एकताका नाममा बेमौसमी गाईजात्रा

Baral NP ऋषिराज बराल

गाईजात्रा आउँन अझै ४ महिना बाँकी छ तापनि राजनीतिक वृत्तमा भने यतिखेर दिनदिनैजसो गाईजात्रा हेर्न पाइन्छ । सरकारभित्र रहेका हुन् अथवा सरकारबाहिर रहेका पार्टीहरू, कारणहरू फरक होलान्, तर  कुनै पनि पार्टी गाईजात्रेपनबाट मुक्त हुन सकेको देखिँदैन । जब देश र जनताभन्दा व्यक्तिगत स्वार्थ र लालसाले घर गर्न थाल्छ, अनि थरीथरीका प्रवृत्तिहरू सलबलाउन थाल्छन् र वैदेशिक शक्तिहरू चलमलाउन थाल्छन् । अनि सुरु हुन्छ बेमौसमी गाईजात्रा ।

देश र जनताका नाममा वैदेशिक कारिन्दा बनेकाहरूका लागि बेलाकुबेला मञ्चित हुने भद्दा नाटक र जात्राहरू स्वाभाविक हुन्, यो उनीहरूको संस्कृति नै बनिसकेको हुन्छ । परन्तु आफूलाई उत्पीडित जनताको हकहितप्रति समर्पित र क्रान्तिप्रति प्रतिबद्ध भन्नेहरू जब यस किसिमको गाईजात्रा मञ्चन गर्न थाल्छन्, त्यहाँ प्रश्न उठ्नु स्वाभाविक हुन्छ । यतिखेर माओवादी वृत्तभित्र एकताका नाममा यसै बेमौसमको गाइजात्रा, सडक नाटक प्रदर्शन भइरहेको छ । अहिले ‘पेरिसडाँडा’ का ब्यान्ड मास्टरहरू मादल बजाइरहेका छन् र ‘बुद्धनगर’ का केही ‘कामरेडहरू’ तिनका तालमा भैरव नृत्य नाँचिरहेका छन् । गजबको क्याब्रे नाँच हेर्न पाइन्छ त्यहाँ ।

साम्यवादको अन्त्य भयो र कम्युनिस्टहरू समाप्त भए भनेर विश्वका प्रतिक्रियावादी शक्तिहरूले ढोल पिटिरहेको अवस्थामा बडो उत्साहका साथ नेपालको माओवादी आन्दोलनले साम्राज्यवाद र तिनका दलालहरूलाई आतङ्कित पारेको थियो र  विश्वका उत्पीडित जनतामा आशा र विश्वास जगाएको थियो  । त्यतिबेर एउटा नारा विश्वव्यापी रूपमा चार्चाको विषय बनेको थियो—“हिमालयतिर हेर नयाँ सूर्य उदाइरहेछ” । तर, हेर्दाहेर्दै रणनीतिक आक्रमणको चरणमा पुगेको माओवादी जनयुद्धलाई सिध्याउन  माओवादी आन्दोलनभित्र जनतन्त्रको ठाउँमा ‘आश्चर्यजनक’ किसिमले ‘लोकतन्त्र’ को नारा प्रवेश गर्यो । जब माओवादी आन्दोलन ‘१२ बुँदे’ अँध्यारो सुरुङभित्र पस्यो, त्यसपछि माओवादी आन्दोलनमा पाखण्ड पर्वका नयाँनयाँ अध्यायहरू मञ्चित हुनथाले ।

