आतङ्कित कमाण्डरहरूसित

new photoडा. ऋषिराज बराल

पार्टीभित्र अनुभववाद र उमेरवादको बढ्दो द्वन्द्व

०समस्या महाधिवेशंनको स्पिरिट सम्बोधन नहुनु  

० समयले नयाँ समीक्षा र संश्लेषणको माग गरेको छ

० विस्तारित भेला पनि एउटा उपाय हो

 ( यो लेख तयार पार्दाको राजनीतिक अवस्था र यतिखेरको अवस्थामा केही फेरबदल भएको छ । क्रान्तिकारीहरूका लागि वस्तुगत परिस्थिति झन् अनुकूल छ र अकर्मण्यताबाट मुक्त भएर समयले नेतृत्वपङ्क्तिबाट थप गतिको माग गरेको छ । अब दिशा प्रस्ट हुनु आवश्यक छ ।  महाधिवेशनमा अधिकांश कार्यकर्ताले प्रस्तुत गरेको स्पिरिटलाई व्यवहारमा मूर्तिकृत गर्ने समय आएको छ । यो लेखले कतिपएको टाउको पनि दुखन सक्छ।  सत्य अलि तितो पनि हुन्छ । गाली अथवा कारबाहीको धम्की  होइन, म बहस-छलफलमा सहभागी हुन आह्वान गर्छु ।)

०००

आजभोलि राजनीतिक वृत्तमा उमेर र अनुभवका कुराहरू निकै जोडतोडका साथ सुनिने गरेका छन् । वैचारिक प्रश्नलाई ओझेलमा पारेर ‘बुढो पुस्ता’ र ‘युवा पुस्ता’ को सन्दर्भलाई बहस र विवादको विषय बनाउने गरिएको छ । अरूको त कुरै छाडौँ,  द्वन्द्वात्मक भोतिकवादमा विश्वास गर्ने र मालेमालाई क्रान्तिको मार्गनिर्देशक सिद्धान्त मान्नेहरूसमेत अहिले अनुभववाद र उमेरवादको द्वन्द्वको चक्रव्यूहमा फसेका देखिन्छन् ।

 यहाँ अनुभववाद र उमेरवादका सम्बन्धमा लामो विवरण दिने उद्देश्य राखिएको छैन । मार्क्स –एङ्गेल्सदेखि माओसम्मको इतिहास हेर्दा विश्वकम्युनिस्ट आन्दोलनमा उमेर र  उमेरवादको भन्दा पनि अनुभववादको चर्चा र बहसले बढी ठाउँ पाएको पाइन्छ । लेनिनले अनुभववादीहरूविरुद्ध लामो लडाइँ लड्नु पर्यो ।  यसबारेमा उहाँले भौतिकवाद र अनुभवसिद्ध आलोचना नामको पुस्तक नै लेखनु  भयो । उमेर र अनुभवका कुराहरू हिजोको माओवादी पार्टीभित्र पनि कहिले सुषुप्त र कहिले सशक्त रूपमा उठ्ने गरेका थिए । अहिले यो प्रश्नले नेकपा– माओवादीभित्र पनि निकै खैलाबैला मच्चाएको छ । हामी निरीह कार्यकर्ताहरू,  नयाँ पार्टीका  नयाँ कारिन्दाहरू अहिले यही आन्तरिक शीतयुद्धको चपेटामा परेका छौँ । वैचारिक पक्षभन्दा उमेर र अनुभवको प्रसङ्ग पार्टीमा  बढी विवादको विषय बन्नु भनेको   साँच्चिकै गँभीर र जटिल स्थिति हो ।

दस बर्षसम्म जनयुद्ध लडेको सबैभन्दा जुझारू र बलिदानी भाव भएको शक्ति अहिले नेकपा– माओवादीसित छ । नेकपा–माओवादीसित वैचारिक दृष्टिले ऊर्जाशील प्रौढ शक्तिका साथै जुझारु युवा शक्ति पनि छ । इमानदार, राष्ट्रिय स्वाधीनताप्रति गम्भीर  र क्रान्तिकारी आदर्शमा हिँड्ने पाका र युवा  दुवैको एउटा  सशक्त शक्ति नेकपा–माओवादीसित छ भन्ने आमजनमानसको बुझाइ र ठम्याइ छ । यो सकारात्मक पक्ष हो । वैचारिक शक्तिलाई सशक्त भौतिक शक्तिमा फेरेर प्रतिरोधी  अभियानमा कसरी लैजाने भन्ने कुरा नै अहिलेको मूल समस्या र  चुनौती हो ।

