अनुभववादी जडता र उमेरवादी वितण्डावाद

R.R.Baralडा. ऋषिराज बराल

यतिबेर नेकपामाओवादीभित्र केन्द्रीय समिति विस्तारसित सम्बद्ध जोडघटाउ र गुणाभागाको विषय निकै तातो र चासोको विषय बनेको छ । यसलाई लिएर  विभिन्न पत्रपत्रिकाले आआफ्नो बुझाइअनुसार  टीकाटिप्पणी पनि गरेका छन् । यस सन्दर्भमा पनि खासखास पात्रहरू र उमेर र अनुभवका कुरा गाँसिएर आएका छन् । वास्तवमा यो विषय यतिबेर नेकपामाओवादीभित्र निकै पेचिलो विषय बनेको छ । माथिदेखि तलसम्म सल्लाहकारदेखि साधारण सदस्यसम्म अनुभववाद र उमेरवादको द्वन्द्वको चक्रव्यूहमा फसेका देखिन्छन् । यहाँ म केन्द्रीय समितिको विस्तारको विषयलाई नभएर अनुभववाद र उमेरवादका विषयमा केही प्रकाश पार्नु आवश्यक ठान्दछु । यो लेख केही दिनअघि  दि नेक्स्ट फ्रन्ट  (www.thenextfront.com) मा प्रकाशित रचनाको परिमार्जित र विस्तारित रूप हो भन्ने कुरा पनि म यहाँ प्रस्ट पार्न चाहन्छु ।

यहाँ अनुभववाद र उमेरवादका सम्बन्धमा लामो विवरण दिने उद्देश्य राखिएको छैन । मार्क्स एङ्गेल्सदेखि माओसम्मको इतिहास हेर्दा विश्वकम्युनिस्ट आन्दोलनमा उमेर र  उमेरवादको चर्चा नयाँ विषय होइन । लेनिनले अनुभववादीहरूविरुद्ध लामो लडाइँ लड्नु पर्यो ।  यसबारेमा उहाँले भौतिकवाद र अनुभवसिद्ध आलोचना नामको पुस्तक नै लेखनु भयो । उमेर र अनुभवका कुराहरू हिजोको माओवादी पार्टीभित्र पनि कहिले सुषुप्त र कहिले सशक्त रूपमा उठ्ने गरेका थिए । एक कालखण्डमा प्रचण्ड यही युवाकै  नाममा नेतृत्त्वमा आएका थिए ।  अहिले यो प्रश्नले नेकपामाओवादीभित्र पनि निकै खैलाबैला मच्चाएको छ । हामी निरीह कार्यकर्ताहरू,  नयाँ पार्टीका  नयाँ कारिन्दाहरू अहिले यही आन्तरिक शीतयुद्धको चपेटामा परेका छौँ । वैचारिकराजनीतिक पक्षभन्दा उमेर र अनुभवको प्रसङ्ग पार्टीमा  बढी विवादको विषय बन्नु भनेको  साँच्चिकै गम्भीर जटिल स्थिति हो ।

दस बर्षसम्म जनयुद्ध लडेको सबैभन्दा जुझारू र बलिदानी भाव भएको शक्ति अहिले नेकपामाओवादीसित छ । नेकपामाओवादीसित वैचारिक दृष्टिले ऊर्जाशील प्रौढ शक्तिका साथै जुझारु युवा शक्ति पनि छ । इमानदार, राष्ट्रिय स्वाधीनताप्रति गम्भीर  र क्रान्तिकारी आदर्शमा हिँड्ने पाका र युवा  दुवैको एउटा  सशक्त शक्ति नेकपामाओवादीसित छ भन्ने आमजनमानसको बुझाइ र ठम्याइ छ । यो सकारात्मक पक्ष हो । वैचारिक शक्तिलाई सशक्त भौतिक शक्तिमा फेरेर प्रतिरोधी  अभियानमा कसरी लैजाने भन्ने कुरा नै अहिलेको मूल समस्या र  चुनौती हो ।

