एकताको नारामा विसर्जनवादको अभ्यास

Baral 3ऋषिराज बराल
यतिबेर मुलुक असाध्यै जटिल अवस्थामा छ । हिजो हामीले महान् जनयुद्धका क्रममा आर्जित गरेका समग्र सौन्दर्यमूल्यहरू ध्वस्त पारिएका छन् । देशी–विदेशी प्रतिक्रियावादी वर्ग महान् जनयुद्धको त्यो गरिमामय १० बर्से इतिहासलाई कालो इतिहासको रूपमा चित्रित गर्न उद्यत् रहेको छ र बलिदानको बाटो रोज्ने महान् योद्धाहरूलाई अपराधी प्रमाणित गर्ने तारतम्य रच्तैछ । यस्तो बेला ती प्रतिक्रियावादीहरूको पाखण्डपनको विरुद्ध सच्चा क्रान्तिकारीहरू एकताबद्ध हुनु आवश्यक छ ।
नेपाली माओवादी क्रान्ति बडो सङ्गीन अवस्थाबाट गज्रिरहेको छ र यसले एकपल्ट पुनः व्यापक एकता र बृहत् आन्दोलनको माग गर्दछ भन्ने कुरामा विवाद छैन । परन्तु एकता कोसित र केकालागि भन्ने कुरामा चाहिँ प्रस्ट हुनु आवश्यक छ र मूल कुरा पनि यसैमा निहित छ । को हुन् सच्चा माओवादी त्यसको प्रस्ट परिभाषा र पहिचानबिना एकताबद्धताको कुरा गर्नु भनेको बालुवाको घर बनाउनुजस्तै हो । होहल्ला गर्नु र सिद्धान्तनिष्ट एकता गर्नु अलग कुरा हुन् ।
विश्व माओवादी क्रान्ति यतिखेर दोहोरो मारमा परेको छ । साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूबाट प्रहार हुनु अस्वाभाविक होइन । परन्तु माओवादको आवरणमा माओवादी आन्दोलनलाई नै ध्वस्त पार्ने जुन काम भइरहेको छ, यो साँच्चिकै गम्भीर विषय छ । आज एकताबद्धताको कुरा गर्दा यो पक्षलाई पनि ध्यानमा राख्नु आवश्यक छ । यति मात्र नभएर एकताबद्धताको कुरा गर्दा नेपालको माओवादी आन्दोलनलाई यस्तो वृशृङ्खलताको स्थितिमा पुर्याउन ककसको, कहाँकहाँ केकस्तो भूमिका रह्यो, त्यसको पनि निर्मम समीक्षा गर्नु आवश्यक देखिन्छ । यो समीक्षामा नरमगरम कोही पनि अछुतो रहने स्थिति छैन ।
समयक्रममा सैद्धान्तिक तथा व्यावहारिक रूपमा सबै कुरा प्रस्ट भइसकेका छन् । नेपाली जनताले महान् जनयुद्धमार्फत आर्जन गरेका समग्र वैचारिक, राजनीतिक, फौजी र सांस्कृतिक मूल्यलाई देशीविदेशी प्रभुहरूलाई सुम्पेर आत्मसमपर्ण गर्ने प्रचण्ड–बाबुरामहरूको नेपाली क्रान्तिप्रतिको गद्दारीका कारण नेपालको माओवादी आन्दोलनले अकल्पनीय रूपमा वैचारिक विचलन र सङ्गठनात्मक विसर्जनको स्थिति भोग्नु परेको हो । तिनले नेपाली मुक्तिकामी जनतालाई मात्र धोका दिएका छैनन, भारतीय फासिवादी सत्ताका विरुद्ध जीवनमरणको निर्मम लडाइँ लडिरहेका भारतीय माओवादीहरूका विरुद्ध सोनियाँ गान्धीलाई चिठी लेखेर आफ्नो जनविरोधी र राष्ट्रघाती कुरूप अनुहार पनि प्रदर्शित गरिसकेका छन् । प्रचण्ड–बाबुराम समूहमा कतिपय इमानदार कार्यकर्ता होलान्, परन्तु, नेतृत्व तह र सङ्गठनात्मक दृष्टिले एकीकृत नेकपा (माओवादी) क्रान्तिप्रति गद्दारी गर्ने समूहको रूपमा स्थापित भएको छ र वैचारिक र राजनीतिक दृष्टिले नवप्रतिक्रियावादका पतन भइसकेको छ । नयाँ जनवादी क्रान्ति र वर्गीय प्रश्नलाई त्यागरे डलरवादी जातीयतावादीहरू र मधेसका सामन्तहरूसितको उसको बढ्दो उठबस र गठजोडले पनि यसै कुराको द्योतन गर्दछ ।
वैचारिक र राजनीतिक दृष्टिले पतन भइसकेपछि प्रचण्ड समूह अहिले आफ्नो अस्तित्व रक्षाका लागि एकताको होहल्ला गर्दैछ र हातमा सुनको सिक्री लिएर लोभी बाहुनलाई आकर्षित गर्ने बूढो बाघको कथाको पुनरावृत्ति गर्दैछ । यसप्रति हामी चनाखो हुने कुरा त छँदैछ । यसका साथै यतिखेर क्रान्तिको करा गर्ने तर व्यवहारमा कहिल्यै अघि नसर्ने सारसङ्ग्रहवादी अकर्मण्यतामा फसेकाहरू हातमा सुनको सिक्री लिएको बूढो वाघको वाक्छलप्रति लालायित भइरहेको स्थिति पनि हामी अनुभूत गरिरहेका छौँ । यसप्रति पनि त्यत्तिकै गम्भीर हुनु आवश्यक छ ।