नेकपा–माओवादीसित सङ्ख्या छ, ऊर्जाशील शक्ति छ, सामर्थ्य छ, बलिदानी भाव छ र समृद्ध अनुभव छ भन्ने कुरामा विवाद छैन । योसित हिजो जनयुद्ध लडेका जनमुक्ति सेनाको सशक्त टिमलगायत दरिलो बौद्धिक–सांस्कृतिक शक्ति पनि छ । हिजोको दुई लाइन सङ्घर्ष र अन्तरसङ्घर्षमा बौद्धिक र सांस्कृतिक क्षेत्र र जनमुक्ति सेना अग्र पङ्क्तिमा उभिएको कुरामा विवाद छैन । क्यान्टनमेन्टभित्र रहेर नवसंशोधनवादीहरूसित टक्कर लिने कुरा चानचुने कुरा थिएन । जनमुक्ति सेनाका साथीहरू त्यहाँ पनि हरेक मोर्चामा दृढतापूर्वक लडे । जुनजुन मोर्चाहरू नवसंशोधनवादका विरुद्ध अग्रपङ्क्तिमा रहेर लडे, ती नै अहिले अस्तव्यस्तको स्थितिमा रहेका छन्, ती बेवारिसेजस्ता भएका छन् । क्रान्तिकारी रूपान्तरणका लागि यो शक्तिलाई कसरी नयाँ भौतिक शक्तिमा फेर्ने भन्ने कुरामा मूल रूपमा ‘माथि’ नै योजनाविहीन अवस्थामा रहेको देखिन्छ । अहिले नपुगेको भनेको ठीक यहीँनेर हो ।

यसमा सबैभन्दा पहिले वैचारिक पक्ष, खासमा कार्यदिशामै प्रस्ट हुनु आवश्यक छ । यहाँ  ठोस नीति, योजना र दृढ इच्छाशक्तिको आवश्यकता छ । अब प्रचण्ड–बाबुरामलाई गाली गरेर वा विगत कोट्याएर मात्र पुग्दो छैन । प्रचण्ड–बाबुरामले यसो गरे र उसो गरे भनेर गुनासामा समय र श्रम खर्चिनुको पनि अब अर्थ छैन । हेटौँडा महाधिवेशनसम्म आइपुग्दा प्रचण्ड–बाबुरामले आफैँले आफूलाई प्रस्ट पारेका छन् । राष्ट्र्यिताका सन्दर्भमा उनीहरूले राष्ट्रिय आत्मसमर्पणको बाटो समातेका छन् र जनतन्त्रका सन्दर्भमा उनीहरू युरोकम्युनिज्मभन्दा पनि पर पुगिसकेका छन् । उनीहरूको अबको विकासयात्रा भनेको सामाजिक फासिवादतर्फ नै हो । अब उनीहरू विश्वकम्युनिस्ट आन्दोलनमा नकारात्मक शिक्षाका पात्र मात्र भएका छन् । यस अर्थमा हामीहरूले उनीहरूलाई धन्यवाद दिनैपर्छ । भ्रमवस अझै पनि त्यहाँ केही राम्रा र इमानदार कार्यकताहरू छन् र हाम्रो प्रयास तिनलाई क्रान्तिकारी कित्तामा समेट्ने हुनुपर्दछ ।

