान्तका आधारमा कार्यदिशा तय गर्ने हो, सिद्धान्त आफैँमा कार्यदिशा कसरी हुनसक्छ भनेर प्रश्न उठ्नु स्वाभाविक छ ।

 

२. हामीले अनुभव गरेको कुरा के हो भने आधारभूत रूपमा एउटा कार्यदिशा किटान गरेपछि सङ्घर्ष र व्यवहारका क्रममा कतिपय कुरा त्यसमा परिमार्जन हुन्छन्, यसमा केही विकास हुन्छ र केही फेरबदल पनि हुन्छ । परिस्थितिअनुसार यसो गर्नु पनि पर्छ । अन्यथा त्यहाँ यान्त्रिकतामा फस्ने डर हुन्छ । सङ्घर्षका क्रममा यसलाई परिमार्जित गर्न सकिए पनि आधारभूत रूपमा चाहिँ यो प्रस्ट हुनुपर्छ । कार्यदिशा भनेको क्रान्ति सम्पन्न गर्ने बाटो, माध्यम र तरिका हो । हिँडेपछि बाटो थप प्रस्ट हुँदैजान्छ भन्ने कुरालाई स्वीकार गर्नसकिए पनि आधारभूत पक्ष हिँड्नुअघि नै तय हुनुपर्छ । नत्र हावामा तीर चलाउनुजस्तो, बाटो थाहा नभएको जङ्गलमा यता र उता भौँतारिनुजस्तो मात्र हुन्छ ।

 

३. ‘एकीकृत क्रान्तिको सिद्धान्त’ पदावलीको प्रयोग र अवधारणा दुवै दृष्टिले कार्यादिशाको किटानका सम्बन्धमा अन्योलता उत्पन्न भएको छ । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न माओले अघि सारेका ‘क्रान्तिका तीन जादुगरी हतियार’ को प्रयोग आफैँमा शक्तिहरूको एकीकृत प्रयोग हो । तर ‘एकीकृत क्रान्तिको सिद्धान्त’ को सन्दर्भ र सम्बन्ध यससित भएको बुझिँदैन । उहाँको दस्ताबेजमा यसको चर्चा पनि छैन l बरु त्यसको विकल्पमा आएजस्तो बुझिन्छ । ‘एकीकृत क्रान्तिको सिद्धान्त’ लाई विद्रोह र जनयुद्ध अर्थात् रूसी मोडेल र चिनियाँ मोडेलको विकसित अथवा अन्तर्घुलित (fusion) स्वरूप भन्ने हो भने पनि यसको सैद्धान्तिक तथा व्यावहारिक खाका प्रस्ट हुँदैन । हामीले कार्यदिशाका सम्बन्धमा यस्तो सपाट र व्याख्याको माग गर्ने पदावली होइन, प्रस्ट र व्यावहारिक प्रयोगका लागि पनि सान्दर्भिक पदावलीको प्रयोग गर्नुपर्छ ।

 