नेकपामाओवादीसित सङ्ख्या छ, ऊर्जाशील शक्ति छ, सामर्थ्य छ, बलिदानी भाव छ र समृद्ध अनुभव छ भन्ने कुरामा विवाद छैन । योसित हिजो जनयुद्ध लडेका जनमुक्ति सेनाको सशक्त टिमलगायत दरिलो बौद्धिकसांस्कृतिक शक्ति पनि छ । हिजोको दुई लाइन सङ्घर्ष र अन्तरसङ्घर्षमा बौद्धिक र सांस्कृतिक क्षेत्र र जनमुक्ति सेना अग्र पङ्क्तिमा उभिएको कुरामा विवाद छैन । क्यान्टनमेन्टभित्र रहेर नवसंशोधनवादीहरूसित टक्कर लिने कुरा चानचुने कुरा थिएन । जनमुक्ति सेनाका साथीहरू त्यहाँ पनि हरेक मोर्चामा दृढतापूर्वक लडे । जुनजुन मोर्चाहरू नवसंशोधनवादका विरुद्ध अग्रपङ्क्तिमा रहेर लडे, ती नै अहिले अस्तव्यस्तको स्थितिमा रहेका छन्, ती बेवारिसेजस्ता भएका छन् । क्रान्तिकारी रूपान्तरणका लागि यो शक्तिलाई कसरी नयाँ भौतिक शक्तिमा फेर्ने भन्ने कुरामा मूल रूपमा नीतिनिर्माण थलो नै योजनविहीन बनेको देखिन्छ । अहिले नपुगेको भनेको ठीक यहीँनेर हो ।

यसमा सबैभन्दा पहिले वैचारिक पक्ष, खासमा कार्यदिशामै प्रस्ट हुनु आवश्यक छ । यहाँ  ठोस नीति, योजना र दृढ इच्छाशक्तिको आवश्यकता छ । अब प्रचण्डबाबुरामलाई गाली गरेर वा विगत कोट्याएर मात्र पुग्दो छैन । प्रचण्डबाबुरामले यसो गरे र उसो गरे भनेर गुनासामा समय र श्रम खर्चिनुको पनि अब अर्थ छैन । हेटौँडा महाधिवेशनसम्म आइपुग्दा प्रचण्डबाबुरामले आफैँले आफूलाई प्रस्ट पारेका छन् । राष्ट्र्यिताका सन्दर्भमा उनीहरूले राष्ट्रिय आत्मसमर्पणको बाटो समातेका छन् र जनतन्त्रका सन्दर्भमा उनीहरू युरोकम्युनिज्मभन्दा पनि धेरै पर पुगिसकेका छन् । उनीहरूको अबको यात्रा भनेको सामाजिक फासिवादतर्फ नै हो । अब उनीहरू विश्वकम्युनिस्ट आन्दोलनमा नकारात्मक शिक्षाका पात्र मात्र भएका छन् । यस अर्थमा हामीहरूले उनीहरूलाई धन्यवाद दिनैपर्छ । भ्रमवस रहेका अझै पनि त्यहाँ केही राम्रा र इमानदार कार्यकर्ताहरू छन् र हाम्रो प्रयास तिनलाई क्रान्तिकारी कित्तामा समेट्ने हुनुपर्दछ ।