पाखण्ड पर्वको नयाँ अध्यायको एउटै एजेन्डा थियो : जनयुद्धले आर्जित गरेका समग्र उपलब्धीहरू खारेज गर्नु र बाँकी दिनहरू वैदेशिक शक्ति त्यसमा पनि भारतीय विस्तारवादले निर्धारित र निर्देशित गरेअनुसार दैनिक चाजोपाँजो मिलाउनु । त्यसपछि सुरु भए गौरवशाली पार्टीका  ‘गौरवशाली’ दिनहरू ।  सबै ढोकाहरू खुला भए, जो जताबाट पसे पनि भयो, जो जताबाट निस्के पनि भयो । अनि विस्तारै माओवादी आन्दोलनभित्र खाओवादी जमात लहलहाउन थाल्यो–विकासे मल पाएको विरुवाझैँ । देखापरे हाइब्रिडे सामन्तहरू । क्यान्टोनमेन्ट भ्रष्टाचारको अखाडा बन्यो । सभासद् र मन्त्री हुनेहरूको एउटा वर्ग विकसित भयो र ‘अवसर’ नपाएकाहरू र  ‘अवसर’ नदिइएकाहरूको अर्को वर्ग बन्यो । पार्टी नै उत्पीडक र उत्पीडितमा विभाजित भयो । उत्पीडकहरूले हिजोको बलिदाको इतिहास र मूल्य सबै बिर्सिए ।  जे गर्दा आनन्द आउँछ,  त्यही गरे । तिनले वैचारिक हतियारका साथै महान् जनयुद्धका क्रममा आर्जन गरेका सबै थरी हतियार दुस्मनलाई बुझाए, आत्मसमर्पण गरे । जनमुक्ति सेनाको असाध्यै बेइज्जतिपूर्ण किसिमले विघटन गरे । के भन्दा र के गर्दा विदेशी मालिक र  तिनका स्वदेशी कारिन्दाहरू खुसी हुन्छन्, उनीहरूले त्यसै गरे । आफ्नै सहयोद्धाहरू सिध्याउन संविधान सभाको चुनावमा सेनाको प्रयोगलाई तिनले अनुमोदन मात्र गरेनन्, एक किसिमले आतङ्क नै मच्चाए । र माओवादको नाममा गरिएको यो ‘महान् कार्य’—पाखण्ड पर्वको नेतृत्व प्रचण्ड–बाबुरामले गरेका थिए ।

अहिले बाबुराम नयाँ कोर्समा लागेका छन् । कहिले मध्यरातमा सिके राउत जस्ता अपराधीलाई भेट्छन् र कहिले मधेसमा गएर मरेका स्यालहरूमा हावा भर्न थाल्छन् । उनले देखिने गरी सबैका सामु आफूलाई खुलस्त पारेका छन् । यस अर्थमा उनी ‘इमानदार गद्दार’ हुन् ।  तर प्रचण्ड भने अर्को कलाहीन नाटकको मञ्चनमा लागेका छन् । अहिले उनी एकताको डमरू बजाएर सडकमा चटके खेल देखाइरहेका छन् । उनले सबै माओवादीको नेता मै हुँ भनेर देशी–विदेशी शक्तिका सामु आफूभित्रको भयभित मान्छेलाई लुकाउन खोजिरहेका छन् ।  प्रचण्डले जब देश र जनताप्रति चिन्तित भएको कुरा गर्छन्, थप आशङ्कित हुनुपर्ने स्थिति छ । चोर ढोकाबाट प्रचण्ड कताकता पुग्छन् र के के गर्छन्, त्यो लुकेको कुरा होइन ।

प्रचण्डले यसो गर्नु स्वाभाविक छ,  विचारबाट पलायन भएपछि हुने र गर्ने यही नै हो । परन्तु प्रचण्ड–बाबुरामको गद्दारीका विरुद्ध विद्रोह गरेर क्रान्ति सम्पन्न गर्न नयाँ पार्टी गठन गरेको कमरेड किरणको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) मा जेजस्तो गाईजात्रा देखिएको छ, यो झन् अचम्मको छ । सित्तैँमा सबैले मनोरन्जन  गर्न पाएका छन् । बडो  उदेकलाग्दो स्थिति छ । पार्टी विभाजित हुनुको समयभन्दा अहिले वैचारिक र व्यावहारिक दुवै दृष्टिले भ्रष्ट भएका प्रचण्डमा क्रान्तिकारिता देख्नु र उनले नेतृत्व गरेको पार्टीमा विलय हुन मरिहत्ते गर्नु भनेको सारतः प्रतिक्रयावादी विचार र सत्ताका सामु आत्मसमर्पण गर्नु हो । यो भनेका प्रतिक्रियावादी व्यवस्थाको जुठोपुरो खान लालायित हुनु हो । ‘बुद्धनगर’ का एकथरीहरूले अहिले यही रमाइलो गरिरहेका छन् ।

