अब कसलाई कारबाही गर्ने कमरेड ?

new photoऋषिराज बराल
जनआस्था साप्ताहिकको फागुन ५ को अङ्कमा प्रकाशित ‘क्रान्ति, केको क्रान्ति, कस्तो क्रान्ति ?’ शीर्षकमा प्रकाशित ‘पाठकपत्र’ सित सम्बन्धित भएर उठेका टिप्पणीहरूका सन्दर्भमा मैले केही कुरा प्रस्ट पार्नु आवश्यक ठानेको छु । खासगरेर मेरो पुस्तक सत्ता र संस्कृति मा समाविष्ट ‘जनयुद्ध, सांस्कृतिक आन्दोलन र जनसांस्कृतिक सङ्घ’ तथा ‘सांस्कृतिक सेनासम्बन्धी माओवादी दृष्टिकोण’ मा यसबारे प्रस्ट पारेको हुँ तापनि अहिले आएर विषयसन्दर्भहरू नयाँ किसिमले उठेकाले यसबारे पुनः केही प्रस्ट पार्नु आवश्यक ठानेको छु ।


‘पाठकपत्र’ मा ‘अखिल नेपाल जनसांस्कृतिक महासङ्घ’ को विगतको सम्मेलनदेखिका कुराहरूका साथै त्यसमा इच्छुक सांस्कृतिक प्रतिष्ठानसित सम्बद्ध मुद्दाहरू पनि उठाइएका छन् । यसो हेर्दा यी फरकफरक विषय भए पनि यी एकअर्कासित अन्तर्सम्बन्न्धित छन् । यी सबैको लामो व्याख्या यहाँ सम्भव नभए पनि यी सबै समस्याको जडचाहिँ ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ को तेस्रो राष्ट्रिय सम्मेलन हो भन्ने कुरा म प्रस्ट पार्न चाहन्छु । यो सबै सन्दर्भको प्रस्टताका लागि युद्धकालमा रोल्पामा पढ्न प्रतिबन्ध लगाइएको मेरो पुस्तक फेरिे लाल भन्ज्याङमा उभिएर र कथा ‘प्रति +आगमन= प्रत्यागमन’ को सन्दर्भलाई पनि यहाँ ल्याउनुपर्ने हुन्छ ।
२०६३ असोजमा तय गरिएको ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ को तेस्रो राष्ट्रिय सम्मेलनमा लागि केन्द्रीय संयोजकका नाताले मैले प्रतिवेदन तयार पारेँ । यसलाई लिएर सांस्कृतिक विभाग र आयोजक समितिको दुईतीन बैठक बस्यो । त्यतिबेर प्रचण्ड–बाबुराम घुमन्तु सिविरमा हुन्थे । भक्तपुर गेस्ट हाउसमा बसेको मिटिङमा मैले त्यतिबेला चर्चामा आएका तल उल्लेखित तीनवटा मुद्दामा बहसछलफल चलाएँ ।
१. जनार्दन शर्मा ‘प्रभाकर’ को उटपट्याङ चिन्तनको पछि लागेर ईश्वरचन्द्र ज्ञवाली र खासगरेर सेमभेकका केही साथीहरू जनमुक्ति सेनाका झैँ सांस्कृतिक क्षेत्रमा पनि कम्पनी, बटालियन, ब्रिगेड र डिभिजन बनाउने हठमा थिए । सांस्कृतिक सेना भनेको विचारको सेना हो, यो क्रान्तिकारी विचारबाट सङ्गठित हुन्छ, तर ब्रिगेड आदि हुँदैन, खास अभियानमा त्यसरी लामबद्ध हुन सकिए पनि जनसेनाका झैँ सांस्कृतिक पल्टनको स्थायी बटालियन र ब्रिगेड हुँदैन भन्ने मेरो भनाइ थियो र माओले पनि सांस्कृतिक सेना र जनमुक्ति सेनाको संरचना र कार्य एउटै हँदैन भनेको सन्दर्भ हाम्रा सामु थियो । तर ब्रिगेड र डिभिजन बनाउँदा मात्र क्रान्तिकारी होइन्छ भन्ने र माओभन्दा क्रान्तिकारी देखिने चस्का लागेकाहरू यसमा सहमत भएनन् । प्रचण्डले पनि यसैमा ताली बजाए । यसबारे मैले निरन्तर बहस चलाएँ ।
२.कुनै पनि कृतिको सौन्दर्यशास्त्रीय पक्ष हुन्छ, यसलाई सङ्ख्या अथवा प्राविधिक किसिमले डण्डा लगाएर ठीकबेठीक भनेर खारेज गर्न मिल्दैन भन्ने माक्र्सवादी मान्यता हो । फेरिे लाल भन्ज्याङमा उभिएर र कथा ‘प्रति+आगमन=प्रत्यागमन’ का सन्दर्भमा उठेका विवादलाईमैले सौन्दर्यशास्त्रीय आधारमा बहस चलाऔँ, अंश होइन समग्रमा हेरौँ, भनेर तर्क गरेँ । यसबारेमा पार्टीको सिक्लेस बैठकमा एक किसिमको “समझदारी” पनि बनाइयो र यो समझदारीलाई सांस्कृतिक विभागको बैठकमार्फत पनि व्यवस्थित गरियो । तर यो मुद्दालाई सम्मेलनको सेरोफेरोमा प्रायोजित र निर्देशित रूपमा उछाल्ने काम गरियो ।