अबको प्रश्न भनेको हामीसित नै  हो । हामी पनि हाम्रो हिँडाइको गति र दिशाका सम्बन्धमा प्रश्नरहित छैनौँ । प्रचण्डबाबुरामलाई गाली गरेर मात्र हामीले अब आफूलाई क्रान्तिकारी पुष्टि गर्न सक्तैनौँ । इमानदारीपूर्वक हामीले आफूलाई पनि चिरफार गर्नु आवश्यक छ । हामी सबैले हिजोका साथै वर्तमानको पनि सही समीक्षा गर्दै सत्यको सामना गर्न तमतयार हुनुपर्ने समय आएको छ । हामीले नयाँ पार्टी बनाउनुको अर्थ र सन्दर्भले अब सैद्धान्तिक र व्यावहारिक दुवै पक्षमा उत्तर खोजेको छ । इमानदारी र निर्भीकतापूर्वक भन्नैपर्ने हुन्छ : पछिल्लो समयसम्म पनि माथिल्ला तहका हाम्रा कतिपय कमरेडहरूले  अझै प्रचण्डको रूपान्तरणमा जोड दिनुपर्छ”, “हतारिनु हुँदैन, अझै पर्खिनुपर्छ  आदिइत्यादि भनेकै हुन् । नर्वेली योजना ककसमा मात्र होइन, सिआइएद्वारा संचालित एनटिटिपीमा युवा सभासद्, सङ्घीयता र पहिचानका नाममा हाम्रा कतिपय कमरेडहरू रमाएकै हुन् । यसबारे सबै नाम, काम र दाम पत्रपत्रिकामार्फत बाहिर आइसकेका छन, थप व्याख्या आवश्यक छैन । अझै पनि थुप्रैको नाम आइएनजीओसित जोडिएको छ । अझै पनि संसद् पुनर्स्थापनाको कुरा उठ्दा हाम्रा कतिपय कमरेडको अनुहारमा एक किसिमको चमक देखिने गर्दछ । यस्तो स्थितिमा  दक्षिणपन्थीहरूसित सम्बन्ध विच्छेद गर्ने कुरा सहज थिएन । त्यहाँ वैचारिक दृढता, इच्छाशक्ति र साहसको पनि आवश्यकता थियो । यसमा  धेरथोर सबैको भूमिका रहे पनि माथिल्लो स्तरका केही कमरेडहरू त्यसमा पनि युवा नेता कमरेडहरू र बढीभन्दा बढी राज्यसमिति स्तरका जुझारु  र क्रान्तिकारी कमरेडहरूको अहम् भूमिका रहेको कुरा यहाँ स्मरणीय छ । यो यथार्थलाई सबैले स्वीकार गर्नु आवश्यक छ । सङ्घर्ष, आन्दोलन र भूमिकाको विस्तारमा यो जुझारु र क्रान्तिकारी शक्ति त्यसमा पनि युवा शक्तिले आफ्नो भूमिकाको सही समीक्षाको माग गर्नुलाई अपराध मानिनु र ठानिुनु हुँदैन,  कसैको भाग खोस्न खोजेको ठानिनु हुँदैन ।  बरू माथिका कमरेडहरूबाट क्रान्तिकारी नयाँ पुस्तालाई उत्साहका साथ अघि बढ्न उत्प्रेरित गर्ने अभिभावकीय दायित्त्व निर्वाह गरिनु आवश्यक थियो/छ । यस मामिलामा माथिल्लो नेतृत्व तहमा रहेका हाम्रा कमरेडहरूमा केही समस्या देखिएकै हो ।޽

करिब यो एक वर्षको अवधीमा हामी भेला र महाधिवेशन गर्न सफल भयौँ । चारपाँच वर्षमै चर्बी बढेर अलिकति उकालो चढ्दा पनि स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्ने नेताहरूलाई (कतिपय कार्यकर्ता पनि ) लिएर सगरमाथा चढ्ने कुरा साँच्चिकै गारो थियो र छ  । प्रचण्ड समूहसित सम्बन्ध विच्छेद गर्ने कुरामा सफल भए पनि अगाडिको यात्रामा हामी केही अलमलिएजस्तो भएको स्थिति सही हो । महाधिवेशनमा युवाहरू मात्र होइन, क्रान्तिकारी विचार राखने  प्रौढहरू पनि विचारको  एउटै कित्तामा उभिएको कुरा पनि सही हो । महाधिवेशनपछि पनि आरसिपि अमेरिकाले भनेझैँ हामी अझै दोबाटोमा रहेको,  केही अन्यौलग्रस्त रहेको र पुरानो विरासतबाट मुक्त हुन नसकेको कुरा पनि सही हो । यस्ता परिदृश्यहरूबीच बेलाबेलाका उठ्दै र थन्कदै  गरेको युवा पुस्ता  र पुरानो पुस्ताको प्रसङ्ग महाधिवेशनपछि थप  खुलेर आउनु स्वाभाविक बन्यो । अझ जब सङ्गठन विस्तार र जिम्मेवारी बाँडफाँडको कुरा आउँछ, यो पक्ष थप खुलेर देखापर्ने गर्दछ । अहिले यो बजारचर्चाको विषय बनेको छ ।

