अब छिनोफानो हुनुपर्छ : डा. ऋषिराज बराल

यही असार १ गते हुने भनिएको एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को स्थायी समितिको बैठक बस्न  सकेको  छैन । तयारी नपुगेको भनिए पनि कारण अर्कै रहेको कुरा सबैले बुझेको कुरा हो । यताका दिनहरूमा प्रचण्डले पार्टी बैठकसित संबद्ध सबै मूल्यमान्यताको हरण गरी तानाशाही शैलीमा आफुलाई जे मन लाग्छ त्यही गरेको कुरा सबैलाई थाहा छ । एकपछि अर्को गरेर केन्द्रीय समितिका निर्णयहरू उनले मनोमानी किसिमले उल्टाएका छन् र असाध्यै दूरगामी प्रभाव पार्ने र जनयुद्धका सम्पूर्ण इतिहासलाई ध्वस्त पार्ने गम्भीर प्रकृतिका निर्णयहरू एकमना ढङ्गले गरेका छन् ।  यसले बैठकको आवश्यकता, औचित्य र सार्वभोमिकताका साथै पद्धति र प्रक्रियाको अर्थ र औचित्यमाथि नै प्रश्न उठाएको छ । प्रचण्डले पार्टीलाई आफ्नो लगानीमा सञ्चालित कुनै व्यापारिक संस्था वा निजी क्लबमा परिणत गरिदिएका छन् । बैठक बस्नु र नोट अफ डिसेन्ड लेखेर प्रचण्डलाई मनपरी गर्ने बाटो खुला गर्नु अथवा गलत निर्णयलाई जनवादी केन्द्रीयताका नाममा वैधानिकता दिनुभन्दा बढी बैठकको औचित्य पनि यतिबेर देखापर्दैन ।

कमरेड मोहन वैद्य पक्षधर विचार समूहको भेला र बैठकहरू निरन्तर भइरहेको कुरा पत्रपत्रिकामा आइरहेका छन्, र यो साँचो पनि हो । अहिले पत्रपत्रिकाका लागि यो एक किसिमको रमाइलो पनि भएको छ । यो रहर वा समय काट्ने मेलो नभएर समयको अनिवार्य परिणाम हो । विचारको रक्षा र क्रान्तिको निरन्तरताका लागि सङ्घर्षका सबै मोर्चाहरू र सबै रूपहरूको प्रयोग गर्नु आवश्यक र औचित्यपूर्ण छ । वर्गसङ्घर्षकै शैली र रूपमा विकसित हुन थालेको दुई लाइन सङ्घर्षबाट भागेर वा नोट अफ डिसेन्ट लेखेर मात्र विचार, क्रान्तिकारी कार्यकर्ता र इतिहासको रक्षा र विकास हुने स्थिति छैन । पूरा छलाङमय गतिमा प्रचण्डको दक्षिणयात्राको गति सबैका सामु छ र यस्तो बेला क्रान्तिका पक्षधरहरूले चुपो लागेर बस्ने स्थिति हुँदैन ।

जनमुक्ति सेनाका कमाण्डरहरूको भेलापछि आँखा चिम्लेर दक्षिणतिर कुदेका प्रचण्ड केही हच्केका देखिन्छन् । दुईतीन जना कमाण्डरहरुबाहेक अधिकांशले प्रचण्डको आत्मसमपर्णवादलाई उनले चाहेजस्तो गरी साथ नदिएको कुरा बाहिर आइसकेको छ । यसपल्ट कृत्रिम रुवाइमार्फत प्रभावित पार्ने उनको पुरानो चाल र शैलीले पनि काम दिएको  देखिएन । अधिकांश कमाण्डरहरू जनमुक्ति सेनाको बेइज्जत हुने गरी आत्मसमर्पणा गर्ने प्रचण्ड–निर्णयको विरोधमा खुलेरै उत्रिएको थाहा भयो । यस्तो बेला उनी विरामी पर्नु स्वाभाविक थियो । भ्रष्टाचारी, लठैत र अपराधी मनोवृत्ति र प्रवृत्तिका  केही व्यक्तिहरूबाहेक पार्टीका कार्यकर्ताको ठूलो पंक्ति क्रान्तिकारी धारतिर केन्द्रित हुँदै जानथालेको यस घडीमा प्रचण्डलाई बिरामीले  नसताउने भन्ने कुरा भएन । अझ कमरेड मोहन वैद्यले प्रस्तुत गर्नु भएको भनेर सार्वजनिक भएको १८ बुँदे सूची प्रचण्डका लागि ठूलै बिरामीको कारण बनेर लामो अवधिसम्म बैठक नबस्ने स्थिति नबन्ला पनि भन्न सकिँदैन ।