३. केही साथीहरू जनसांस्कृतिक सङ्घलाई महासङ्घमा लैजाने हठमा लागे । मैले भखैरै ‘शान्तिप्रक्रिया’ आएको र स्थिति कसरी अगाडि बढ्छ प्रस्ट नभएकाले महासङ्घलाई अवधारणाका रूपमा स्वीकार गरौँ, आवश्यकता अनुसार सङ्घभित्र विभाग बनाऔँ, महासङ्घमा जान हतार गर्दा वैचारिक तथा साङ्गठनिक अस्तव्यस्तता आउँनसक्छ भन्ने मेरो धारणा थियो ।
फेरिे लाल भन्ज्याङमा उभिएर र कथा ‘‘प्रति +आगमन=प्रत्यागमन’ का बारेमा सिक्लेस बैठकमा निर्णय भइसकेकाले सांस्कृतिक विभागको बैठकमा यो विषय त्यति बहसको विषय भएन । मूल बहस सांस्कृतिक क्षेत्रमा बटालियन र ब्रिगेड बनाउने कुरामै रह्यो । प्रचण्ड–बाबुरामले पनि यस विषयमा गोलमटोल कुरा मात्र गरे । माइला लामा र ज्ञवाली ब्रिगेड र डिभिजनको रमाइलोमा थिए । त्यसपछि सबै कुरा सम्मेलनमा लगेर हल गर्ने भनियो । तर सम्मेलनमा वैचारिक बहसको सट्टा होहल्ला र गुन्डागर्दीले प्रभुत्व कायम गर्यो । खासगरेर आफूलाई आधारइलाकाका भन्न रुचाउने केही हुल्लडबाजहरूले ममाथि भौतिक रूपमै आक्रमण गर्ने प्रयास गरे । केही त जथाभावी लेख्नेलाई अब सांस्कृतिक सेनाले ठोक्छ भन्दै कुर्सी भाँचेर ममाथि आक्रमण गर्नथाले । भित्री निर्देशन आधारइलाकाका बडे कमरेडहरूको थियो भन्नेमा म प्रस्ट थिएँ । प्रमुख अतिथि भएर आएका देव गुरुङ्ले पनि आगोमा घिउ थप्ने काम गरे । कस्ता मान्छेलाई सांस्कृतिक मोर्चामा ल्याएइछ भन्ने लाग्यो । यस किसिमको भद्रगोलमा सांस्कृतिक मोर्चामा रहनुको औचित्य रहेन ।
सांस्कृतिक सम्मेलनमा देखिएको गुन्डागर्दीको यो समाचारलाई अन्य पत्रिकाका साथै जनआस्थाले पनि विशेष रुचिका साथ छापेको थियो । यो ‘सम्मेलन’ पछि मैले तयार पारेको र पार्टीको सांस्कृतिक विभागले पारित गरेको प्रतिवेदनमा पूरै परिवर्तन गरेर उल्टोपाल्टो पारिएछ । सबैभन्दा आपत्तिजनक कुरा इतिहासको तोडमरोड गरेर सारै विकृत ढङ्गले प्रस्तुत गरिएछ । यो जनसांस्कृतिक सङ्घको प्रतिवेदन नभएर विकृत दस्ताबेजमा परिणत भएको थियो । २०६० सालमा सांस्कृतिक मोर्चाको केन्द्रमा ल्याइएका ईश्वरचन्द्र ज्ञवालीले नेकपा ( एकताकेन्द) बनेपछि तीनवटा सांस्कृतिक मोर्चाको एकताद्वारा बनेको संयोजन समिति २०४७ मा आफू पनि रहेको भनेर प्रतिवेदनमा लेखेछन् र त्यस समयमा रहेका अन्य साथीहरूको नाम हटाएछन् । मैले यसलाई घोर आपत्तिजनक ठानेँ । कसैको इतिहास नै गायब पार्नु र आफ्नो नाम थप्नु घोर अनैतिक काम थियो ।
यो सन्दर्भपछि सांस्कृतिक मोर्चासित मेरा ५ ओटा विषयमा मतभेद रहेको कुरा प्रकाशमा ल्याएँ । पहिलेका तीनवटामा अरू दुईवटा थपिएका थिए : १. प्रतिवेदनमा ज्ञवालीले गरेको इतिहासको विकृतीकरण सच्याउनुपर्ने र उनीमाथि कारबाही गर्नुपर्ने र २. वैचारिक बहसको सट्टा सम्मेलनमा भएको गुण्डागर्दी गैरमार्क्सवादी कार्य थियो भन्ने निर्णय गर्दै त्यसो गर्नेहरूमाथि कारबाही गर्नुपर्ने ।
समयले मैले उठाएका कुराहरू सही साबित गरेको छ । अहिले वैचारिक तथा साङ्गठनिक दुवै दृष्टिले सांस्कृतिक आन्दोलन लथालिङ्ग र भताभुङ्ग भएको छ । त्यतिबेला गुण्डागर्दी गर्नेहरू कतिपय आन्दोलनबाट पलायन भएका छन् र कतिपय सिसिएम र पिबिएम भएर विभिन्न ‘माओवादी’ मा बाँडिएका छन् ।
दस बर्स हुनलागेछ । त्यसपछि एउटै पार्टी र जनयुद्धको कालको केन्द्रीय संयोजक भएर पनि अहिलेसम्म जनसांस्कृतिक सङ्घ (हाल महासङ्घ) को कुनै पनि कार्यक्रममा म सहभागी भएको छैन र माथि मैले अगाडि सारेका मुद्दाहरू समाधान नहोउन्जेलसम्म सहभागी हुने स्थिति पनि छैन । त्यतिबेला ‘शान्तिप्रक्रिया’ को रमझममा प्रचण्ड–बाबुरामका लागि सांस्कृतिक मोर्चाका समस्या त्यति महत्वका भएनन् । तर किरण कमरेड जेलबाट छुटेर आएपछि यस सन्दर्भमा उहाँबाट जेजस्तो भूमिकाको आशा र विश्वास गरेको