४. दस्ताबेजमा कार्यदिशा र लेनिन र माओको नाम लिँदा १०० र ६० वर्षको सन्दर्भ दिएर त्यसको सान्दर्भिकता समाप्त भएको र त्यसको ठाउँ ‘एकीकृत क्रान्तिको सिद्धान्त’ ले लिएको भन्न खोजिएको छ । यसो हो भने यसले झन् वैचारिक तहमै भ्रम उत्पन्न गराउँछ । रिमसित विगतमा गाँसिएका र हाल माओवादलाई स्वीकार्ने युरोपेली माओवादी पार्टीहरूले समेत “पुँजीवादी मुलुकहरूमा रूसी मोडलको विद्रोहको कुरा गर्दागर्दैवषौँ बितेर गएको हुनाले अब पुँजीवादी–साम्राज्यवादी मुलुकमा पनि त्यहीँको विशिष्टतामा ‘दीर्घकालीन जनयुद्ध’ चलाउनु आवश्यक छ” भन्ने कुरालाई बहसमा लागिरहेका छन् । अहिले साम्राज्यवादी देशहरूले समेत खास देशमा आफ्नो प्रभुत्व कायम गर्न छापामार शैलीबाट प्रवेश गरेको र युद्ध विस्तार गरेको सन्दर्भमा हामीले प्रस्टताका साथ माओले विकसित गरेको मान्यता र दसबर्से जनयुद्धमा हामीले आर्जन गरेको अनुभव, शिक्षा र प्रगतिलाई समेत अगाडि राखेर प्रस्टताका साथ नेपाली नयाँ जनवादी क्रान्तिको कार्यदिशा किटान गर्नुपर्ने हुन्छ । नेपाली नयाँ जनवादी क्रान्ति व्यावहारिक पक्षमा ‘क्रान्तिका तीन जादुगरी हतियार’ को एकीकृत प्रयोग गर्दै मूलतः ग्रामिण क्षेत्रलाई आधार बनाएर अघि बढ्नुपर्ने हुन्छ । त्यस्तो बेला यसले नेपाली विशिष्टताको जनयुद्ध को स्वरूप ग्रहण गर्नु स्वाभाविक र अनिवार्य दुवै हुन्छ । विप्लव कमरेडको दस्ताबेज सारतत्वका दृष्टिले ‘नेपाली विशिष्टताको विद्रोह’ तर्फ प्रवृत्त छ । यो सेना निर्माण गरेर र सहरी मध्यम वर्गलाई समेटेर गरिने सहरी विद्रोह हो भन्ने बुझिन्छ र उहाँका पछिल्ला व्याख्याले पनि यसैको पुष्टि गर्छ ।

 

५. माओवादको नाम लिँदै दक्षिणपन्थीहरू जनयुद्धको क्रान्तिकारी कार्यदिशालाई छाडेर चुनाव र ‘विद्रोह’ मा सीमित भएको अवस्थामा कार्यदिशाका सम्बन्धमा हामी प्रस्ट हुनैपर्छ, यो अमूर्त हुनु हुँदैन । जनसेना र जनसत्ताको कुरा हामीले उठाएका छौँ, तर यतिले मात्र पुग्दैन, योसित सम्बद्ध अन्य कडी पनि यसैसित जोडिएर आउँछन् । जनसेना र जनसत्तासित युद्धको चरित्र, आधारइलाका र रक्षाको प्रश्न पनि सँगसँगै जोडिएर आउँछन् । जनसेना ‘घुमन्तु विद्रोही’ सेना बन्न सक्तैन र माओले भनेझैँ ‘विप्लववाद’ (phutschism) मा फस्न पनि सक्तैन । सेना निर्माण नयाँ कुरा होइन । अपराधी गिरोह, जमिनदार र इस्लामिक अतिवादीहरूले पनि सेना निर्माण गरेका छन् । मूल कुरा यसलाई कुन दर्शन, विचार, राजनीति र सैन्य नीतिका आधारमा परिचालन गर्ने भन्ने हो । यहाँ उद्देश्य, रक्षा र परिचालनको प्रश्न प्रधान बन्छ । विप्लव कमरेडको दस्ताबेजमा आधारइलाकाको आवश्यकताबिना जनसत्ताको सन्दर्भ छ । यसको रक्षा गर्दा प्रतिरोधको चरित्र स्वाभाविक रूपमा छामापार शैलीमा परिणत हुन्छ र यसले दीर्घकालीन चरित्र ग्रहण गर्नु स्वाभाविक हुन्छ । चाहे पनि नचाहे पनि हुने भनेको यही नै हो । परन्तु उहाँको सैन्यनीति माओवादको सट्टा फोकोवादको नजिक छ ।

 