वास्तवमा क्रान्तिकारी कवि पूर्ण विरामले आफ्नो कवितामा भनेझैँ सगरमाथाझैँ देखिने प्रचण्डको बिम्ब आजभोलि पिउरीको सानो सुइरोझैँ देखिन थालेको छ । आफूले बनाएको बिम्ब यसरी ढल्दा परिवर्तनका पक्षधर आमजनमानसमा पीडाबोध हुनु पनि स्वाभाविक छ, हामीलाई त झन् छ । प्रचण्डको स्थिति यस्तो छ भने केही दिन यता बाबुराम चाहिँ ‘सरकारले राजिनामा दिनुपर्छ, माओवादीको नेतृत्वमा सरकार बननुपर्छ’ भनेर रट लगाइरहेका छन् । अझ  प्रणव मुखर्जीको नेपाल आउने समय नजिकिँदै जाँदा उनको स्वर चर्किँदै गएको देखिन्छ । उनका आसेपासेहरूले उनको पक्षमा सवाइ गाइररहेका भेटिन्छन् । ‘वैद्य समूहको सहयोग र समर्थन  बाबुरामलाई छ’ भन्दै  उनीहरू दक्षिण राग दिक्क लाग्दो गरी अलापिरहेका छन् । उनीहरूले दुनियाँलाई मूर्ख बनाउँदै भन्ने गरेको पाइन्छ: वैद्य पार्टीका नेता,  बाबुराम सरकारका नेता । यतिबेर एउटा प्रायोजित सूचना र समाचार बडो योजनाबद्ध ढङ्गले फैलाउने काम भइराखेको देखिन्छ ।

वैद्य विचार समूह भनेको माथिका एक दुई जना मात्र होइनन् । यो भनेको सेलदेखि स्थायी समितिसम्मका क्रान्तिकारी कमरेडहरूको विचार र चेतनाको समुच्चय रूप हो । विचार समूह भनेको विचार, प्रतिबद्धता र क्रियाशीलताको समग्र पक्ष हो । यहाँ पनि पारदर्शिता र सामूहिकताको आवश्यकता छ । हामीले प्रचण्डको एकमनावाद, प्राधिकारवाद, हैकमवाद र तानाशाही प्रवृत्तिका विरुद्ध झन्डा उचालेका हौँ । बाबुरामलाई प्रधानमन्त्री बनाउनमा वैद्य समूहले निर्णय गरिसकेको वा  समझदारी भइसकेको भनेर जसरी कुराहरू बाहिर आएका छन्, यसमा अलिकति पनि सत्यता छैन र यसको तर्कपूर्ण आधार पनि छैन । अझ बाबुराम संसदीय दलको नेता  र गौरव संसदीय दलको उपनेता भनेर जसरी कुराहरू बाहिर आएका छन्, यो त हास्यास्पद नै देखिन्छ । विचार समूहको  नाम अघि सारेर अहिलेको विशिष्ट स्थितिमा कसैले यस्तो  निर्णय दिन्छ या गर्छ भन्ने लाग्दैन ।