अबको प्रश्न भनेको हामीसित नै  हो । हामी पनि हाम्रो हिँडाइको गति र दिशाका सम्बन्धमा प्रश्नरहित छैनौँ । प्रचण्ड–बाबुरामलाई गाली गरेर मात्र हामीले अब आफूलाई क्रान्तिकारी पुष्टि गर्न सक्तैनौँ । इमानदारीपूर्वक हामीले आफूलाई पनि चिरफार गर्नु आवश्यक छ । हामी सबैले हिजोका साथै वर्तमानको पनि सही समीक्षा गर्दै सत्यको सामना गर्न तमतयार हुनुपर्ने समय आएको छ । हामीले नयाँ पार्टी बनाउनुको अर्थ र सन्दर्भले अब सैद्धान्तिक र व्यावहारिक दुवै पक्षमा उत्तर खोजेको छ । इमानदारी र निर्भीकतापूर्वक भन्नैपर्ने हुन्छ : पछिल्लो समयसम्म पनि माथिल्ला तहका हाम्रा कतिपय कमरेडहरूले  “अझै प्रचण्डको रूपान्तरणमा जोड दिनुपर्छ”, “हतारिनु हुँदैन, अझै पर्खिनुपर्छ”  आदिइत्यादि भनेकै हुन् । नर्वेली योजना ‘ककस’ मा मात्र होइन, सिआइएद्वारा संचालित एनटिटिपीमा ‘युवा’ सभासद्, सङ्घीयता र पहिचानका नाममा हाम्रा कतिपय कमरेडहरू रमाएकै हुन् । सबै नाम, काम र दाम पत्रपत्रिकामार्फत बाहिर आइसकेका छन् । अझै पनि थुप्रैको नाम आइएनजीओसित जोडिएको छ । अझै पनि संसद् पुनर्स्थापनाको कुरा उठ्दा हाम्रा कतिपय कमरेडको अनुहारको चमकका फेरबदल आउने गरेको देखिन्छ ।  यस्तो स्थितिमा  दक्षिणपन्थीहरूसित सम्बन्ध विच्छेद गर्ने कुरा सहज थिएन । त्यहाँ वैचारिक दृढता, इच्छाशक्ति र साहसको पनि आवश्यकता थियो । यसमा  धेरथोर सबैको भूमिका रहे पनि माथिल्ला स्तरका केही युवा नेता कमरेडहरू र बढीभन्दा बढी राज्यसमिति स्तरका जुझारु  र क्रान्तिकारी कमरेडहरूको अहम् भूमिका रहेको कुरा यहाँ स्मरणीय छ । यो यथार्थलाई सबैले स्वीकार गर्नु आवश्यक छ । सङ्घर्ष, आन्दोलन र भूमिका विस्तारमा यो जुझारु र क्रान्तिकारी शक्ति त्यसमा पनि युवा शक्तिले आफ्नो भूमिकाको सही समीक्षाको माग गर्नुलाई अपराध मानिनु र ठानिुनु हुँदैन,  कसैको भाग खोस्न खोजेको ठानिनु हुँदैन ।  बरू क्रान्तिकारी नयाँ पुस्तालाई उत्साहका साथ अघि बढ्न उत्प्रेरित गर्ने अभिभावकीय दायित्त्व निर्वाह गरिनु आवश्यक थियो र छ । यस मामिलामा माथिल्लो नेतृत्वको  माथिल्लो तहमा रहेका हाम्रा कमरेडहरू चुकेकै हुन् ޽

करिब यो एक वर्षको अवधीमा हामी भेला र महाधिवेशन गर्न सफल भयौँ । चारपाँच वर्षमै चर्बी बढेर अलिकति उकालो चढ्दा पनि स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्ने नेताहरूलाई (कतिपय कार्याकर्ता पनि ) लिएर सगरमाथा चढ्ने कुरा साँच्चिकै गारो थियो र छ  । प्रचण्ड समूहसित सम्बन्ध विच्छेद गर्ने कुरामा सफल भए पनि अगाडिको यात्रामा हामी केही अलमलिएजस्तो भएको स्थिति सही हो । महाधिवेशनमा युवाहरू मात्र होइन, क्रान्तिकारी विचार राखने प्रौढहरू पनि विचारको  एउटै कित्तामा उभिएको कुरा पनि सही हो । महाधिवेशनपछि पनि आरसिपि अमेरिकाले भनेझैँ हामी अझै दोबाटोमा रहेको,  केही अन्यौलग्रस्त रहेको, पुरानो विरासतबाट मुक्त हुन नसकेको कुरा पनि सही हो । यस्ता परिदृश्यहरूबीच बेलाबेलामा  उठ्दै र थन्कदै  गरेको युवा पुस्ता  र पुरानो पुस्ताको प्रसङ्ग महाधिवेशनपछि थप  खुलेर आउनु स्वाभाविक बन्यो ।  अहिले यो बजारचर्चाको विषय बनेको छ ।