६. जनसत्ता र जनसेनाको अर्थ आधारइलाकाको निर्माण पनि हो र यो भनेको सारतः छापामारसँगसँगै नियमित सेनाको सङ्गठित स्वरूप पनि हो । यस अर्थमा प्रारम्भमा प्रधान गाउँ नै बन्छ र नेपाली समाजको विशेषताअनुसारको सर्वहारा वर्ग र निम्नमध्यम वर्गको भूमिका महत्वपूर्ण हुन्छ । मध्यम वर्ग (सारतः मध्यम वर्ग, यसको पनि नेपाली समाजको विशिष्टतामा विश्लेषण गर्नु आवश्यक छ, माओले चीनको विशिष्टतामा मध्यम वर्गलाई राष्ट्रिय पुँजीपति वर्गसित जोड्नुभएको छ ।) को भूमिकालाई क्रान्तिमा उपयोग गर्ने कुरामा विवाद छैन, विद्रोहको अन्तिम अवस्थामा यसको भूमिका प्रभावकारी बनाउनु पनि पर्छ, तर यो नेपाली क्रान्तिको महत्वपूर्ण र निर्णायक शक्ति होइन भन्ने कुरामा चाहिँ प्रस्ट हुनु आवश्यक छ ।
७. ‘दीर्घकालीन जनयुद्ध’ भन्नेबित्तिकै यो लामो नै हुन्छ अथवा यसलाई लामो नै बनाउनुपर्छ भन्ने होइन । यो त सङ्घर्ष र युद्धको स्थिति तथा तत्कालीन राष्ट्रिय–अन्तर्राष्ट्रिय स्थितिमा भर पर्ने कुरा हो । नेपाली समाजको विशिष्टतामा जनयुद्धलाई बढीभन्दा बढी अल्पकालीन बनाउनु नै वैज्ञानिक हुन्छ । नेपालजस्तो मुलुकमा सत्ता कब्जा गर्ने अन्तिम अवस्थामा त्यसले प्रमुख दुस्मनका विरुद्ध सबैलाई समेटेर सहरी छोटो अवधि (मूलतः छोटो अवधि) को विद्रोहात्मक स्वरूप लिन्छ र लिनैपर्ने हुन्छ । यही नै माओवादी मान्यता हो । नेपालजस्तो मुलुकमा जनयुद्धसित नजोडिएको लामो अवधिको सहरी विद्रोह टिक्न सक्ने स्थिति छैन र सैद्धान्तिक र व्यावहारिक दुवै दृष्टिले यो सम्भव पनि छैन । नेपालमा लेनिनले भनेजस्तो अथवा सहरमा सीमित र केन्द्रित विद्रोह सम्भव छैन, न त चेले अघिसारेजस्तो सैन्यनीति नै सान्दर्भिक र वैज्ञानिक हुन्छ । यो आत्मघाती काम मात्र हुन्छ, यो विप्लववाद (phutschism) मा फस्छ । नेपालमा विद्रोहको आधार, यसको जग माओवादी जनयुद्ध मात्र हुनसक्छ, जनयुद्धको निरन्तरतामा मात्र यसले विद्रोहको उत्कर्षता प्राप्त गर्छ । जनयुद्ध निरन्तर अगाडि बढ्दै जाँदा यसले ‘संयुक्त सङ्घर्षको कार्यप्रक्रिया’ अँगाल्छ र अन्त्यमा यो आम जनविद्रोहमा परिणत हुन्छ । यसमा सचेतन प्रयासको भूमिका महत्वपूर्ण हुने कुरा पनि प्रस्ट छ । यो समग्र प्रक्रियामा प्रधान र निर्णायक पक्ष जनयुद्ध नै हुन्छ र त्यसैगरी सहरी मध्यम वर्ग होइन, नेपाली विशिष्टताको सर्वहारा वर्ग र निम्न–मध्यम वर्गको भूमिका महत्वपूर्ण हुन्छ ।

 