नयाँ जनवादी क्रान्ति परित्याग गरेको र वैचारिक र राजनीतिक रूपबाट धेरै पर पुगिसकेको प्रचण्ड समूहसित एकता गर्नु भनेको वैचारिक र साङ्गठनिक दृष्टिले विसर्जनवादलाई अँगाल्नु हो र यो भनेको नेपाली क्रान्तिप्रतिको अर्को किसिमको गद्दारी हो । वर्गीय प्रश्नबाट असम्पृक्त पारेर नेपालको माओवादी आन्दोलनलाई तहसनहस पार्न थालिएको अवस्थामा एकताका नाममा हुनथालेका विचारविहीन नाना थरीका नाटक र अभ्यासप्रति पनि हामी त्यत्तिकै सजग हुनु आवश्यक छ । जात, क्षेत्र, लिङ्गको उखरमाउलो सँगै अहिले फेरि उमेरवादको उखरमाउलो आरम्भ भएको छ । यस्ता विसङ्गतिबाट माओवादी आन्दोलनलाई जोगाउने हो भने क्रान्तिकारीहरूले कतिपय साँधसिमाना र पर्खालहरू भत्काउनु आवश्यक छ र नयाँ प्रतिबद्धताका साथ मालेमाको झण्डालाई माथि उचाल्नु आवश्यक छ । यस कार्यमा बौद्धिक–सांस्कृतिक क्षेत्रको अहम् भूमिका रहने कुरा पनि प्रस्ट छ ।
आज राजनीतिक क्षेत्रले जुन किसिमको वैचारिक तथा राजनीति ऊर्जा र उत्प्रेरणा दिन सक्नुपर्दथ्यो, त्यो हुनसकेको छैन । अध्ययन–चिन्तनप्रति भन्दा भीडतन्त्रमा रमाउने प्रवृत्ति युवा पुस्तामा विकसित हुँदो छ । माओवादी आन्दोलनका लागि यो शुभसङ्केत होइन । माओवादको नाम लिएर विसर्जनवादको जसरी अभ्यास भइरहेको छ, यो निकै खतरनाक छ । ‘नवसंशोधनवाद’ सितको मेलमिलापले माओवादी आन्दोलनमा थप अन्योल र भ्रम मात्र उत्पन्न गर्ने छ । ‘पोलिटिक्स इन कमाण्ड’ मा कतै विमति छैन । तर माओले, भनेझैँ राजनीतिले गलत बाटो लिएमा अधिरचनाका अन्य अङ्गहरू अगाडि आउनैपर्ने हुन्छ र यतिबेर सांस्कृतिक–बौद्धिक क्षेत्रका सामु यो जिम्मेवारी आएको छ । मालेमाको रक्षाका लागि समयले एकपल्ट फेरि विद्रोहको झण्डा उठाउन हामीलाई आह्वान गरेको छ ।
माओवादी आन्दोलन भनौँ सिङ्गो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने कुरामा विमति छैन । तर यो भावना र भावुकताको रहर र लहड हुन सक्तैन । भीडतन्त्र जम्मा गर्नु र सिद्धान्तनिष्ट बोल्सेविक पार्टीको निर्माण गर्नु एउटै कुरा होइन । समयले नयाँ आधारमा नयाँ एकताको माग गरेको कुरा सही हो । एकताबद्धताको कुरा गर्दा आधारभूत रूपमा तलका बुँदामा प्रस्ट हुनु आवश्यक छ : १. मार्क्सवाद– लेनिनवाद– माओवाद नेपाली क्रान्तिको निर्देशक सिद्धान्त हो । २. नयाँ जनवादी क्रान्ति नेपाली क्रान्तिको न्यूनतम कार्यक्रम हो । ३. ‘क्रान्तिका तीन जादुगरी हतियार’ नेपाली क्रान्तिका आधारभूत पक्ष हुन् र ४. नेपाली क्रान्ति वर्गसङ्घर्षको (यसलाई एकीकृत वर्गसङ्घर्ष पनि भन्न सकिन्छ) बाटो भएर अघि बढ्छ र अन्ततः यसले नेपाली विशिष्टताको जनयुद्धको चरित्र ग्रहण गर्छ । यी आधारभूत पक्षका साथै यताका दिनमा नेपाली समाजमा सहरीकरण बढ्दो रूपमा भए पनि अझै पनि नेपाली क्रान्तिमा गाउँ नै आधारभूत र प्रधान पक्ष हो र बाह्य शक्तिका दृष्टिले भारतीय विस्तारवाद नै नेपाली नयाँ जनवादी क्रान्तिको प्रमुख दुस्मन हो भन्ने कुरामा पनि हामी प्रस्ट हुनु जरुरी छ ।
यिनै आधारभूत पक्षहरूका आधारमा नै हामी एकताबद्धताका साथ जान सक्छौँ । अन्यथा यसले विसर्जनवादसिबाय केही निम्त्याउने छैन ।
चैत ३, २०७१

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.