अहिले ‘बुद्धनगर’ मा भेडाबाख्राको हाटबजार लागेको छ ।  खुलारूपमा अमुकका विरुद्ध अमुकहरूको हस्ताक्षर अभियान चलाएर संसद्वादीहरूलाई पनि उछिन्ने काम भएको छ । यस्तो लाग्छ त्यहाँ बैठक होइन, रमाइलो मेला लागेको छ, जहाँ सबैखाले खेल र मनोरन्जन उपलब्ध हुन्छ ।  अमुकका विरुद्ध अमुकहरूले गरेको हस्ताक्षर अभियान विचार विरुद्ध दबाब मात्र नभएर एक किसिमको बल प्रयोग, धम्की र आतङ् पनि हो भन्ने बुझिन्छ । “क्रान्तिकारी माओवादीका अध्यक्ष किरणलाई अपहरण गरी एकताका लागि जबर्जस्ती सही गराए” भन्ने समाचार सुन्नुपर्ने पो हो कि भन्ने अवस्था छ । यो घीनलाग्दो परिघटना सारमा वैचारिक भ्रष्टताको पाराकाष्ठा हो । “आफ्नो अनुपस्थितमै प्रचण्डले बादल गुटको सभापतित्व गरिरहेका छन” भनेर खबरहरूमा पढेको कुरा सही भएजस्तो लाग्छ । बादल र उनको गुटले देखाएका क्रियाकलापहरू,  कमरेड किरण विरुद्ध हस्ताक्षर आतङ्क र अपमान र एकताका नाममा गरेको मरिहत्ते नेपालको माओवादी आन्दोलनमा एउटा घीनदाग्दो परिदृश्य हो । यसप्रति कमरेड किरण र उहाँको समूहको कस्तो जवाफ हुन्छ,  किरण समूह वैचारिक दृढताका साथ उभिन्छ कि प्रचण्ड–बादलको आतङ्कका सामु आत्मसमर्पण गर्छ, यो समयले बताउला ।  तर पेरिसडाँडाबाट बुद्धनगरमा केकति फोहोरमैला भित्रिएको रहेछ भन्ने कुरा चाहिँ समयक्रममा प्रस्ट भएको छ ।

यस सन्दर्भले माओवादी आन्दोलनप्रति धारे हात लगाउनेहरूलाई  आनन्दित तुल्याएको छ र  हामीलाई भने पीडा भएको छ ।  मार्क्सवादको सामान्य  आधारबाट समेत कोसौँ पर पुगिसकेका प्रचण्ड एकातिर  माओवादीको एउटै केन्द्र बनाउने भनेर मार्क्सवादको हुर्मत लिइरहेका छन् र यता बादलहरू त्यही हाँस्य नाटकको पात्र बनेर जग हँसाइरहेका छन् । विरोधीहरू प्रचण्ड र उनको मण्डलीलाई हेरेरे माओवादी भनेका यस्ता हुन् भनेर समग्ररूपमा  माओवादी आन्दोलनकै बदनाम गरिरहेका छन्, यसले थप पीडा दिनु स्वाभाविक छ  । हामी पनि मरे सहिद, बाँचे संसार भनेर सबै कुरा त्यागेर महान् जनयुद्धमा यिनकै नेतृत्वमा होमिएका थियौँ । यिनका पाखण्डपर्वका कथा सुन्दा र कलाहीन नाटक देख्दा  साँच्चिकै पीडा हुन्छ । कस्ताकस्ता मान्छेहरूले माओवादी आन्दोलनका नेता बनेर जनताको सपनासित खेलवाड गरेछन् भन्ने शिक्षाचाहिँ यो पाखण्डपर्वले राम्रोसित दिएको छ ।