 हामी सबैलाई थाहा भएको कुरा हो, मार्क्सवादी राजनीतिमा प्रधान कुरा विचार र कार्यदिशा हो,  सँगसँगै यसलाई व्यवहारमा लैजाने सङ्गठन, नेतृत्व र योजना पनि हो । उमेरको पनि अर्थ, सान्दर्भिकता र महत्त्व  छ । माओले सङ्गठन र नेत्रित्वमा तीनमा एक अर्थात् थ्रि इन वानको नीति अधि सार्नुभयो । उमेरको अर्थ र महत्त्वको कुरा गर्दा चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिमा माओले क्रान्तिको आवश्यकताअनुसार तल्लो तहबाट थुप्रै युवा कमरेडहरूलाई एकैचोटि माथिल्लो तहमा लगेको कुरा पनि यहाँ स्मरणीय छ । यसका साथै उमेरको महत्त्व स्वीकार गर्नु एउटा कुरा हो भने  उमेरवादमा फस्नु चाहिँ अर्को कुरा हो । उमेरवादले विचारलाई पर सारेर र क्रान्तिकारी अनुभव र ऐतिहासिक मूल्यलाई किनारा लगाएर, उमेरलाई मात्र सम्पूर्ण ठान्दछ ।  क्रान्ति र उमेरको कुरा आउँदा एक थरी कमरेडहरू अग्रज कमरेडहरूको क्रान्तिको लगानी  र समग्र इतिहासलाई एकातिर पन्छाएर  र वहाँहरूको सान्दर्भिकताप्रति नै प्रश्न उठाएर अब बूढाहरूको काम छैन भनेर उमेरवादी अधिभूतवादी केटौलेपनमा फस्ने र अर्का थरी नेता कमरेडहरू  युवा कमरेडहरूको कुरा आयो कि च्याँठ्ठिने गरेको पाइन्छ । विचारको केन्द्रीयतामा कसरी विभिन्न उमेर र अनुभवका कमरेडहरूलाई व्यवस्थित गर्ने भन्दा माल्थिल्लो तहमा रहेका पाका कमरेडहरू पनि अनुभववाद र व्यवहारवादमा फसेको बोध हुन्छ । आफू विस्थापित पो होइने हो कि भन्ने एककिसिमको भय र आतङ्क वहाँहरूमा विकसित भएको देखिन्छ । समस्यालाई  वैचारिक रूपबाट हल खोज्नेतिरभन्दा खास नेताहरूको आड लिएर खेल्नमा रमाउन माहिर कतिपयहरू यस्ता समस्याबीच आफ्नो दुनो सोझ्याउन लागेको पनि बोध हुन्छ । पछिल्लो चरणमा त यो पक्ष झन् खुलेर आएको देखिन्छ ।

यथार्थ के हो भने उमेरको पनि अर्थ छ र अनुभवको त झन् अर्थ छ । तर उमेरवाद र अनुभववाद दुवै क्रान्तिका लागि घातक छन् । उमेरवाद र अनुभववाद दुवैले अधिभूतवाद र आदर्शवादको निर्वाह गर्दछन् । अग्रजहरूको समृद्ध अनुभव, इतिहास, सामाजिक विश्वास र मनोवैज्ञानिक प्रभावलाई निषेध गर्न सकिँदैन र युवा कमरेडहरूको जुझारुपन, क्रान्तिप्रतिको समर्पणभाव र बलिदानीभावलाई पनि न्यूनीकरण गर्न मिल्दैन  । तर अहिले हामीकहाँ  यो सन्तुलन खजमजिएको देखिन्छ  । को देख्दा को डराउने भनेजस्तो,  एकअर्काप्रति अविश्वास, आशङ्का र भयको जस्तो स्थिति देखिन्छ । एउटा शीतयुद्धको स्थितिझैँ छ । मालेमावादी मूल्यद्वारा यस समस्याको हल गर्नुभन्दा यसले नजाँनिदो गरी गुटबन्दीलाई प्रोत्साहित गरेको छ, मनोवैज्ञानिक टक्करजस्तो देखिन थालेको छ । अनुभववादी गोलचक्करीय चिन्तन र उमेरवादी वितण्डावाद दुवै आलोच्य विषय हुन् । अहिलेको प्रमुख आवश्यकता हामीसित भएका सबै थरी अनुभव, शक्ति र क्षमतालाई कसरी क्रान्तिकारी विन्यास गर्ने भन्ने हुनु पर्दछ ।

