आआफ्ना हतियारसाथ जुटौँ

new photoडा. ऋषिराज बराल

आजभोलि साहित्यिक (गैह्र साहित्यिक पनि) लेखक तथा पाठकहरू भेट हुँदा अक्सर गरेर सुन्ने गरिन्छ आजभोलि तपाईँका लेखरचनाहरू पढ्न पाइँदैनन् ।यो कुरा यस टिप्पणीकारका बारेमा पनि लागु भएको छ । कवि तथा सचेत पाठक सङ्गीत श्रोताले पत्रिकामार्फत बराल हराएको सूचना  नै जारी गर्नुभयो । खासखास पत्रिकामा देखिएपछि  र बेलाकुबेलामा  हुने खासखास प्रकृतिका जमघटहरूमा सामेल भएपछि मात्र नहराएकोबुझिने अहिलेको समकालीनताको चरित्रमा यस्ता कुरा उठ्नु अस्वाभाविक पनि होइन । हामी सबैका आआफ्ना प्लेटफर्म छन्  र हुन्छन् । खासखास प्लेटफर्ममा नदेखिँदा हराएको भन्ने लाग्न  पनि सक्छ/बुझ्ने गरिन्छ । र पनि मेरो सन्दर्भमा भन्दा  यस्ता भनाइहरूको पछाडि सत्यको केही अंश चाहिँ छ । साँचो हो, यताका दिनमा मेरो साहित्यिक लेखन केही पातलिएकै हो । राजनीतिले निर्माण गरेको परिवेश, अध्ययनका लागि समयको व्यवस्थापनको समस्या र आदिइत्यादि कुराले पनि यसमा काम गरेको छ भन्ने मलाई लागेको छ ।

साहित्यिक लेखनको आफ्नै एउटा सार्वभौम नियमसङ्गति हुन्छ/देखिन्छ ।

पहिलो कुरा आरम्भका दिनमा अनुभूतिहरू अटेसमटेस भएर आउँदा रहेछन्, ठेलमठेल भएर निस्कन खोज्दा रहेछन्, धैर्य गर्न मन नलाग्ने ।  परिष्कारतिर लाग्नुभन्दा लेखेको लेखै र छापेको छापै गरौँजस्तो हुँदो रहेछ ।  नाम छाप्ने, परिचित हुने, सबैतिर अनुहार देखाउने, चर्चामा आउने, स्थापित हुने ध्याउन्ना बढी हुँदो रहेछ । अनुभूतिमा पनि विचार र चेतनाको गहिराइभन्दा दृश्यजन्य र तात्कालिक  अनुभूतिपक्ष बढी प्रभुत्वशाली बन्दो रहेछ । यसो हुँदा  भौतिक गतिविधिलगायत लेखनमा सङ्ख्यात्मक पक्ष बढी सक्रिय बन्दो रहेछ ।