प्रचण्ड बेठीक भन्नुको अर्थ बाबुराम ठीक भनेको कदापि होइन । वास्तवमा क्रान्तिकारी धारले प्रचण्डको रिसले बाबुरामलाई समर्थन गर्ने कुरै हुँदैन, बरु आफ्नो स्वतन्त्र धारको विकास र विस्तारमा जोड दिनु आवश्यक छ । यसका सम्बन्धमा बाबुराम पक्षले जुन किसिमको प्रोयोजित प्रचार गरिरहेको छ, यसले कार्यकर्तामा भ्रम उत्पन्न गराएको छ । भ्रमले अविश्वासको वातावरण तयार पार्छ भन्ने कुराप्रति क्रान्तिकारी विचारसमूहको नेतृत्वको जिम्मा लिनुभएका कमरेडहरू सचेत हुनु आवश्यक छ । चाहे संसदमा होस्, चाहे सरकारमा विकल्पहरूको निर्माण र तयारी क्रान्तिकारी धारबाट नै खोज्नुपर्दछ । नत्र क्रान्तिकारी आवरणमा अर्कै स्वार्थ लुकेको यथार्थलाई स्वीकार गर्नुपर्ने देखिन्छ । मूल कुरा क्रान्तिलाई सर्वोच्च हितमा राखेर तत्काल र दीर्घकालीन योजना बनाउनु र त्यसैअनुसार पात्रको चयन र जिम्मेवारी बाँडफाँड गर्नु अहिलेको आवश्यकता हो । क्रान्तिकारी विचारसमूहभित्र पनि अवसरवादीहरू छैनन् भनेर ठोकुवा गर्ने ठाउँ छैन । को के हुने वा कसले कुन मोर्चाको जिम्मेवारी लिने कुरा क्षमता, दक्षता, अनुभव, प्रतिबद्धता र आन्दोलनमा गरेको लगानीका आधारमा सामूहिक निर्णयद्वारा तय भए मात्र विगतका कमजोरी र प्रचण्ड मनोवृत्तिबाट बच्न सकिन्छ । प्रचण्ड मनोवृत्ति व्यक्ति होइन, प्रवृत्ति हो र त्यही स्कुलिङबाट आएका कतिपय कमरेडहरू यसबाट मुक्त छैनन् भनेर पनि बुझ्नु जरुरी छ । हाम्रा सबै कमरेडहरूले एकको दुईमा विभाजित छौँ भनेर बोध गर्नु जरुरी छ ।

जेठ १४ को स्थायी समितिको बेठकमा बहुमतका नाममा पेलेर प्रचण्डले एकमना शैलीमा जेजस्तो निर्णय गरे सारतः त्यो निर्णय दक्षिणपन्थी आत्मसमर्पणवादको द्योतक थियो । यो विन्दुमा आइसकेपछि क्रान्तिकारीहरूका सामु बाँकी भनेको राष्ट्रिय स्वाधीनता र क्रान्तिका लागि क्रान्तिकारी निरन्तरताको बाटोमा अघि बढ्नु नै हो ।  कमरेड वैद्यका १८ बुँदामा प्रचण्ड ‘राजनीतिमा मध्यपन्थी अवसरवादी हुँदै दक्षिणपन्थी सुधारवादतर्फ उन्मुख र राष्ट्रिय आत्मसमर्पणवादतर्फ उन्मुख देखिएको’ भनिएको छ । प्राविधिक तारतम्य मिलाएर प्रचण्ड दक्षिणपन्थी सुधारवाद र राष्ट्रिय आत्मसमर्पणवादमा पतन भएको कुरा प्रस्ट पार्न खोजिएको कुरा सहजै बुझ्न सकिन्छ । महाधिवेशन वा अन्य रूपहरू सक्छन्, तर यति भनिसकेपछि कि प्रचण्डलाई नेतृत्वबाट हटाउनुपर्छ कि आफूले सम्बन्ध विच्छेद गर्नुपर्छ, यो विचार र नैतिकतासित गाँसिएको प्रश्न हो ।