थिएँ, त्यो हुन सकेन । उहाँकै इन्चार्जसिपमा विकृतिलाई अनुमोदन गरियो । विकृतिमाथि विकृति थपियो । सांस्कृतिक आन्दोलनका समस्या कसरी हल गर्ने र कसरी अघि बढ्ने भन्ने कुरामा किरण कमरेडसित अलिकति पनि विचारविमर्श हुनसकेन । यसमा उहाँको रुचि नै रहेको पाइँन । बरु त्यतिबेला मैले उठाएका प्रश्नहरूमा किरणभन्दा प्रचण्ड केही सकारात्मक, सहयोगात्मक र खुलस्त देखापरेको अनुभूत मलाई भएको थियो । एउटै पार्टीमा छँदा चीन जानुभन्दा अघि सायद २०६६ असोजमा प्रचण्ड–किरणले नयाँ बजार निवासमा मलाई बोलाएर छलफल चलाएका थिए । त्यहाँ पनि मैले उठाएका मुद्दाहरूको सन्दर्भमा किरण कमरेडभन्दा प्रचण्डमै मैले बढी प्रस्टता र खुलस्तता अनुभूत गरेको थिएँ ।
अब यताको १० वर्षको लेखाजोखा गर्नु आवश्यक छ । ज्ञवाली मात्र होइन । यी १० वर्षमा सांस्कृतिक आन्दोलनका समस्या समाधान गर्न, विकृतिहरू हटाउन र एकताबद्धका साथ सांस्कृतिक आन्दोलनलाई अघि बढाउन फ्याक्सन इचार्ज बनेकाहरूको भूमिका केकस्तो रह्यो त्यसको पनि समीक्षा हुनु जरुरी छ । ज्ञवालीद्वारा इतिहासलाई विकृत पारिएको र लाल सलाम फिल्मलगायतका घटनाहरूका भएका भ्रष्टाचारहरूलाई लिएर ‘महासङ्घ’ मा प्रश्न उठेपछि छानबिन आयोग बनेको कुरा चर्चामा आए पनि आफू त्यसमा नरहेकाले यसबारे विस्तृत रूपमा केही भन्न सक्ने स्थिति छैन ।
जहाँसम्म इच्छुक प्रतिष्ठानको कुरा छ । प्रतिष्ठान बनाउने निर्णय पार्टीको फुन्टिवाङ बैठकपछि रोल्पाको इरिवाङमा बसेको सांस्कृतिक मोर्चाको बैठकले गरेको थियो । भारतीय जेलबाट छुटेर आएपछि ठमेलको होटलस्थित प्रचण्ड क्याम्पमा कमरेड किरणको संयोजकत्वमा सुरुमा म र पाख्रिनको समिति बन्यो र पछि अरू नाम थपिँदै गएका हुन् । ज्ञवाली यहाँ पनि दुई वर्षपछि जोडिएका हुन् ।
अहिले इच्छुक प्रतिष्ठानमा पनि भ्रष्टाचारका कुरा आएका छन् । मलाई थाहा छ यससित पनि थुप्रै गुप्त अगुप्त पक्ष जोडिएछन् । महँगोमा आफ्नो जग्गा प्रतिष्ठानलाई बेच्नु, भाउ बढेको बेला त्यही जग्गा फेरि आफैँले पहिलेभन्दा सस्तोमा किन्नु र त्यो पैसा पनि प्रतिष्ठानको खातामा नराखी आफ्नै खातामा राख्नु जस्ता प्रश्नहरू उठेका छन् । यसो हो भने यो महाअपराध हो । पछिल्ला दिनमा प्रतिष्ठानको भवन ठेकेदार र रेखदेख गर्ने इन्जिनियरसित रिसोर्टहरूमा ज्ञवाली लगायतको टोलीले रमाइलो गरेको समाचार पनि आएका छन् । समयसन्दर्भमा यो सबै बाहिर आउँनेछ नै ।
कृष्ण सेन इच्छुकसित जोडिएको संवेदनशील विषय भएकाले समग्र पार्टी यसमा गम्भीर हुनु आवश्यक छ । सांस्कृतिक मोर्चा र आन्दोलनका समस्या हल गर्न इच्छाशक्ति नदेखाउनु, मोर्चा र प्रतिष्ठानमा भएका अनियमितता र भ्रष्टाचारका सन्दर्भप्रति गम्भीर नहुनुले गजुरमा बसेकाहरू पनि प्रश्नभन्दा बाहिर हुनसक्तैनन् । नेताहरूका घरका तला थपिँदै जाने र तलका सांस्कृतिक कलाकर्मीहरू बेघरबार र भोकभोकै रहने स्थितिले ल्याउने परिणाम दुखद र भयावह पनि हुनसक्छ । भ्रष्टाचारका प्रमाणहरू सामुन्नेमा हुँदा पनि थाहा नपाएझैँ गर्नु भनेको सारतः त्यसको हिस्सा बन्नु हो । यस किसिमको निस्पृहताले दुर्घटना निम्त्याउँछ । यस यथार्थलाई बाल्कोनीमा बसेका सबैले बुझ्नु आवश्यक छ । विकृतिको थुप्रोमा रमाएर सुन्दरको कुरा गर्नुको अर्थ छैन । इच्छुकको सम्मान गर्दै नेपाल सरकारले दिएको पैसा कुनै व्यक्तिको घरका तला थप्न होइन । बडे कमरेडहरू ! अब कसको विरुद्ध लढ्ने हो—सरकारका विरुद्ध कि इच्छुकका नाममा घरका तला थप्नेहरू विरुद्ध ? समयले उत्तर मागेको छ । आगे ‘प्रभुको इच्छा’ ।
(यसबारे थप कुरा अब निरन्तर बाहिर ल्याउनेछु l)
०००