८. अघि बढ्ने कि पछि हट्ने भन्ने कुरा ग्रामिण वर्गसङ्घर्षको विकास र गतिका साथै दुस्मनको स्थितिमा पनि भरपर्छ । यसले सफलता प्राप्त नगरे अघि बढ्न एककदम पछि हट्नुपर्ने पनि हुन्छ र जनयुद्धले दीर्घकालीन चरित्र पनि ग्रहण गर्नसक्ने र ग्रहण गर्नुपर्ने स्थिति हुनसक्छ । त्यसैले आवेगपूर्ण भाषामा “६० वर्षअगाडिको चीनको यान्त्रिक अनुकरण गरेर” भन्दै माओले ६० वर्ष अँगालेको युद्धनीति काम लाग्दैन भनेर ठाडै खारेज गर्ने होइन, जनसेना र जनसत्ताको कुरा गर्दा नेपालको सन्दर्भमा अन्ततः उपलब्धिहरूको रक्षा र विकासका लागि दीर्घकालीन जनयुद्धको बाटो लिनैपर्नै हुन्छ । यो सैद्धान्तिक तथा व्यावहारिक दुवै दृष्टिले अपरिहार्य बन्छ । त्यस किसिमको स्थितिको आकलन नगरी तयार गरिने सैन्यनीति र आधारइलाका बिनाको नियमित सेनाको निर्माण आत्मघाती कार्य मात्र हुन्छ । यो अर्को किसिमको विसर्जनवाद हो । त्यसैले जब जनसेना र जनसत्ताको कुरा गरिन्छ, नेपालजस्तो मुलुकमा अन्ततः दीर्घकालीन जनयुद्धको स्थितिमा जानुपर्ने पनि हुन्छ भन्ने कुरालाई पनि त्यत्तिकै गम्भीरताका साथ लिनुपर्ने हुन्छ ।

९ . कार्यदिशाको किटानका सम्बन्धमा दस्ताबेजमा पेरिस कम्युनदेखि माओसम्मको सन्दर्भलाई असान्दर्भिक ठहर गर्न जुन भाषा र शैली प्रस्तुत गरिएको छ, यसले प्रश्न मात्र उठाएको छैन, आशङ्का पनि जन्माएको छ । त्यहाँ मार्क्सदेखि माओसम्मले विकसित गरेका कार्यदिशासम्बन्धी मान्यतालाई नै असान्दर्भिक र अवैज्ञानिक ठहर गर्न खोजेको बोध हुन्छ । यो नकार गर्ने कुरा नभएर इतिहासबाट शिक्षा लिँदै अघि बढ्ने कुरा हो । सिद्धान्तमा ती सार्वभौम र सार्वकालिक छन् र प्रयोगका दृष्टिले ती खास देशको विशिष्टतामा देशकाल सापेक्षतामा प्रयोग हुन्छन् । कार्यदिशासम्बन्धी मालेमाका ऐतिहासिक मूल्यलाई ठाडै खारेज गर्नु भनेको इतिहासबाट नसिक्नु र शिक्षा नलिनु हो । वास्तवमा ‘एकीकृत क्रान्तिको सिद्धान्त’ ठाउँठाउँमा जनयुद्ध पदावलीको सन्दर्भ आए पनि यसको व्याख्या माओले अघि सारेको जनयुद्धको सान्दर्भिकतामा होइन, ‘जनताको युद्ध जनयुद्ध’ का रूपमा भएको छ । विप्लव कमरेडले भनेको सेनाको स्वरूप र चरित्र प्रस्ट छैन र उहाँले भन्नुभएको ‘जनयुद्ध’ हामीले बुझ्दैआएको जनयुद्ध पनि होइन । सारमा भन्नुपर्दा विप्लव कमरेडले अघि सारेको कार्यदिशा सहरी विद्रोह हो, जनयुद्ध होइन । उहाँले यो शब्दको लोकप्रियतालाई समात्न खोजेको मात्र देखिन्छ ।

 