 अन्यत्र र परको कुरा छाडौँ । हामीले लेखन थाल्दा साहित्यिक वातावरण अर्कै थियो । पञ्चायती व्यवस्था थियो । पत्रपत्रिका थोरै थिए । मार्क्सवादइतर क्षेत्रमा मधुपर्क थियो, रूपरेखा थियो । रूपरेखामा छापिनु ठूलै कुरा मानिन्थ्यो । स्तरीयताको खोजी अलि बढी हुन्थ्यो त्यहाँ । पछि विचारप्रधान पत्रिकाका रूपमा सङ्कल्प, वेदना प्रकाशित हुन थाले ।  एउटा लेखक स्थापित हुन, लेखकसमालोचकका रूपमा परिचित हुन कम्तीमा पनि एक दशक लाग्छ भन्ने मान्यता थियो । त्यतिबेला आजभोलिको जस्तो एकदुइटा लेख्यो, होहल्ला गर्यो , प्रचारबाजी गर्यो , म निकै नामी लेखक भएँ भनेर आफैँ गजक्क पर्ने अथवा रमाइलो र रमझममा तपाईँ त महान् नै  हुनुभयो भनेर कसैले सुरबेसुरमा भनिदिँदा साँच्चै हो झैँ गरी भुइँमा खुट्टा नहुने  स्थिति थिएन । राम्रो लेखनमा प्रतिस्पर्धा हुन्थ्यो र  होहल्लाले होइन, राम्रो लेखेपछि मात्र स्थापित होइन्छ भन्ने मान्यता थियो । केही अपवाद थिए, तर समालोचक पनि आफ्नो समालोचना धर्मप्रति केही सचेत हुन्थ्यो । पहिलो भन्दा अझ राम्रो लेखन निरन्तर आत्मसङ्घर्ष गर्नुपर्छ भन्ने  लेखनचेत र कलाचेत लेखनप्रति प्रतिबद्ध सबै स्रष्टाहरूमा हुन्थ्यो ।  अहिलेका टुप्पाबाट पलाएका  लेखकसाहित्यकारहरू, कवि मित्र विमल निभाले एउटा व्यङग्य लेखमा भन्नु भएझैँ सेलिब्रेटी साहित्यकारहरूको कुरा छाडि दिने हो भने यी सन्दर्भहरू एउटा गम्भीर लेखक जोसुकैले पनि हिजोका दिनमा भोगेका सन्दर्भहरू हुन् । सुरुमा सङ्ख्यात्मकतामा जोड दिए पनि अलि पछि गएपछि स्तर आदिप्रति संचेतना बढ्दो रहेछ र राम्रो लेखनुपर्छ भन्ने गम्भीरताको बोध अलि बढी हुँदो  रहेछ । यो एउटा गम्भीर लेखक/समालोचकले हिजोका दिनदेखि अनुभूत गर्दै आएको कुरा हो ।

जतिबेर म त्रिभुवन विश्वविद्यालयमा  प्राध्यापकका रूपमा कार्यरत थिएँ, मेरो अध्ययनअध्यापनको विषय र मेरो लेखनबीच एक किसिमको तादाम्य थियो । बहस, विवाद, छलफल र प्रतिस्पर्धा पनि त्यसैमा हुन्थ्यो । त्यहाँ विचार थियो, राजनीति थियो, तर मूल कर्मथलो, मैले गरेका कामहरू देखिने मूल ठाउँ  सहित्यिकसांस्कृतिक क्षेत्र नै थियो । म बढी बौद्धिक क्षेत्र त्यसमा पनि साहित्यकार र पाठककै बीचमा हुन्थेँ । समय नयाँ किसिमले विकसित हुँदै गयो । सहज किसिमले बसेर लेखन सक्ने अवस्था रहेन र कलमले मात्र पुग्ला जस्तो पनि लागेन । र मैले भूमिगत जीवन रोजेँ, मैले लडाइँको नयाँ मोर्चा रोजेँ । योसँगसँगै मैले अध्ययन गर्नुपर्ने, मैले बुझ्नुपर्ने, लेखनुपर्ने र गनुपर्ने अरू पनि थुप्रै कुराहरू रहेछन्, म त महासागरको एउटा छेउमा,  कुनामा पो उभिएको रहेछु भन्ने  मलाई बोध भयो । त्यस अवस्थामा समय अलि बढी युद्धमोर्चामा बित्नु स्वाभाविक बन्यो ।  र पनि मेरो मूल हतियार कलम नै हो भन्ने कुरामा म सदैव सचेत रहेँ ।