You can leave a response, or trackback from your own site.

4 Responses to “अब कसलाई कारबाही गर्ने कमरेड ?”

  1. प्रसान्त गोले says:

    बराल कमरेडले त किरणको नेतृत्त्व क्षमतामाथि नै पो प्रश्नचिन्ह उठाउनु भो’त l साँच्चै बुढाले नसकेकै हुन त ?

  2. रेवती उपाध्याय says:

    I am fully agree with Dr.Baral. In my opinion Kiran should declare his retirement as soon as possible. There is no another way to move ahead political and cultural activities.

  3. ajay sapkota says:

    कमरेड ऋषिराज बराल विनाको माओवादी आन्दोलनको म कल्पना गर्न सक्दिन |मलाई उहाँलाई भेट्दा उहाँको लेख पढ्दा यस्तो लाग्छ कि धन्न एउटा मान्छे रहेछ क्रान्तिको पक्षमा नडराई बोल्ने नडराई लेख्ने …..आदर्शमा र सिद्दान्तमा सम्झौता नगर्ने

    बराल सरले कृष्णसेन ईच्छुकलाई सम्झेर भन्नुभएको थियो “एउटा मार्क्सवादी सर्जक कालजयी रचना रच्न सक्छ ” त्यस्तै त्यस्तै बराल सरबाट अहिले आज एउटा उपन्यास समयले माग्यो |त्यो नेपालि र अंग्रेजी दुवै भाषामा लेखिनुपर्छ |

  4. Rishi Raj Baral says:

    यति सुन्दर सुझाव एउटा इमान्दार क्रान्तिकारीले मात्र दिन सक्छ l यो सुझावले मेरो आत्मबल बढेको छl अब नेरो पाइला त्यतैतिर बढ्छ l तर समयलाई अलि थेग्रिन दिनुस् l

Leave a Reply

See real websites hosted and built by iPage customers.