१०. प्रश्न भाषा अथवा नियतको होइन, प्रश्न प्रस्टताको हो । सबै कुरा उदाङ्गो पार्नु उचित नभए पनि न्युनतम तहमा यसलाई प्रस्ट पार्नैपर्ने हुन्छ । प्रश्न अरूलाई बुझाउने कुरामा मात्र सीमित छैन । प्रश्न आफैँ प्रस्ट हुने कुरासित पनि छ । कार्यदिशा भनेको क्रान्ति सम्पन्न गर्ने बाटो हो । यो हिँड्दै गरौँ र जेजस्ता समस्या आउँछन् हल गर्दै जौँ भन्ने कुरा होइन । यहाँ तयारीदेखि नै थुप्रै नीति र योजनाहरू गाँसिएका हुन्छन् । बाटो नै प्रस्ट नभई हिँड्नु भनेको विसर्जनवादमा फस्नु हो । त्यसैले नेपाली नयाँ जनवादी क्रान्तिको कार्यदिशा नेपाली विशिष्टताको जनयुद्ध हो भन्ने कुरामा प्रस्ट हुनुका साथै यसको कार्यशृङ्खलाबारे हामी प्रस्ट हुनैपर्छ । यसो नगरी हामीले सपाट रूपमा ‘एकीकृत क्रान्तिको सिद्धान्त’ मात्र भन्ने हो भन्ने यसले थुप्रै भ्रम, अस्पष्टता र अन्योल उत्पन्न गर्दछ ।
११. यो पनि अन्ततः सारसङ्ग्रहवादी, अमूर्त र ‘जनयुद्धको जगमा जनविद्रोह’ को व्याख्याजस्तै हुन्छ । ‘जनयुद्धको जगमा जनविद्रोह’ लाई पनि नयाँ र मौलिक साथै रूस र चीनको भन्दा फरक भन्दैआइएको हो । आरम्भमा जनयुद्धमा जाने अनि त्यसैमा टेकेर विद्रोह गर्ने पनि भनिएको हो । यसो हेर्दा कुरा त सही हो, जाने जनयुद्धमै हो र यसमार्फत विद्रोहलाई नयाँ किसिमले घनीभूत पार्ने हो । यो त नयाँ कुरा नै हो–चीन र रूसमा नभएको भन्ने पनि लाग्छ । यसरी हेर्दा ‘जनयुद्धको जगमा जनविद्रोह’ त ठीक हो, समस्या व्यवहारमा नजानु मात्र हो पनि भन्न सकिन्छ । मेरो विचारमा यथार्थ पनि यही नै हो । व्यवहारमा नजानु नै यससित सम्बद्ध मूल समस्या थियो र हो । पदावलीलाई मात्र लिने हो भने ‘एकीकृत क्रान्तिको सिद्धान्त’ भनेर भनिएको कार्यदिशा ‘जनयुद्धको जगमा जनविद्रोह’ भन्दा बढी अमूर्त र सारसङ्ग्रहवादी छ । यो बाटो र विधि हो कि सिद्धान्त र विचार हो भन्ने कुरा नै प्रस्ट छैन । यो ‘नयाँ जनवादी क्रान्ति’ भनेजस्तै नेपाली क्रान्तिको अर्को सिद्धान्तका रूपमा व्याख्या भएको छ । कार्यदिशा जटिल, अमूर्त र भ्रमपूर्ण हुनुहुँदैन ।
१२.मार्क्सवादका आधारभूत मूल्यहरू, राज्य र क्रान्तिसम्बन्धी मार्क्सदेखि माओसम्मले स्थापित र विकसित गरेका मान्यताहरू आज पनि सही र सार्वभौम प्रवृत्ति र चरित्रका छन् । परन्तु तिनको प्रयोग खास देशको विशिष्टता र मौलिकतामा हुने र गर्नुपर्ने यथार्थ पनि प्रस्ट छ । मार्क्स-एङ्गेल्सपछि लेनिन, स्टालिन र माओ हुँदै मार्क्सवादको वैचारिक तथा व्यावहारिक विकास यसै प्रक्रियाद्वारा हुँदैआएको छ र यसलाई थप विकसित गर्ने जिम्मा २१ औँ शताब्दीका क्रान्तिकारीहरूमा छ । मार्क्सदेखि माओसम्मका मूल्य र उपलब्धीलाई नकार गर्ने तथा सोझै खारेज गर्ने किसिमको भाषा तथा अभिव्यक्ति आफैँमा घातक हुन्छ भन्ने कुरालाई हामीले गम्भीरतापूर्वक लिनु आवश्यक छ ।