यता पार्टी शान्तिप्रक्रियामा आएपछि स्थिति फेरियो । विगतण्डावादको सिकार हुनुको कारण म मेरो मूल कर्मथलो साहित्यिकसांस्कृतिक क्षेत्रबाट हट्नुपर्ने अवस्था आयो । एकातिर यस्तो थियो भने अर्कोतिर राजनीतिको जोडघटाउ र पार्टीभित्र निरन्तर चर्किँदै गएको र चर्काउनै पर्ने दुई लाइन सङ्घर्षमा तमासे बन्ने स्थिति थिएन/रहेन । क्रान्ति र प्रतिक्रान्तिबीचको यस द्वन्द्वमा, राष्ट्रिय आत्मसमर्पणवादविरुद्ध राष्ट्रिय स्वाधीनताको यस लडाइँमा तमासे बन्नु भनेको सोझै जनविरोधी कित्तामा उभिनु थियो र हो । जुन मूल्यका लागि म सबै कुरा छोडेर महान् जनयुद्धमा लामबद्ध भएको थिएँ,  जुन आदर्श प्राप्तिका लागि म युद्ध मोर्चामा होमिएको थिएँ, त्यो पूरा भएको थिएन । स्थिति उल्टो भएको थियो । एक थरी नेताहरूले गद्दारी गरे । तिनीहरूले रगतको इतिहाससित खेलवाड गरे । तिनले नेपाली क्रान्तिलाई धोका दिए, देशीविदेशी प्रतिक्रियावादीका सामु आत्मसमर्पण गरे । यसबाट पार्टीभित्र क्रान्ति र प्रतिक्रान्तिबीच भीषण वर्गसङ्घर्ष चल्नु स्वाभाविक थियो । पार्टीलाई विसर्जन र विचलनबाट नजोगाउने हो भने महान्  जनयुद्धको त्यो महान् गाथा,  त्यसमा बगेको सहिदको रगत, त्यो उदात्त आदर्श र मूल्यप्रति गद्दारी गर्नु हुन्छ भन्ने प्रतिबद्धताबोधका कारण म अलि बढी राजनीतिक मोर्चामा सक्रिय भएको सही नै हो । यो आवश्यक थियो र स्वाभाविक पनि थियो ।

यताका दिनमा समय असाध्यै  गतिमा चलेको छ ।  भित्रैबाहिरै जताततै लडाइँका मोर्चाहरू सक्रिय भइरहेका छन् ।  मूल कुरा  राजनीति  हो । सबै कुराको निर्धारण राजनीतिले गर्छ र अहिलेको भताभुङ्ग स्थितिको कारण पनि राजनीतिले सही दिशा लिन नसक्नु अर्थात् यसलाई सही बाटोमा लैजान नसक्नु हो भन्ने मेरो ठम्याइँ छ । यस प्रयासमा म अलि बढी  राजनीतिक क्षेत्रमा सक्रिय भएको हुँ । केही लेखिरहेकै छु, । र पनि साहित्यिकसांस्कृतिक क्षेत्रमा  हाम्रो हस्तक्षेप नपुगेकै हो । यतिखेर राष्ट्रियता र जनतन्त्रप्रति प्रतिबद्ध सबै लेखकसमालोचकहरू एकताबद्ध भएर एकातिर सचेतकको भूमिकामा सक्रिय हुनुपर्ने अवस्था छ भने अर्कोतिर उत्तरआधुनिकतावादी विसर्जनवादी  विभ्रमविरुद्ध मात्र होइन, मार्क्सवादका नाममा भए/गरेका सबै प्रकारका विकृति र विसङ्गतिविरुद्ध सङ्गठित र योजनाबद्ध लडाइँ लड्नुपर्ने अवस्था छ ।