 हामी सबैलाई थाहा भएको कुरा हो, मार्क्सवादी राजनीतिमा प्रधान कुरा विचार र कार्यदिशा हो,  सँगसँगै यसलाई व्यवहारमा लैजाने सङ्गठन, नेतृत्व र योजना पनि हो । उमेरको पनि अर्थ, सान्दर्भिकता र महत्त्व  छ । माओले सङ्गठन र नेतृत्त्वमा तीनमा एक अर्थात् ‘थ्रि इन वान’ को नीति अधि सार्नुभयो । उमेरको अर्थ र महत्त्वको कुरा गर्दा चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिमा माओले क्रान्तिको आवश्यकताअनृसार तल्लो तहबाट थुप्रै युवा कमरेडहरूलाई एकैचोटि माथिल्लो तहमा लगेको कुरा पनि यहाँ स्मरणीय छ । यसका साथै उमेरको महत्त्व स्वीकार गर्नु एउटा पक्ष हो भने  उमेरवादमा फस्नु चाहिँ अर्को कुरा हो । उमेरवादले विचारलाई पर सारेर, क्रान्तिकारी अनुभवलाई किनारा लगाएर, उमेरलाई मात्र सम्पूर्ण ठान्दछ ।  क्रान्ति र उमेरको कुरा आउँदा एक थरी कमरेडहरू अग्रज कमरेडहरूको क्रान्तिको लगानी  र समग्र इतिहासलाई एकातिर पन्छाएर उहाँहरूको सान्दर्भिकता मै प्रश्न उठाएर “अब बूढाहरूको काम छैन’ भनेर उमेरवादी अधिभूतवादी केटौलेपनमा फस्ने र अर्का थरी नेता कमरेडहरू  युवा कमरेडहरूको कुरा आयो कि च्याँठ्ठिने गरेको देखिन्छ । विचारको केन्द्रीयतामा कसरी विभिन्न उमेर र अनुभवका कमरेडहरूलाई व्यवस्थित गर्ने भन्दा माल्थिल्लो तहमा रहेका पाका कमरेडहरू पनि अनुभववाद र व्यवहारवादमा फसेको बोध हुन्छ । आफू विस्थापित पो होइने हो कि भन्ने एककिसिमको भय र आतङ्क उहाँहरूमा विकसित भएको देखिन्छ ।

यथार्थ के हो भने उमेरको पनि अर्थ छ र अनुभवको त झन् अर्थ छ । तर उमेरवाद र अनुभववाद दुवै क्रान्तिका लागि घातक छन् । उमेरवाद र अनुभववाद दुवैले अधिभूतवाद र आदर्शवादको निर्वाह गर्दछन् । अग्रजहरूको समृद्ध अनुभव, इतिहास र सामाजिक विश्वास र मनोवैज्ञानिक प्रभावलाई निषेध गर्न सकिँदैन र युवा कमरेडहरूको जुझारुपन, क्रान्तिप्रतिको समर्पणभाव र बलिदानीभावलाई पनि न्यूनीकरण गर्न मिल्दैन  । तर अहिले हामीकहाँ  यो सन्तुलन खजमजिएको देखिन्छ  । को देख्दा को डराउने भनेजस्तो,  एकअर्काप्रति अविश्वास, आशङ्का र भयको स्थिति देखिन्छ । एउटा शीतयुद्धको स्थितिझैँ छ । अहिलेको प्रमुख आवश्यकता भनेको हामीसित भएको सबैथरी अनुभव, शक्ति र क्षमतालाई कसरी क्रान्तिकारी विन्यास गर्ने भन्ने नै हो ।