अहिले हामीले  जसलाई क्रान्तिकारी शक्ति र युवा शक्ति  भन्ने गरेका छौँ, यो दस बर्से महान् जनयुद्धको अनुभव र बलिदानीभावबाट समृद्ध पङ्क्ति हो । हाम्रो चिन्ता र चिन्तन क्षमताहरू केन्द्रीकरण गरी क्रान्तिकारी  पङ्क्ति र पुस्तालाई कसरी  नेतृत्व पङ्क्तिमा ढाल्ने र विकास गर्ने भन्ने कुरामा केन्द्रित हुनु आवश्यक छ । बिहानदेखि बेलुकासम्म जागिरमा धाउने र रमाउनेलाई प्रोत्साहित गर्ने हो अथवा पूर्णकालीन कार्यकर्ताका रूपमा इतिहास बनाएको र अझै पनि बलिदानका लागि हरेक मोर्चामा तमतयार भएको शक्तिलाई प्रोत्साहित गर्ने हो भन्ने कुरामा कमाण्डरहरू प्रस्ट हुनु  आवश्यक छ । झारपात पतिङ्गर र एउटा सुन्दर फूललाई सँगै राखेर हामीले फूलको सम्मान गर्यौँ भनेर तर्क गर्नुको अर्थ छैन, यो भनेको बेइमानीसिबाय केही होइन । अहिले माथिल्ला कमरेडहरूले देखाएको व्यावहारिक सत्य भनेको यही नै हो । प्रौढ होस् अथवा नयाँ पुस्ता, नयाँ  नेतृत्व पङ्क्तिको निर्माण गर्नु अहिलेको आवश्यकता हो । यही नै चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको मूल मर्म पनि हो । माओले सदैव युवापङ्क्तिलाई प्रोत्साहित गर्नुभयो । हामीकहाँ पनि  पाका कमरेडहरूबाट आदर्शमय भूमिकाको आशा गर्नुलाई अन्यथा ठानिनु हुन्न । नयाँ पुस्ताले पाको र नेतृत्वदायी  पुस्तालाई ट्रट्स्कीका झैँ  बुढो   आउट डेटेडभनेर खारेज गर्ने, अति महत्वाकाङ्क्षी बन्दै बार्गेनिङको राजनीति गर्ने, गुट निर्माणमा जोड दिने  र पाका कमरेडहरूले युवा पुस्तालाई उत्साहित र प्रोत्साहित गर्नुसट्टा प्रतिद्वन्द्वीझैँ ठानेर निषेध गर्न खोज्ने  दुवै प्रवृत्ति घातक छन् । यसमा कताकता अस्वस्थता र प्रतिशोधी भावना विकसित हुन थालेको पो हो कि भन्ने आभास पनि हुन थालेको छ ।

यो सत्य हो, अहिले थुप्रै कुरा भद्रगोलमा छन् । हामीसित रहेको क्रान्तिकारी  शक्ति र ऊर्जालाई जसरी विचार,  सङ्गठन र व्यवहारमा क्रियाशील र गतिशील बनाउनु र लैजानु पर्दथ्यो,  त्यो हुन सकेको छैन । साम्राज्यवादी र विस्तारवादी शक्तिहरू त हामीलाई तहसनहस नै पार्न चाहन्छन् । यसका साथै परम्परागत घरेलु प्रतिक्रियावादी शक्तिहरू मात्र होइन, नवप्रतिक्रियावादी प्रचण्डबाबुराम गुटसमेत व्यक्तिगत सम्बन्धका आधारमा विभिन्न पक्ष र व्यक्तिहरूसित सम्बन्ध बढाएर हामीबीचका यस किसिमका समस्यामा खेल्न चाहन्छ, हाम्रो पार्टीपङ्क्तिभित्र अन्तर्विरोध बढाउन चाहन्छ । यस सन्दर्भमा खुलेरै भन्नुपर्ने हुन्छ,  समस्या तल होइन, माथि नै छन् । समस्याहरूको हलको अगुवाइ गरिनुपर्ने ठाउँ नै अकर्मण्यतामा फसेजस्तो देखिन्छ । त्यहाँ दृढ इच्छाशक्ति र साहसको अभाव देखिन्छ । महाधिवेशनमा उठेको आवाज र कार्यकर्ताको क्रान्तिकारी स्पिरिटको मूल्यको सही किसिमले सम्बोधन नहुनु नै समस्याको मूल जग र जरो हो  । यसको आआफ्नै किसिमको व्याख्या गरिएला । अमुकले यो पद नपाएर यस्तो लेख्यो वा भन्यो पनि भनिएला, (भन्दै आएको स्थिति पनि छ) । तर यो माथिल्लो नेतृत्वपङ्क्तिप्रतिको अनादर वा अविश्वास नभएर यथार्थको प्रकटीकरण मात्र हो । 