१३. राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति आदिलाई मनोगत किसिमले अघि सारेर समय फेरिएको नाममा हिजोको समयको सिद्धान्त र व्यवहार अब काम नलाग्ने भन्दै र देशीय विशिष्टता र मौलिकताका साथै नयाँ मोडेलका नाम लिंदै कतिपय पार्टीहरूले मार्क्सवाद–लेनिनवाद–माओवादका आधारभूत मूल्य नै परित्याग गरेर पार्टी र क्रान्तिलाई विसर्जनको स्थितिमा पुर्याएको यथार्थप्रति पनि हामी सचेत र गम्भीर हुनु आवश्यक छ । ‘नयाँ’ र ‘मोडल’ का नाममा मार्क्सवादको भ्रष्टीकरण गरेर थुप्रै मार्क्सवादहरू बनाएर मार्क्सवादलाई बहुलवादमा पतन गराउने प्रवृत्तिका विरुद्ध हामी हिजोका दिनदेखि लडिरहेका छौँ भन्ने कुराप्रति पनि हामी गम्भीर हुनु आवश्यक छ । हाम्रो दसबर्से जनयुद्ध पनि धेरै पुरानो कुरा होइन र यो पनि ठ्याक्कै चिनियाँ नक्कल नभएर हामीले आफ्नै मौलिकता र विशिष्टतामा प्रयोग गरेर सामान्यबाट विशिष्टता र गुणात्मकतातर्फ अघि बढेको कुरा पनि यहाँ स्मरणीय छ । अवश्य पनि नेपाली समाजमा केही परिवर्तन भएको छ, सहरको भूमिका पहिलेभन्दा बढेको छ । पछिल्ला दिनमा थुप्रै जटिलताहरू थपिएका छन् । बाह्य शक्तिहरूको हस्तक्षेप खुलारूपमा देखिएको छ । सानो मुलुक लामो अवधिसम्मको युद्ध धान्ने स्थिति नहुन सक्छ । यस्ता कुराप्रति ध्यान दिने कुरामा विमति छैन । तर ‘नयाँ’ कार्यदिशाका नाममा विचारधारात्मक भ्रम उत्पन्न गर्ने तथा विगतका उपलब्धीहरूलाई नै नकार्ने कुरा चाहिँ स्वीकारयोग्य हुनसक्तैन । थुप्रै प्रयोगहरू काम नलागेपछि फिलिपिन्स कमुनिस्ट पार्टीले दीर्घकालीन जनयुद्धको कार्यदिशा समातेको कुरा पनि यहाँ स्मरणीय छ ।
१४. ‘एकीकृत क्रान्तिको सिद्धान्त’ को कार्यदिशालाई नयाँ भन्न खोजिएको हो भने पनि पदावलीका दृष्टिले पनि यो नयाँ होइन । सरसरती हेर्दा यो माओको सैन्य नीतिबाट भन्दा चेग्वेवाराको सैन्य नीति तथा डेब्रेको ‘फोको’ बाट बढी प्रभावित छ । यसको लामो व्याख्या म यहाँ गर्दिन, तर सन् ७० को दशकमा टर्कीका ‘क्रान्तिकारी युवा नेता’ महिर चायनको पार्टी ‘पिपुल्स लिबरेसन पार्टी/फ्रन्ट’ ले ‘नयाँ जनवादी क्रान्ति’ ठीक छैन भन्दै ‘राष्ट्रिय जनवादी क्रान्ति’ को नारासहित एउटा सैन्य नीति अघि सारेका थिए, जसलाई ‘पि.पि. ए. यस.