अहिले हामीले  जसलाई क्रान्तिकारी शक्ति र युवा शक्ति  भन्ने गरेका छौँ, यो दस बर्से महान् जनयुद्धको अनुभव र बलिदानीभावबाट समृद्ध पङ्क्ति हो । हाम्रो चिन्ता र चिन्तन क्षमताहरू केन्द्रीकरण गरी क्रान्तिकारी  पङ्क्ति र पुस्तालाई कसरी  नेतृत्व पङ्क्तिमा ढाल्ने र विकास गर्ने भन्ने कुरामा केन्द्रित हुनु आवश्यक छ । अहिले माथिल्ला कमरेडहरूबाट नपुगेको भनेको यहीँनेर हो । नयाँ पुस्ताबाट नेतृत्व पङ्क्तिको निर्माण अहिलेको आवश्यकता हो । यही नै चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको मूल मर्म पनि हो । माओले सदैव युवापङ्क्तिलाई प्रोत्साहित गर्नु भयो । हामीकोमा पनि  पाका कमरेडहरूबाट आदर्शमय भूमिकाको आशा गर्नुलाई अन्यथा ठानिनु हुन्न । नयाँ पुस्ताले पाको र नेतृत्वदायी  पुस्तालाई ट्रट्स्कीका झैँ  ‘बुढो’ र  ‘आउट डेटेड’ भन्ने र पाका कमरेडहरूले युवा पुस्तालाई उत्साहित र प्रोत्साहित गर्नुसट्टा प्रतिद्वन्द्वीझैँ ठानेर इर्श्याभाव राखेर निषेध गर्न खोज्ने  दुवै प्रवृत्ति घातक छन् । यसमा कताकता अस्वस्थता र प्रतिशोधी भावना विकसित हुन थालेको पो हो कि भन्ने आभास पनि हुन थालेको छ ।

यो सत्य हो, अहिले थुप्रै कुरा भद्रगोलमा छन् । हामीसित रहेको क्रान्तिकारी  शक्ति र ऊर्जालाई जसरी विचार,  सङ्गठन र व्यवहारमा क्रियाशील र गतिशील बनाउनु र लैजानु पर्दथ्यो,  त्यो हुन सकेको छैन । यस सन्दर्भमा खुलेरै भन्नुपर्ने हुन्छ,  समस्या तल होइन, माथि नै छन् । समस्याहरूको हलको अगुवाइ गरिनुपर्ने ठाउँ नै अकर्मण्यतामा फसेजस्तो देखिन्छ । महाधिवेशनमा उठेको आवाज र कार्यकर्ताको क्रान्तिकारी स्पिरिटको मूल्यको सही किसिमले सम्बोधन नहुनु नै समस्याको मूल जग र जरो हो  । यसको आआफ्नै किसिमको व्याख्या गरिएला । तर सत्य यही नै हो ।  यो माथिल्लो नेतृत्वपङ्क्तिप्रतिको अनादर वा अविश्वास नभएर यथार्थको प्रकटीकरण मात्र हो ।

मुलुकमा नेकपा–माओवादी जस्तो राष्ट्रियता र जनतन्त्रप्रति  सम्बेदनशील र गम्भीर पार्टी अर्को छैन । मुलुकमा  क्रान्तिकारी ऊर्जा र बलिदानी भावले ओतप्रोत भएका धेरै कार्यकर्ताहरू भएको पार्टी पनि अर्को छैन । तर यसले जुन गति र दिशा दिनुपर्दथ्यो, यसले जुन उत्साह र क्रान्तिकारी आशावाद कार्यकर्तामा उत्पन्न गर्न सक्नुपर्दथ्यो,  त्यसो हुन सकेको छैन ।  चिजहरू यान्त्रिक किसिमले परिचालित भएका जस्ता छन् । तिनमा कुनै गति र नवीनताको बोध  छैन । नेतृत्व पङ्क्ति थाकेथाकेजस्तो, स्वफुर्ततावादमा फसेजस्तो र एउटा निरस रुटिनबद्धतामा पार्टीको जीवन चलेको जस्तो बोध हुन थालेको छ । उत्साह र क्रान्तिकारी आवेगपूर्ण गतिको सट्टा जबरजस्ती पाटपूर्जा जोडेर चलाएको गाडीजस्तो, के के नमिलेको र के के नपुगेको जस्तो  भएको छ पार्टीजीवन । हेर्दा उमेरवाद र अनुभववादबीचको अन्तर्विरोधजस्तो लागे पनि यस पङ्क्तिकारको बुझाइमा यो  पार्टी लाइनको समस्या हो, सारतः यो विचारकै समस्या हो । खुलेर भन्दा यो अनुभववादले उत्पन्न गरेको समस्या हो । आफू कतै टसमस नगरी ठाउँ पनि नछाड्ने र अरूलाई अघि बढ्न पनि नदिने, अरूले दाउरा जम्मा पारेर बालेको आगो म मात्र ताप्छु, तँ पर बसेर हेरि राख भन्ने स्थितिले  निम्त्याउने भनेको विर्सजन वा फूट हो । आफ्ना कमीकमजोरी र समस्याहरूको निर्मम आत्मसमीक्षा गर्नुको साटो अरूमाथि दोष थुपार्ने र  अनुशासनको धम्की दिने प्रवृत्तिले समस्यालाई झन् जटिल बनाउँछ भन्ने यथार्थप्रति हामी सबै गम्भीर हनु आवश्यक छ ।