मुलुकमा नेकपामाओवादी जस्तो राष्ट्रियता र जनतन्त्रप्रति  सम्बेदनशील र गम्भीर पार्टी अर्को छैन । मुलुकमा  क्रान्तिकारी ऊर्जा र बलिदानी भावले ओतप्रोत भएका धेरै कार्यकर्ताहरू भएको पार्टी पनि अर्को छैन । तर यसले जुन मात्रामा गति र दिशा दिनुपर्दथ्यो, यसले जुन उत्साह र क्रान्तिकारी आशावाद कार्यकर्तामा उत्पन्न गर्न सक्नुपर्दथ्यो,  त्यसो हुन सकेको छैन ।  चिजहरू यान्त्रिक किसिमले परिचालित भएका जस्ता छन् । तिनमा कुनै गति र नवीनताको बोध  छैन । नेतृत्व पङ्क्ति थाकेथाकेजस्तो, स्वफुर्ततावादमा फसेजस्तो र एउटा निरस रुटिनबद्धतामा पार्टीको जीवन चलेको जस्तो बोध हुन थालेको छ । उत्साह र क्रान्तिकारी आवेगपूर्ण गतिको सट्टा जबरजस्ती पाटपूर्जा जोडेर चलाएको गाडीजस्तो, के के नमिलेको र के के नपुगेको जस्तो  भएको छ पार्टीजीवन । हेर्दा उमेरवाद र अनुभववादबीचको अन्तर्विरोधजस्तो लागे पनि यस पङ्क्तिकारको बुझाइमा यो  पार्टी लाइनको समस्या हो,  सारतः यो विचारकै समस्या हो । एक अर्थमा यो अनुभववाद र उमेरवादले उत्पन्न गरेको समस्या हो । राजनीतिक जीवन भनेको जागिरे जीवन होइन, जसमा समय पुगेपछि स्वतः बढोत्तरी हुन्छ, तल झर्नु पर्दैन । राजनीतिमा एकपल्ट माथि पुगेपछि तल झर्नु  पर्दैन भनेर सोच्नु र बुझ्नु हुँदैन, यो क्षमता, योग्यता र  प्रतिबद्धता र क्रियाशीलताको  प्रश्न हो ।  तर हामीकहाँ यसरी बुझ्ने संस्कृति छैन र व्यवहार पनि छैन । राजनीतिक जीवन कार्यदिशाको अगुवाइमा योग्यता, क्षमता र सक्रियतामा बाँच्तछ, नीति, योजना र कार्यक्रमको व्यावहारिक कार्यान्वयनमा बाँच्छ,  कसैको दया, निगाह,  सम्बन्ध र गुटगत संलग्नता अथवा क्षेत्रीय र व्यक्तिगत प्रभावमा होइन, न त यो खेल्नरमाउने र खुराफाति प्रवृत्तिमै बाच्न सम्भव हुन्छ । हामीकहाँ प्रभाववाद र क्षेत्रीयतावाद हाबी हुन थालेको छ । अरूले दाउरा जम्मा पारेर बालेको आगो म मात्र ताप्छु, तँ पर बसेर हेरि राख् भन्ने स्थितिले  निम्त्याउने भनेको विर्सजन वा फूट हो । आफ्ना कमीकमजोरी र समस्याहरूको निर्मम आत्मसमीक्षा गर्नुको साटो अरूमाथि दोष थुपार्ने र  कार्बाहीको धम्की दिने प्रवृत्तिले समस्यालाई झन् जटिल बनाउँछ भन्ने यथार्थप्रति हामी सबै गम्भीर हुन् आवश्यक छ । 