अब ढिलोचाँडो ध्रुवीकरण हुनेछ । माओवादी वृत्तभित्र दुइटा केन्द्र बन्नेछन् । एउटा केन्द्र प्रचण्डको नेतृत्वमा संशोधनवादीहरूको हुनेछ, यसलाई नवप्रतिक्रियावादी केन्द्र पनि भन्न सकिन्छ, जुन ढिलोचाँडो  मूल केन्द्र एमालेमा विलय हुनेछ ।  अर्को केन्द्र  सही अर्थका माओवादीहरूको हुनेछ । यसको नेतृत्व नयाँ जनवादी क्रान्तिप्रति प्रतिबद्ध क्रान्तिकारीहरूको हुनेछ । संसदीय व्यवस्था सारतः दलालहरू निर्माण गर्ने कारखाना हो । दलालहरूको चरित्र राष्ट्रघाती–जनघाती हुन्छ । प्रचण्ड–बादलहरूले रोजेको बाटो भनेको यही नै हो ।

माओवादका नाममा राष्ट्र र जनताप्रति भइरहेका गद्दारीको भण्डाफोर गर्न तथा नयाँ जनवादी क्रान्तिको आवश्यक तयारीका लागि क्रान्तिकारीहरू नयाँ किसिमले ध्रुवीकृत हुनु आवश्यक छ ।  अहिले क्रान्तिकारीहरूबीच ध्रुवीकरणको प्रयास जसरी भइरहेको छ, यो सकारात्मक छ र यसलाई थप गति दिनु आवश्यक छ । हाम्रो कम्युनिस्ट न्युक्लिअस, नेपालले यस सन्दर्भलाई गम्भीरताका साथ उठाएको छ र एकताका सम्बन्धमा कमरेड किरणले अघि सार्नुभएको सिद्धान्तनिष्ठ एकता र हालै कमरेड विप्लवद्वारा रातोखबर साप्ताहिकमार्फत क्रान्तिकारी धुवीकरणका लागि व्यक्त गरिएको अभिमतले क्रान्तिकारी ध्रुवीकरणको पक्षमा सकारात्मक वातावरण बनेको छ ।

खास कुरा के हो भने पाखण्ड पर्वको नयाँ अध्याय प्रचण्ड र बादलसित मात्र सम्बद्ध नभएर यो सिङ्गो माओवादी आन्दोलनसित सम्बद्ध छ । माओवादी आन्दोलनभित्र आत्मसमर्पणवादी पाखण्डीहरू मात्र छैनन्, क्रान्तिकारीहरू पनि छन् र ती माओवादी आन्दोलनलाई नयाँ किसिमले पुनर्गठित गर्दै धु्वीकरणको नयाँ दिशामा सक्रिय छन् भन्ने कुराको जनतामा उत्साह बोध गराउनु आजको आवश्यकता हो । प्रतिक्रियावादीहरूले भन्दा बढी माओवादको आवरणमा लुकेका खाओवादीहरूले माओवादी आन्दोलनलाई नोक्सान पुर्याएका छन् । यस अर्थमा अबको लडाइँ निकै पेचिलो हुनेछ । यो लडाइँको पहिलो चरण माओवादको आवरणमा माओवादकै हुर्मत लिने पाखण्डीहरू विरुद्ध हुनेछ र समयक्रमा सबैको कित्ता प्रस्ट हुँदै जानेछ ।

०००

 

 

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.