यतिबेर दृढ इच्छाशक्तिको आवश्यता छ । तर्क विवेक र क्रान्तिकारी आवेगको आवश्यकता छ ।  नेतृत्वपङ्क्तिले कार्यकर्ताबीच विश्वासको जग बलियो बनाउनु आवश्यक छ । क्रान्तिमा नेतृत्वप्रतिको विश्वास र भरोसाले वैचारिक, व्यावहारिक र मनोवैज्ञानिक हरेक क्षेत्रमा अहम् महत्त्व  राख्दछ भन्ने कुरा नेतृत्व तहमा रहेका कमरेडहरूले बुझेकै कुरा हो । त्यतिबेर एकताकेन्द्रसितको पार्टी एकता मात्र होइन, गोँगबु डिनरदेखि धोबीघाट मन्थनप्रति हामी कार्यकर्ताको धारणा बुझ्नु आवश्यक ठानिएन, हाम्रो कुरा  सुनिएन । हामी साक्षी किनाराका सदर भयौँ । एकताकेन्द्रसित्र एकता गर्ने कुराको हामीले खुलेर विरोध गर्यौँ । हाम्रो असहमतिका बीच पनि  हामीले हाम्रो विचारसमूहको नेतृत्वप्रति विश्वास गरेर निर्णय शिरोपर गरेकै हौँ । त्यसको  परिणाम हामीले अहिले व्यवहारमा भोगिरहेका छौँ । उहाँहरूले स्वीकार नगर्नु भिन्नै कुरा हो, समयले हाम्रा नेताहरू होइन, हामी कारिन्दाहरू सही थियौँ/रहेछौँ भन्ने साबित गरेको छ ।  अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सिन्छ भनेझैँको  स्थितिमा छौँ हामी अहिले पनि  । “बैद्य पार्टीको प्रचण्ड समूहसित कार्यगत एकताको तयारी” को समाचार पढ्दा पनि हामी झस्किने स्थिति बनेको छ ।  खुसुखुसु रातविरात प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाने र खुसुखुसु सुकेधाराको भोजभतेरमा सामेल भएर खिचडी पकाउने गरेको समाचारले  हामीलाई  बेचैन गराएकै हो ।

अहिलेको प्रमुख आवश्यकता भनेको विचारको केन्द्रीयतामा योग्यता र क्षमताहरूको केन्द्रीकरण हो । भनेको कुरा सुनिदैन, सुने पनि त्यसलाई गम्भीरतापूर्वक लिइँदैन ।र  लेखेर दिएको कुरा पनि पढ्नु आवश्यक ठानिँदैन । माथिका नेताहरूको अध्ययन–चिन्तनप्रति रुचि घटेको छ र समसामयिक सूचनाबारे अपडेट हुने कुराप्रति चासो  घटेको छ,  सबै कुरा रुटिनबद्ध बनेका छन् । सिर्जनशीलताको ह्रास भएको छ ।  ।  क्षेत्रीयतावाद हाबी छ  र प्रभाववाद निर्णायक तत्त्व  बनेको छ ।   तेरो मान्छे, मेरो मान्छे, तेरो क्षेत्र, मेरो क्षेत्र यो जात, ऊ जात आदिइत्यादि होइन, सही मान्छे सही ठाउँमा भूमिकाबद्ध हुनु आवश्यक छ भन्ने कुरालाई गम्भीरतापूर्वक लिइँदैन ।  नेताहरूमा कार्यकर्ताको योग्यता र क्षमताको सही आकलन छैन, सही सूची छैन,  सारमा मूल्याङ्कनको सही र वैज्ञानिक पद्धति र परिपाटी छैन/अवलम्बन गरिँदैन । यस्तो भएपछि हाम्रा कमीकमजोरहरूलाई समातेर देशीविदेशी प्रतिक्रियावादी शक्तिहरू र  आइएनजिओवादीहरूले हामीभित्र चलखेल गर्ने कुरा स्वाभाविक हुन् । उनीहरू जात, क्षेत्र लिङ्ग, सङ्घीयता,  पहिचानको राजनीति र  उमेरवाद,  हरेक छिद्रबाट हामीभित्र पसेर हामीलाई अस्तव्यस्त पार्न चाहन्छन्,  यो उनीहरूको धर्म नै हो । प्रश्न हामी आफूभित्र कति एकताबद्ध छौँ भन्ने कुरा नै हो र यसमा जसको जति ठूलो जिम्मवारी छ, उसको त्यति नै ठूलो भूमिका हुनु आवश्यक छ । आशङकाहरू बढेका छन् र प्रश्नहरू थपिएका छन् । कमाण्डरहरू नै मनोवैज्ञानिक रूपमा आतङ्ति भए भने यसले दुर्घटनासिबाय केही  निम्त्याउँदैन ।