यतिबेर दृढ इच्छाशक्तिको आवश्यकता छ । तर्क विवेक र क्रान्तिकारी आवेगको आवश्यकता छ ।  नेतृत्वपङ्क्तिले कार्यकर्ताबीच विश्वासको जग बलियो बनाउनु आवश्यक छ । क्रान्तिमा नेतृत्वप्रतिको विश्वास र भरोसाले वैचारिक, व्यावहारिक र मनोवैज्ञानिक हरेक क्षेत्रमा अहम् महत्त्व राख्दछ भन्ने कुरा नेतृत्व तहमा रहेका कमरेडहरूले बुझेकै कुरा हो । त्यतिबेर एकताकेन्द्रसितको पार्टी एकता मात्र होइन, गोँगबु डिनरदेखि धोबीघाट मन्थनप्रति हामी कार्यकर्ताको धारणा बुझ्नु आवश्यक ठानिएन, हाम्रो कुरा  सुनिएन । हामी साक्षी किनाराका सदर भयौँ । हाम्रो असहमतिका बीच पनि  हामीले हाम्रो विचारसमूहको नेतृत्वपङ्क्तिप्रति विश्वास गरेर निर्णय शिरोपर गरेकै हौँ । एकताकेन्द्रसितको एकताप्रक्रिया र गोँगबु डिनरसित जोडिएका सन्दर्भह घटना मात्र होइनन्, यी वैचारिक योजनासित सम्बद्ध गम्भीर पक्ष हुन् । त्यहाँ ठूलो कमजोरी भएको छ । आजसम्म पनि  घटनासन्दर्भको निर्मम समीक्षा र सटिक संश्लेषण गर्नु आवश्यक ठानिएको छैन ।  ती सबको  परिणाम अहिले हामी भोगिरहेका छौँ । त्यसमा हाम्रा अग्रज (‘युवा’, प्रौढ दुबै) कमरेडहरूले स्वीकार नगर्नु भिन्नै कुरा हो, समयले हाम्रा नेताहरू होइन, हामी कारिन्दाहरू सही थियौँ/रहेछौँ भन्ने साबित गरेको छ ।  अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सिन्छ भनेझैँको  स्थितिमा छौँ हामी अहिले पनि  । अहिले पनि बैद्य पार्टीको प्रचण्ड समूहसित कार्यगत एकताको तयारीको समाचार पढ्दा पनि हामी झस्किने स्थिति बनेको छ ।  खुसुखुसु रातविरात बाबुराम भट्टराईलाई भेट्न बालुवाटार जाने र खुसुखुसु सुकेधाराको भोजभतेरमा सामेल भएर खिचडी पकाउने गरेको समाचारले हामीलाई  बेचैन गराउने गरेकै हो । हाम्रा कतिपय युवा नेताहरूमा देखिएको अधैर्यता र हतारोपनले थप प्रश्न र आशङ्का जन्माएको कुरा पनि सही हो ।

अहिलेको प्रमुख आवश्यकता भनेको विचारको केन्द्रीयतामा योग्यता र क्षमताहरूको केन्द्रीकरण हो । तर विडम्बनाको कुरा के छ भने भनेको कुरा सुनिदैन, कानले सुने पनि व्यवहारमा त्यसलाई गम्भीरतापूर्वक लिइँदैन र लेखेर दिएको कुरा पढ्नु आवश्यक ठानिँदैन । सत्य के हो भने माथिका नेता कमरेडहरू (कतिपय सन्दर्भमा बीचका र तलका पनि) हरूको अध्ययनचिन्तनप्रति रुचि घटेको छ र समसामयिक सूचनाबारे अपडेट हुने कुराप्रति चासो  पनि घटेको छ, सबै कुरा रुटिनबद्ध बनेका छन् । सिर्जनशीलताको ह्रास भएको छ ।  क्षेत्रीयतावाद हाबी छ  र प्रभाववाद निर्णायक तत्त्व बनेको छ ।   तेरो मान्छे, मेरो मान्छे, तेरो क्षेत्र, मेरो क्षेत्र यो जात, ऊ जात आदिइत्यादि होइन, सही मान्छे सही ठाउँमा भूमिकाबद्ध हुनु आवश्यक छ भन्ने कुरालाई गम्भीरतापूर्वक लिइँदैन । सल्लाहकार कमरेडहरू भनेर ठड्याइएका कतिपय कमरेडहरूको अनुहार हेर्दा थप पीडाबोध र लाजमर्दो स्थिति पैदा हुन्छ/भएको छ । यो पक्ष्य त साँच्चिकै दुखद छ ।

नेताहरूमा कार्यकर्ताको योग्यता र क्षमताको सही आकलन छैन, वरिष्ठता र जेष्ठताको सही सूची छैन,  सारमा मूल्याङ्कनको सही र वैज्ञानिक पद्धति र परिपाटी छैन/अवलम्बन गरिँदैन । यस्तो भएपछि हाम्रा कमीकमजोरहरूलाई समातेर देशीविदेशी प्रतिक्रियावादी शक्तिहरू र  आइएनजिओवादीहरूले हामीभित्र चलखेल गर्ने कुरा स्वाभाविक हुन् । उनीहरू उमेर, जात, क्षेत्र लिङ्ग, सङ्घीयता,  पहिचानको राजनीति लगायत हरेक छिद्रबाट हामीभित्र पसेर हामीलाई अस्तव्यस्त पार्न चाहन्छन्,  यो उनीहरूको धर्म र कर्म नै हो । प्रश्न हामी आफूभित्र कति एकताबद्ध छौँ भन्ने कुरा नै हो र यसमा जसको जति ठूलो जिम्मवारी छ, उसको त्यति नै ठूलो भूमिका हुनु आवश्यक छ । आशङकाहरू बढेका छन् र प्रश्नहरू थपिएका छन् । कमाण्डरहरू नै मनोवैज्ञानिक रूपमा आतङ्ति भए भने यसले दुर्घटनासिबाय केही  निम्त्याउँदैन ।