‘प्रचण्डलाई ठीक पार्न बाबुरामसित मिल्ने वा बाबुरामलाई सरकारको प्रमुख बनाउने र पार्टीको प्रमुख वैद्य हुने कुरामा वैद्य समूहसित समझदारी भएको’ भनेर आजभोलि जसरी कुराहरू बाहिर आएका छन, यी कुरा क्रान्तिकारी विचारको रक्षा र निरन्तरताको कोणसित त पटक्कै मेल खाँदैनन्, साथै गम्भीर षड्यन्त्रको आभास दिने खालका पनि छन् । वास्तवमा यो  भारतीय विस्तारवादको ग्रान्ड डिजाइनको उपज हो र यसो गर्नु विचारविचलन र आत्मघाती चिन्तनमात्र हुन्छ । खासखास बुंदा र सन्दर्भमा क्रान्तिको आवश्यकतालाई हेरेर कहिले कोसित र कहिले कोसित सहकार्य हुन सक्ने वा अल्पकालीन मोर्चा बनाउन सकिने कुराप्रति विमति नभए पनि प्रचण्डको रिसमा, आफूलाई घोषित रूपमै भारतपरस्त देखाउनमा गर्व गर्ने र आजको मार्क्सवादका नाममा युरोकम्युनिज्मको वकालत गर्ने बाबुरामलाई प्रचण्डको विकल्पमा उभ्याउन खोज्ने प्रवृत्ति वैचारिक विचलनको उपज मात्र हुन्छ । कुटनीतिक चालका नाममा अथवा पार्टीसत्ता प्रचण्डका हातमा भएकाले उनलाई  प्रमुख निसाना बनाउन बाबुरामसित मिलेर जाने ‘प्रधान दुस्मनलाई ठीक पार्न गौण दुस्मनलाई नछुने’  फर्मुला लागू गर्ने हो भने यो संसदीय गोलचक्करमै रमाउने अर्को घातक कदम हुनसक्छ । यसले क्रान्तिकारी विचारको गति, नीति र योजनालाई सघाउ पुग्दैन । यस्तो निर्णय क्रान्तिकारी विचार समूहको निर्णय हुन सक्तैन र हुनु पनि हुँदैन । यो पनि अन्ततः वाम कोणबाट गरिएको दक्षिणपन्थी अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवादी कदम हुन्छ भन्ने कुरामा ध्यान दिनु आवश्यक छ । क्रान्तिकारीहरूले सारमा समान तर शैलीमा फरक प्रचण्ड–बाबुराम प्रवृत्तिको निर्मम भण्डाफोर गरी आफ्नो क्रान्तिकारी धारको विचारको रक्षा र नेतृत्वपङ्क्तिको विकास गर्नमा जोड दिनुपर्दछ ।

यतिबेरको क्रान्तिकारीहरूको प्रधान र केन्द्रीय पक्ष विचार र राजनीतिको उच्चता र निरन्तरतालाई सङ्गठन र व्यवहारमा रूपान्तरण गर्ने हुनुपर्दछ । जनमत सिर्जना अभियान जसरी गइरहेको छ, यसको आवश्यकता र महत्त्व दुवै छ, तर मूल जोड योजना र दिशातर्फ हुनुपर्दछ । यतिबेर आवेगले होइन विवेकले काम गर्नुपर्दछ, भन्ने कुरामा विमति छैन, तर समयलाई पाको हुन दिने वा प्रक्रिया मिलाउने नाममा माझीको सल्लाहझैँ  हुने कुराप्रति पनि त्यत्तिकै ध्यान दिनु जरुरी छ । एकताका नाममा ‘प्रचण्डमार्ग’ सितको निरन्तरता पनि विसर्जन हो र बिनातयारीको छलाङ पनि विसर्जनवादी खतरायुक्त हुनसक्छ भन्ने कुरामा सचेत हुनु आवश्यक छ ।

प्रचण्डबाट अझै ‘रूपान्तरणा’ को आशा गर्नु नैतिक र वैचारिक दृष्टिले पनि तर्कपूर्ण देखिँदैन । प्रचण्ड धेरै पर पुगिसकेका छन् । अब उनीबाट नेपाली क्रान्तिको नेतृत्वको आशा गर्नु भनेको हावामा महल बनाउनु मात्र हो । बालुवामा पानी हालेर समयको नाश गर्नुको औचित्य छैन । यसले क्रान्तिकारीहरूमा सचेतन प्रयासप्रति अरुचि, दृड इच्छाशक्तिको अभाव र  क्रान्तिकारी आशावादिता र प्रतिबद्धताको कमीको मात्र द्योतन गर्दछ । आवश्यकताको संसारबाट स्वतन्त्रताको संसारमा छलाङ मार्नुको अब विकल्प छैन ।

०००

You can leave a response, or trackback from your own site.

One Response to “अब छिनोफानो हुनुपर्छ : डा. ऋषिराज बराल”

  1. ajay sapkota says:

    ramro article chha..hami chahanchau sake samma party nafutos…kiran,prachanda,baburam milera nai kranti aghi bados,,sakesamma tehi hos vanne chahanchau,,sakesamma galti haru sudhardai janu parchha ani prachanda ani baburamalai krantikari nai banaunu parchha jasto lagchha…kranti ko bikalpa chaine chaine chaine 100% chaine ….sakesamma party nafutos

Leave a Reply

See real websites hosted and built by iPage customers.