अहिले असाध्यै गम्भीर र जटिल अवस्था छ । मार्क्सवादका आधारभूत मूल्यप्रति सचेत र प्रतिबद्ध स्रष्टासांस्कृतिक कर्मीहरू असाध्यै गम्भीर हुनुपर्ने अवस्था छ । नाम जे जे दिए पनि नेपाली राजनीतिमा यथास्थितिवादलाई  जबर्जस्त किसिमले स्थापित गराउन खोजिँदैछ । त्यसैगरी साहित्यिकसांस्कृतिक आन्दोलनमा मार्क्सवादको भ्रष्टीकरणा र विकृतीकरणमार्फत उत्तरआधुनिकतावादी शून्यवादलाई मलजल प्रदान गर्ने काम पनि भइरहेको छ ।  फ्रान्सको सन् १९६० को दशकपछिको स्थितिझैँ शून्यता,  निराशा र अराजकताको भयानक योजनाबद्धताको स्थिति तयार पारिँदैछ । चारैतिर   उपभोक्तवादको चकचकी छ । बजार कब्जा गरेर बसेका खासखास प्रचारमाध्यमहरू यथार्थको विभ्रमीकरणामा योजनाबद्धताका साथ लागेका छन् । यस्तो बेला खासखास पत्रिकामा उपस्थित नभएको  अथवा खासखास जमघटमा सामेल नभएकै आधारमा कोही हराएको अथवा नहराएको धारणा बनाउनु वैज्ञानिक हुँदैन ।

लडाइँका विभिन्न मोर्चाहरू हुन्छन् र कहिले कुन मोर्चा प्रधान हुन्छ र कहिले कुन मोर्चा । तिनमा उसको उपस्थिति र सक्रियता  केकस्तो किसिमको रह्यो भन्ने  कुरा  प्रधान हुन्छ । नेपालमा मार्क्सवादमा आस्था र विश्वास राखने ठूलो बौद्धिकसांस्कृतिक शक्ति छ । तर यसको ठीक ढङ्गले परिचालन हुन सकेको छैन । मार्क्सवादी साहित्यिकसांस्कृतिक आन्दोलन अहिले भीषण चुनौतीका बीच गुज्रिरहेको छ । एक किसिमको भताभुङ्ग र लथालिङ्गको स्थिति छ । यसले क्रान्तिकारी विचारको केन्द्रीयतामा सबल नेतृत्वमार्फत योजनाबद्ध प्रतिरोध र गतिको माग गरेको छ । यस्तो बेला कोही पनि, एउटा मार्क्सवादी स्रष्टा, लेखकसमालोचक चुपचाप बस्ने स्थिति आउँदैन र आउनु पनि हुँदैन । जो जो जहाँ जहाँ छौँ, त्यहीँबाट आआफ्ना हतियार उठाउनु आवश्यक छ ।

 साहित्यिकसांस्कृतिक क्षेत्रमा हस्तक्षेप पुगेको छैन भन्ने कुरामा विवाद छैन  । माओले भन्नुभएझैँ भुत्ते चक्कूले रगत आउँदैन र भद्दा सिपाहीको पल्टनले लडाइँ जित्न सकिंदैन  । यसको कारण खोज्दै सङ्गठित र योजनाबद्धताका साथ अघि बढ्नु आजको आवश्यकता हो । यो साहित्यिकसांस्कृतिक क्षेत्रको मात्र नभएर राजनीतिक क्षेत्रको पनि चासो र चिन्ताको विषय बन्नुपर्छ/हुनुपर्छ । प्रश्न बराल वा अरू कोही  हराउनु वा नहराउनुको होइन, प्रश्न क्रान्तिकारी साहित्यिकसांस्कृतिक आन्दोलनको भविष्यको हो  । अझ मूल प्रश्न क्रान्तिकारी राजनीतिक आन्दोलनको दिशा र गतिको हो । हामीलाई थाहा छ, सबै कुराको निर्णय राजनीतिले गर्छ । अहिलेको अवस्थामा ऊर्जाहीन र खटारा गाडीको चाल र तालजस्तो आन्दोलन पुग्दो छैन,  आक्रामक शैली आवश्यक छ  । राजनीतिक क्षेत्रका हौँ, अथवा साहित्यिक क्षेत्रका, हामी सबै केही न केही मात्रामा कताकता  हराएका जस्ता भएकै छौँ/हौँ ।  हिजो जितेर पनि हामी हारेहस्ता भयौँ । हामीलाई विश्वास छ, अबहामी पराजय भोग्ने छैनौँ, हामीले राष्ट्रिय स्वाधीनता र जनतन्त्रको झण्डा उचालेका छौँ ।

०००

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.