अहिले आवश्यकता र स्वतन्त्रताको द्वन्द्ववादलाई सही किसिमले लागू गर्नुपर्ने आवश्यकता छ । कार्यकर्ताको ठूलो पङ्क्ति अहिले पनि आफ्नो कमाण्डरको एक कासनमा बलिदानको कोटा पूरा गर्न तमतयार छ । यसमा प्रधान कुरा विश्वास र उत्प्रेरणा नै हो । क्षमता र योग्यताको पहिचान नै हो । हामीलाई अनुभववाद र रुटिनबद्धताको यान्त्रिकता र रुढिग्रस्ततामा  फसेको होइन, क्रान्तिकारी अनुभवले समृद्ध, आफ्ना कार्यकर्तामा नयाँ र क्रान्तिकारी आशावाद जगाउँदै ऊर्जाशील र सिर्जनशील बनाउने चौडा छाती भएको र नोकरशाही प्रवृत्तिबाट मुक्त भएको सशक्त नेतृत्वपङ्क्तिको खाँचो छ । गति र नयाँपनको माग गर्नु, यसको बोधको चाहना रराखनु भनेको अपराध गर्नु  होइन । सत्यको उदघाटन गर्दा कार्बाहीका लागि औँला ठड्याउनेहरूले महाधिवेशनहलको झाँकीतिर पनि ध्यान दिनु आवश्यक छ । सत्यको सामना गर्न नसक्नेहरू मात्र सत्यको उद्घाटनबाट विचलित हुन्छन् । महाधिवेशनमा  आमकार्यकताले उठाएको आवाज र क्रान्तिकारी  स्पिरिटलाई सम्बोधन गर्ने कि अकर्मण्यतामा फस्ने ? प्रश्न यहीँनेर छ । रिङरोड वरिपरि जति कुदे पनि, दिनभरि रातभरि कुदेको कुदै गरे पनि सगरमाथा पुग्न सकिँदेन भन्ने कुरा बुझ्नु आवश्यक छ ।

उमेरवाद र अनुभववाद दुवै क्रान्तिका लागि बाधक छन् । ठीक किसिमले हामीले गति र दिशा लिन सकनौँ भनेँ,  अथवा हाँसको चाल न बकुल्लाको तालमा हाम्रो  दिशा र गति रह्यो भने यसले निम्त्याउने भनेको विसर्जन वा फूट नै हो । विसर्जन, फूट वा क्रान्तिकारी निरन्तरता ? यस  प्रश्नले अहिले उत्तर खोजिरहेको छ । र यसको उत्तरको जिम्मा उपल्लो तहका हाम्रा श्रद्धेय कमरेडहरूमा रहेको छ ।  हामी समवेत स्वरमा भन्छौँ : पहिलो र दोस्रो हाम्रो बाटो हुन सक्तैन, क्रान्तिकारी निरन्तरता नै यसको सही उत्तर हुन सक्छ र हुनुपर्छ  ।  आत्मसमीक्षाका साथ सत्यको सामना गर्दै आफैँप्रति निर्मम हुने कि नहुने प्रश्न यहीँनेर छ । अबका दिनमा अगाडि बढ्नका लागि समयले नयाँ समीक्षा र संश्लेषणको माग गरेको छ । यसका लागि आवश्यक परे विस्तारित भेला पनि डाक्नु पर्दछ ।

०००

फागुन २१

 

You can leave a response, or trackback from your own site.