अहिले आवश्यकता र स्वतन्त्रताको द्वन्द्ववादलाई सही किसिमले लागू गर्नुपर्ने आवश्यकता छ । कार्यकर्ताको ठूलो पङ्क्ति अहिले पनि आफ्नो कमाण्डरको एक कासनमा बलिदानको कोटा पूरा गर्न तमतयार छ । यसमा प्रधान कुरा विश्वास र उत्प्रेरणा नै हो । क्षमता र योग्यताको पहिचान नै हो । सही मान्छे सही ठाउँमाको नीतको प्रयोग नै हो ।  हामीलाई अनुभववाद र रुटिनबद्धताको यान्त्रिकता र रुढिग्रस्ततामा  फसेको होइन, थकितथकितजस्तो देखिने पनि होइन, क्रान्तिकारी अनुभवले समृद्ध, आफ्ना कार्यकर्तामा नयाँ र क्रान्तिकारी आशावाद जगाउँदै ऊर्जाशील र सिर्जनशील बनाउने चौडा छाती भएको र ठालूपन, नोकरशाही प्रवृत्ति र अधैर्यताबाट मुक्त भएको सशक्त नेतृत्व पङ्क्तिको खाँचो छ । गति र नयाँपनको माग गर्नु, यसको बोधको चाहना राखनु भनेको अपराध गर्नु  होइन । सत्यको उदघाटन गर्दा कार्बाहीका लागि औँला ठड्याउनेहरूले महाधिवेशनहलको झाँकीतिर पनि ध्यान दिनु आवश्यक छ । सत्यको सामना गर्न नसक्नेहरू मात्र सत्यको उदघाटनबाट विचलित हुन्छन् । महाधिवेशनमा  आमकार्यकताले उठाएको आवाज र क्रान्तिकारी  स्पिरिटलाई सम्बोधन गर्ने कि अकर्मण्यतामा फस्ने ? प्रश्न यहीँनेर छ । रिङरोड वरिपरि जति कुदे पनि, दिनभरि रातभरि कुदेको कुदै गरे पनि सगरमाथा पुग्न सकिँदैन भन्ने कुरा बुझ्नु आवश्यक छ ।

उमेरवाद र अनुभववाद दुवै क्रान्तिका लागि बाधक छन् । ठीक किसिमले हामीले गति र दिशा लिन सकनौँ भनेँ,  अथवा हाँसको चाल न बकुल्लाको तालमा हाम्रो  दिशा र गति रह्यो भने यसले निम्त्याउने भनेको विसर्जन वा फूट नै हो । विसर्जन, फूट वा क्रान्तिकारी निरन्तरता ? यस  प्रश्नले अहिले उत्तर खोजिरहेको छ । र यसको उत्तरको जिम्मा उपल्लो तहका हाम्रा श्रद्धेय कमरेडहरूमा रहेको छ ।  हामी समवेत स्वरमा भन्छौँ : पहिलो र दोस्रो हाम्रो बाटो हुन सक्तैन, क्रान्तिकारी निरन्तरता नै यसको सही उत्तर हुन सक्छ र हुनुपर्छ  । प्रभाववाद, उमेरवाद र क्षेत्रीयतावादको अभ्यास  होइन, महान् जनयुद्धको विरासतलाई समातेर बाँकी कार्यभार पूरा गर्नमा हाम्रो चिन्ता केन्द्रित हुनु आवश्यक छ । यतिबेर वस्तुगत स्थिति अनुकूल बनेको छ र फेरिएको स्थितिअनुरूप आत्मगत स्थितिलाई सुदृढ पार्दै महाधिवेशनको स्पिरिटअनुसार अघि बढ्नुको विकल्प अब क्रान्तिकारीहरूका सामु छैन । आत्मसमीक्षाका साथ सत्यको सामना गर्दै आफैँप्रति निर्मम हुने कि नहुने प्रश्न यहीँनेर छ । समयले नयाँ संश्लेषणको माग गरेको छ । अब दोबाटोमा उभिनुको अर्थ छैन ।

०००

 

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.