यस. स्ट्राटेजी’ अर्थात् राजनीतिक–सैन्य अन्तर्वस्तु बोकेको रणनीति भनिएको छ र सैन्य रणनीतिका क्षेत्रमा यो ‘कम्बाइन्ड रिभोलुस्नरी वारफेयर’ का नामले परिचित छ । यसलाई उनले टर्कीको विशिष्टतामा चेको सैन्यनीतिको प्रयोग भनेका छन् । विश्वका माओवादीहरूले महिरको स्पिरिटको प्रशंसा गरे पनि यसलाई “फोकोवादी निम्नपुँजीवादी प्रवृत्तिमा आधारित सैन्यनीति” भनेका छन् । यो टर्कीमा असफल भएको राजनीतिक-सैन्य कार्यदिशा हो । यसको आलोचना गर्दै टर्कीका माओवादी क्रान्तिकारी नेता कापाक्याले ‘दीर्घकालीन जनयुद्ध’ को कार्यदिशालाई अघि सारेका हुन् । यसरी हेर्दा कमरेड विप्लवले प्रस्तुत गर्नुभएको दस्ताबेजको स्पिरिट र कार्यदिशासम्बन्धी अवधारणा चे र फोकोवादी चिन्तनबाट मात्र नभएर महिर चायनको ‘कम्बाइन्ड रिभोलुस्नरी वारफेयर’ बाट पनि धेरै हदसम्म प्रभावित रहेको कुरा बुझ्न सकिन्छ । यी त सन्दर्भका कुराहरू हुन् । कहाँ कसले के भन्यो भन्दा पनि हामीले हाम्रो विशिष्टतामा मालेमाका आधारभूत मान्यतालाई लागु गर्ने हो र हाम्रो अनुभव र शिक्षाका साथै विश्व परिस्थितिसमेतलाई ध्यानमा राखेर कार्यदिशा तय गर्ने हो । इमानदारीका साथ हामीले भन्नैपर्ने हुन्छ : चारैतिर निरासा भएको र गन्तव्यहीन भएजस्तो अवस्थामा, हाम्रा बडे कमरेडहरूले ‘गोल मेच सम्मेलन’ र ‘राष्ट्रिय सहमति’ को राग अलापिरहेको अवस्थामा विप्लव कमरेडले जमेको पोखरीमा ढुङ्गा हान्नुभएको छ, यसलाई सह्राहनीय प्रयास भन्नुपर्छ । यथास्थितिमा क्रमभङ्गता अहिलेको आवश्यकता हो भन्ने कुरामा विवाद छैन । तर योसित थुप्रै कुराहरू गाँसिएका हुन्छन् भन्ने कुरा पनि त्यत्तिकै महत्वपूर्ण छ ।
१५. दुई वर्षअघि नै मैले महाधिवेशनका सन्दर्भमा भनेको थिएँ : “नयाँ पार्टी अब ‘दीर्घकालीन जनयुद्ध’ र ‘जनयुद्धको जगमा जनविद्रोह’ मा विभाजित भएको छ र यसलाई उमेरगत राजनीतिको परिणाम मात्र ठान्नु वा न्यूनीकरण गर्नु भूल मात्र हुनजान्छ । अहिलेको अवस्थामा नेतृत्वको उपल्लो पङ्क्तिको विकल्प छैन । तर सम्मान र विश्वास फरकफरक कुरा हुन् । विश्वासको अर्थ शङ्का पनि हो । नयाँ ढङ्गको पार्टी पुरानै ढङ्गले चल्न गारो छ भन्ने कुरालाई हाम्रा श्रद्धेय कमरेडहरूले गम्भीरतापूर्वक लिनु चाहिँ आवश्यक छ ।” यो कुरा अहिलेको समयमा पनि त्यत्तिकै सान्दर्भिक छ । थाकेको पुरानो नेतृत्वटोलीले क्रान्तिलाई अगाडि बढाएर लैजाने स्थितिको करिबकरिब अन्त्य भइसकेको छ । यताका दुई वर्षले प्रस्ट पारेको यथार्थ यही नै हो । अब पार्टी पुरानो ढङ्गले चल्नसक्ने स्थितिमा छैन । यतिबेर आम कार्यकर्ताले विकल्प खोजेका छन् । यो यथार्थलाई हामी सबैले गम्भीरतापूर्वक लिनु आवश्यक छ । फेरि पनि प्रधान पक्ष भनेको कार्यदिशा नै हो ।
१६. कार्यदिशाका सन्दर्भमा त्यतिबेर चलेको बहसमा ‘दीर्घकालीन जनयुद्ध’ को पक्षमा (मैले यस्तो बुझेको थिएँ, समयसन्दर्भमा यो होइन रहेछ l ‘एकीकृत क्रान्तिको सिद्धान्त’ को वकालतले म प्रस्ट भएको छु । यसमा जोड र कोँणका सन्दर्भहरू पनि रहेछन् । ) उभिएका भनेर बुझिएका साथीहरूले नै कार्यदिशाका रूपमा ‘एकीकृत क्रान्तिको सिद्धान्त’ ल्याउनुभएको छ । जे जे नाम दिए पनि