3 Responses to “आतङ्कित कमाण्डरहरूसित”

  1. Prasun says:

    2048 सालको एकता महाधिबेशनको राजनैतिक प्रतिबेदन(मस्यौदा)मा उल्लेखित पार्टीबारे,संयुक्त मोर्चा बारे र सशस्त्र संघर्षको स्वरुप र जनसेना निर्माणका लागि आधार तयार पार्ने काम बारे पेज 47 -50 मा प्रस्तुत बिचार आज पनि उत्तिकै सार्न्दभिक र बस्तुपरक रहेको छ भन्ने मेरो ठम्माइ रहेको छ ।” सशष्त्र जनबिद्रोहको सम्भाबना बारे मस्यौदामा भनिएको छ
    त्यस्तै पेज 12 मा भनिएको छ -“जब संघर्षबाट यथासम्भब टाढा रणनीतिलाई राख्ने प्रयत्न गरिन्छ तब त्यही सुधारबाद हुन्छ भलै हामीले सुधारबादको निकै बिरोध समेत किन नगरौ ।”
    तसर्थ अबको बाटो भनेको दिर्घकालिन सशष्त्र जनयुद्दको बाटो हो ।

  2. kumaradity says:

    Baraljilai dhanyawad. Sanchchaiho yo lekhle nayan partika katipaya netako tauko dukhaune chha. Netaharoole padhera yaslai gambhiratapurwak liye jati hunthyo.

  3. Ajay sapkota says:

    एकातिर स्पष्ठ कार्यदिशा र कार्यन्वयनको अभाब छ ।
    नेता तथा कार्यकर्ता सबै एकपटक आधार ईलाकामा झर्नुपर्छ ।लङ मार्चमा जानै पर्छ ।आधार इलाकाको ताप बिना काठमाण्डौमा कुनै प्रकारको लडाई जित्न सकिन्न ।आधार इलाकामा एक दुई जनाको उपस्थितीले गति पैदा गर्न सक्दैन ।
    राष्ट्रिय स्वाधिनता संकटमा भएपनि पहिले प्रचण्ड बाबुरामले यहि नारा अलाप्दै देश र सर्बहाराबर्ग प्रति बिश्वासघात गरेका कारण राष्ट्रियताको नारा हुनुपर्ने जति स्थापित हुन सकिरहेको छैन ।राष्ट्रिय स्वाधिनताको रक्षाको मामलामा भिषण संघर्षमा जान अब अबेर गर्न हुन्न ।
    पछिल्लो 8 बर्षे शान्ति प्रक्रियामा आएपछि माओबादिहरु स्वाँठ अल्छि बढि बोल्ने काम कम गर्ने भएकाछन ,अध्ययन अध्यापन त कुरै छोडौ प्रायमा अध्ययन गर्ने बानिमा ह्रास आएको छ ।जनयुद्दमा शाहि सेनाको घेराबन्दिमा समेत बोटलमा मट्टितेल बोकेर समय मिलाएर अध्ययन गर्ने नेताहरु अहिले 2 पेज भन्दा बढि पढ्यो कि निन्द्रा लाग्छ भन्छन ।अब सबै बिग्रेको चिज आलोचना र आरोपले बन्दैन भिषण बर्ग संघर्षको माध्यमबाट मात्रै यि समस्या हल होलान अन्यथा कार्यकर्तामा
    शिघ्र बिजय भाव बढ्दै जानु
    नेताहरुमा रुपान्तरण तत्काल नहुनु अन्तत बिचलन पलायन नैराश्यता बढ्दै जान्छ
    यो सबै प्रचण्ड बिना फेरि क्रान्ति गर्न सकिन्न भन्ने पुरानै धङधगी बाट मुक्त हुन नसक्नुको र समस्त क्रान्तिप्रति नै अबिश्वास हुनु हो ।

Leave a Reply

See real websites hosted and built by iPage customers.