नेपाली नयाँ जनवादी क्रान्तिले नेपाली विशिष्टताको जनयुद्धबाट नगुज्री धरै छैन । यो नेपाली समाजको विशिष्टताले ल्याउने स्वाभाविक र अनिवार्य परिणाम हो । कार्यदिशाको प्रश्न शब्दको हेरफेरको मात्र प्रश्न होइन, यो त अन्तर्वस्तुकै प्रश्न हो l आवेश–आक्रोसले होइन, बहस र छलफलले नै बढीभन्दा बढी क्रान्ति चाहनेहरूलाई समेट्छ र क्रान्ति चाहनेहरूबीचको एकता, प्रतिबद्धता र क्रियाशीलतालाई मजबुत बनाउँछ । प्रश्न र आशङ्काहरूबीच होमिने कुरा कसैका लागि पनि त्यति सहज हुँदैन ।
निष्कर्ष
भित्री रूपमा जोड र कोँणका जेजस्ता शृङ्खलाहरू भए पनि यताका करिब दश वर्षमा माओवादी पार्टीभित्र सारा लडाइँ कार्यदिशाकै सन्दर्भमा भयो र यही नै फूट र विभाजनको कारण पनि बन्यो । यस अर्थमा यो निकै जटिल र पेचिलो विषय हो । त्यसैले यससित सम्बद्ध सन्दर्भहरूलाई हाटहुट किसिमले समाधान गर्न खोज्नु अथवा लाद्न खोज्नु वैज्ञानिक हुनसक्तैन । यसले गम्भीरताको माग गर्छ । पहिले घरबाट कुम्लोकुटुरो बोकेर निस्कौँ, अनि कहाँ र कसरी जाने भन्ने कुरा सोचौला भन्ने कुरा हुनसक्तैन । यसले अराजकता र विसर्जन मात्र निम्त्याउँछ ।
फेरिँदो राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिमा नयाँ जनवादी नेपाली क्रान्ति कसरी सम्पन्न गर्ने कुरामा बहस, छलफल र प्रयोग गर्ने कुरामा विमति छैन । हामी यान्त्रिकताबाट बच्नैपर्छ । हामीले नाम मात्र नयाँ खोजेको होइन, काम पनि हो । नेपाली नयाँ जनवादी क्रान्तिको कार्यदिशा नयाँ, वैज्ञानिक र व्यावहारिक हुनुपर्छ भन्ने कुरामा अलिकति पनि विमति छैन । तर ‘एकीकृत क्रान्तिको सिद्धान्त’ ले नयाँ जनवादी क्रान्ति र यससित सम्बद्ध राजनीतिक तथा सैन्य कार्यदिशालाई विस्थापित गर्न खोजेको छ । नेपाली विशिष्टताको जनयुद्धको ठाउँमा ‘एकीकृत वर्गसङ्घर्षको कार्यदिशा’ भन्न सकिएला । तर ‘एकीकृत क्रान्तिको सिद्धान्त’ लाई नै कार्यदिशा मान्ने कुरा वैचारिक दृष्टिले सही ठहर्दैन । साथै यो नेपाली समाज र वर्गसङ्घर्षका दृष्टिले पनि मेल खाँदैन । कार्यदिशा त व्यवहार हो । ‘नयाँ’ र ‘नेपाली क्रान्तिको मोडल’ भन्दै सिद्धान्त र पद्धतिलाई गाँजेमाजे पारेर अमूर्त पार्ने अनि सन् ७० र ८० को दसकमा असफल भइसकेको राजनीतिक तथा फौजी कार्यदिशालाई सिँगारपटार पारेर ‘नयाँ’ र ‘आविष्कार’ भन्ने कुराप्रति सहमति जनाएर आँखा चिम्लेर कुद्ने कुरालाई चाहिँ विज्ञानले अनुमति दिँदैन ।
०००

You can leave a response, or trackback from your own site.

One Response to “‘एकीकृत क्रान्तिको सिद्धान्त’ को चिरफार”

  1. प्रसान्त गोले says:

    Baral kamredle uthyeko kura thikai lagyo.

Leave a Reply

See real websites hosted and built by iPage customers.